काठमाडौं – चीनसंग जोडिएको तातोपानी र रसुवागढी नाकामा सरकारले स्वास्थ्यकर्मीको टोली पठाउँदैछ। चीनमा देखिएको कोरोना भाइरसको जोखिमबाट बच्न नाकामा स्थापना गरिएका हेस्थ डेस्कलाई अझ सक्रिय बनाउन स्वास्थ्यकर्मीको टोली शुक्रवार पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहितको टोली तातोपानी र रसुवागढी नाकामा पठाइने मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख सागर दाहालले जानकारी दिए।
डा. गुणनीधि शर्मा नेतृत्वको टोली तातोपानी र अमृत पोख्रेल नेतृत्वको टोली रसुवागढी नाकामा जाने मन्त्रालयले जनाएको छ।
दाहालले, ‘नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई अझ बढी व्यवस्थित बनाउन र कसरी काम गर्दैछ भन्ने विषयमा संयोजन गर्न टोली पठाउँदैछौ।’
कोरोना भाइरसका विषयमा जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन आवश्यक नरहेको बताए।
उनले भने, ‘चीनमा रहेका नेपालीलाई कहाँ राख्ने, कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ। तर तत्काललाई नेपाल ल्याउनुपर्ने आवश्यकता छैन।’ उद्धार गरेर नेपाल ल्याएपनि उनीहरुलाई राख्ने स्थान नभएको उनले बताए।
मन्त्रालयका अनुसार युहान प्रान्तमा रहेका १ सय ९० नेपाली विद्यार्थीले उद्धार गर्न चीनस्थित नेपाली दुतावासमा आग्रह गरिएको छ।
मन्त्रालयले कोरोना भइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिँदै गएसँगै सतर्कता बढाउन प्राविधिक कमिटि बनाउने निर्णय समेत गरेको छ। चीनको युहान प्रान्तमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै उच्च सर्तकता बढाएको मन्त्रालयले जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसका ६ जना शंकास्पद बिरामी भर्ना भएका थिए। जसमध्ये एक जनामा मात्र यसको संक्रमण पुष्टि भएको थियो। हाल अस्पतालको आइसोलेसन वार्डमा कुनै पनि बिरामी भर्ना नभएको अस्पतालका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा अनुप बास्तोलाले बताए। कोरोना भाइरसको संक्रमणबाट बच्न साबुन पानीले हात धुन र मास्कको प्रयोग गर्न उनको सुझाव छ।
उनले भने, ‘रुघाखोकी लागेका व्यक्तिले मास्कको प्रयोग गर्नैपर्छ । यति मात्र गर्ने हो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलने संभावना कम हुन्छ।’
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएका ८० प्रतिशत व्यक्तिमा सामान्य खालकाे लक्षण देखा पर्छ। भने २० प्रतिशत व्यक्तिमा मात्र लक्षण देखापर्ने संगठनले उल्लेख गरेको छ ।