काठमाडौं – बागलुङका ३० वर्षीय अमृत आचार्यले आइतवार बिहान घरमै बसेर मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको टिकट काटे। उनले अनलाइनबाट टिकट काटेका हुन्।
उनले भने, ‘टिकट काट्न अस्पताल नै जानु परेन। सजिलो भयो। लाइनमा पनि बस्न परेन।’ तर पहिलो पटक अनलाइनबाट टिकट काटेकाले उनलाई केही झन्झट भने भयो।
‘सुरुमा भएनकी जस्तो लाग्यो। फेरी पनि काटेँ। यसरी तीन पटकसम्म टिकट काट्नुपर्यो’, उनले भने।
उनी जस्तै अनलाइनबाट टिकट काट्नका लागि एप डाउनलोड गर्न आइतबार अस्पतालमा बिरामीको भीड थियो।
अनलाइनबाटै टिकट काट्न मिल्ने भएपछि मनमोहन कार्डियो सेन्टरमा अब उपचारका लागि टिकट काट्न लामो लाइनमा बस्नु नपर्ने भएको छ। घरमै बसेर पनि टिकट काट्न सक्ने सुविधा अस्पतालले दिएको छ।
मनमोहनमा आइतवारदेखि अनलाइन टिकट सिस्टमको सुरुवात भएको हो।
बिरामी तथा आफन्तले घरमै बसेर आफुले चाहेको चिकित्सकसंग उपचारका लागि टिकट काट्न सक्ने अस्पतालका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बताए।
‘बिरामीको सहजताका लागि हामीले अनलाइन टिकट सिस्टमको सुरुवात गरेका छौँ। टिकटका लागि अस्पतालमा आएर लाइनमा बस्नुपर्ने बाध्यता हटाउन खोजेका हौँ,’ उनले भने, ‘गोरखाबाट कोही बिरामी आउन चाह्यो र चार दिनपछि जचाँउन पर्नेछ भने उसले त्यही दिन टिकट लिन सक्छ। लाइनमा घन्टौंसम्म बस्न परेन।’
टिकट काट्नका लागि बिरामीले गुगलको प्ले स्टोरमा मनमोहन सेन्टर डाक्टर अपोइन्टमेन्ट एप्स डाउनलोड गर्नुपर्छ। एप्स खोलेपछि बिरामीले सबै विवरण भरेपछि टिकट काट्न सकिने उनले जानकारी दिए। बिरामीले इसेवा र प्रभु पे बाट पनि यो एप्स डाउनलोड गर्न सक्ने अस्पतालले जनाएको छ। डा श्रेष्ठका अनुसार बिरामीले एक हप्ता अगाडी नै टिकट काट्न सक्नेछन्।
बिरामीको ल्याब रिपोर्ट पनि अनलाइन सिस्टम गर्ने तयारी भइरहेको उनले जानकारी दिए। उनले भने, ‘घरमै बसेर टिकट काटेजस्तै बिरामीले ल्याब रिपोर्ट पनि अनलाइनबाटै पाउन सक्ने सिस्टम हामी बनाउँदैछौँ।’
मनमोहन अस्पतालमा दैनिक तीन सय जति बिरामी उपचारका लागि पुग्छन्। वर्षेनी ७० हजार बिरामीको उपचार हुने अस्पतालले जनाएको छ।
यसअघि प्रभु पे मोबाइल वालेट मार्फत निजामती अस्पताल र विराट मेडिकल कलेजको अस्पतालमा यस्तो सेवा सुरु भएको थियो।
यो पनि