धनगढी- कैलालीको गोदावरी नगरपालिका- ६ मा लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको छ।
कडा खालको क्षयरोग बिरामीलाई लक्षित गरी दामिन फाउन्डेसन बेल्जियम नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेश सरकारको स्वीकृतिमा मानव संशोधन विकास प्रतिष्ठानद्वारा केन्द्र सञ्चालनमा ल्याइएको हो।
सोमबार एक समारोहबीच बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन्।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले दुर्गममा स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सरकार लागिरहेको बताए। ‘देशका दुर्गम ठाउँमा अस्पतालको अभाव छ। चिकित्सक पुगेका छैनन्। बिरामीको संख्या हेर्दा त्यतैका बढी छन्,’ मन्त्री ढकालले भने, ‘आजको आजै सबै व्यवस्था गर्छु भनेर सकिँदैन। तर, ६ देखि एक वर्षभित्र दुर्गम क्षेत्रका जनताले सरकारबाट न्याय भएको महसुस गर्ने छन्।’ उनले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले सरकार भएको अनुभूति हुनेगरी काम गरिरहेको बताए।
उनले केन्द्रलाई सफल बनाउन संघीय सरकारले आवश्यक सहयोग गर्ने पनि आश्वासन दिए। ‘अहिले प्रदेश सरकारको स्वामित्वमा यो केन्द्र चल्छ। संघीय सरकारबाट आवश्यक सहयोग आवश्यक भए जानकारी दिनुहोला। हामी यसलाई कुनै समस्या आउन दिने छैनौं,’ मन्त्री ढकालले भने।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले अब प्रदेशमा क्षयरोगका बिरामी नभेटिने बताए। ‘प्रदेशमा क्षयरोगका भेटिने छैनन्। यदि भेटिइहाले पनि त्यसलाई निर्मूल पार्दै जानेछौं,’ मन्त्री सुवेदीले भने। उनले प्रदेशमा चिकित्सक अभाव रहेको गुनासो गर्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई यथाशीघ्र व्यवस्था गरिदिन आग्रह गरे। मन्त्री सुवेदीले भने, ‘हामीले प्रदेशका हरेक ठाउँमा औषधि पुर्याएका छौं तर, ती औषधि चिकित्सक नहुँदा वितरण हुन सकेको छैन।’
प्रतिष्ठानका अध्यक्ष लक्ष्मीराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउद, दामिन फाउन्डेसनका कन्ट्री डाइरेक्टर डाक्टर सुशील कोइराला, मानव संसाधन विकास प्रतिष्ठानका महासचिव पदमराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कलेज बनेन क्षयरोग केन्द्र बन्यो
२०६६ सालमा तर्कराज जोशीको नेतृत्वमा धनगढी इन्टरनेसनल कलेजका रुपमा स्थापना गर्न पहल थालेको थियो। सो बेला सहयोग जुटाउन धनगढीको दशरथ रंगशालामा महायज्ञको पनि आयोजना गरिएको थियो। जग्गा प्राप्ति नभएपछि तीन वर्ष लागेको थियो।
गोदावरी नगरपालिका- ६ श्रीपुरमा लक्ष्मीनारायण मन्दिरले तीन बिगाह जग्गा उपलब्ध गराएपछि २०७०/७१ सालमा भवन निर्माण गरिएको थियो। २०७२ मा नेतृत्वकर्ता तर्कराजको निधन भएपछि कसरी अघि बढ्ने भन्ने द्विविधा रहेको थियो।
मानव संशाधन विकास प्रतिष्ठानका महासचिव पदमराज जोशीले भने, ‘तर्कराज जोशीको निधनपछि दुई वर्षसम्म हामी अन्योलमै रह्यौं। पछि दामिन फाउन्डेसनले क्षयरोग क्षेत्रमा काम गर्ने गरेको थाहा पाएपछि हामीले सहयोगका लागि पहल गर्यौं।’ उनले झन्डै १० वर्षपछि सो स्थानमा केन्द्र स्थापना गर्न सफल भएको बताए।
केन्द्रको भवन मर्मत र उपकरणमा झन्डै पाँच करोड लगानी भइसकेको जनाइएको छ। दामिन फाउन्डेसनको तीन करोड र विभिन्न सहयोगबाट दुई करोड लगानी भइसकेको जनाइएको छ।
केन्द्रको दुई तले भवन रहेको छ। भवनभित्र वार्डसहितको १५ बेड र अन्यमा २५ गरी ३५ बेड रहेका छन्। केन्द्रमा ओपिडी सेवा, एक्स-रे, ल्याब लगायतका सेवा उपलब्ध रहेका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले केन्द्रलाई ५० बेडको अस्पतालका रुपमा विकास गरिने बताए।
उनले केन्द्रलाई थप स्तरोन्नति गरी प्रदेशको सरुवा रोग उपचार केन्द्र बनाइने बताए। निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने, ‘क्षयरोगको मात्र उपचार गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको केन्द्रलाई विस्तारै सरुवा रोगको उपचार केन्द्र बनाइने छ।’ उनले केन्द्रलाई आवश्यक उपकरण, जनशक्ति प्रदेश सरकारले व्यवस्था गर्न तयार रहेको पनि जानकारी दिए।
दामिन फाउन्डेसनका कन्ट्री डाइरेक्टर डाक्टर सुशील कोइरालाले भने, ‘केन्द्रलाई पूर्ण रुपमा सञ्चालन ल्याउन एक महिना लाग्छ।’ उनले केन्द्रलाई सञ्चालन गर्न वार्षिक साढे दुई करोड खर्च रहने अनुमान व्यक्त गरे।
मुख्यमन्त्रीसँग शिष्टाचार भेट
बेल्जियमकी राजकुमारी एस्ट्रिडले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटवार्ता गरेकी छिन्।
सोमबार बिहान श्री एयरलाइन्सको जहाजबाट श्रीमान्सहित राजकुमारी एस्ट्रिड लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न गोदावरी पुगेकी थिइन्। कैलालीको गोदावरी नगरपालिका- ६ को श्रीपुरमा केन्द्रको उद्घाटन र क्षयरोगका बिरामीसँग कुराकानी गरेर फर्केकी राजकुमारी प्रदेश मुख्यमन्त्री भट्टबीच धनगढी विमानस्थलको विशिष्ठ कक्षमा शिष्टाचार भेटघाट भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
मुख्यमन्त्रीसँगै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता रहेको थियो।
एस्ट्रिड दामिन फाउन्डेसनकी मानार्थ अध्यक्ष हुन्। ५७ वर्षीया राजकुमारी एस्ट्रिड बेल्जियममा पूर्वराजा अल्वर्ट द्वितीय र रानी पावोलाकी एक मात्र छोरी हुन्। उनी वर्तमान राजा फिलिपकी बहिनी हुन्।
बेल्जियन राजपरिवारको यो दोस्रो नेपाल भ्रमण हो। यसअघि सन् १९८८ मा राजा अल्वर्ट र तत्कालीन राजकुमार फिलिप (वर्तमान राजा) ले नेपालको अनौपचारिक भ्रमण गरेका थिए।