काठमाडौं – कोरोना भाइरसको आशंकामा धरानबाट उपचारका लागि काठमाडौं आएका बिरामीमा संक्रमण नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
ज्वरोको उपचार गराउन अस्पताल पुगेका एक बिरामीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरसको आंशकामा काठमाडौं रेफर गरेको थियो। केही दिन अघि दक्षिण कोरियाबाट फर्किएका धरानका ३८ वर्षीय मोहनकुमार लिम्बुलाई ज्वरो आएको र घाँटी दुखेको थियो। कोरोना भाइरससंग केही लक्षण मिलेको भन्दै उनलाई थप उपचारका लागि प्रतिष्ठानले तत्काल शुक्रराज अस्पतालमा रेफर गरेको हो।
शुक्रराज अस्पतालमा उनको उपचार भइरहेको छ। उनमा कोरोना भाइरसको संक्रमण नरहेको अस्पतालका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा अनुप बास्तोलाले बताए।
‘उहाँलाई निमोनिया भएकाले आइसोलन वार्डमा पनि राख्नु परेको छैन,’ बास्तोलाले भने, ‘ती बिरामी कोरोना भाइरसको कुनै पनि क्राइटेरियामा नपर्ने भएकाले सामान्य वार्डमा राखेर उपचार गरिएको छ।’