काठमाडौं – पछिल्लो समय चीन, हङकङ, जापान र थाइल्यान्डमा देखिएको नयाँ खालको कोरोना भइरसको जोखिममा नेपाल पनि परेको छ।
श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाइसकेको छ।
महाशाखाका अनुसार यो भाइरसको संक्रमण नेपालमा देखिएको अहिलेसम्म पुष्टि भएको छैन। तर, नेपालमा चीन, हङकङ, जापान र थाइल्यान्ड लगायतका देशबाट धेरै मानिसको आवतजावत हुने भएका कारण जुनसुकै बेलामा पनि यो भाइरस नेपालमा देखिने खतरा रहेको बताइएको छ।
यही खतरालाई मध्यनजर गर्दै महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको महाशाखा प्रमुख डा विवेक लालले जानकारी दिए।
‘अहिले यो रोग चीनमा फैलिरहेको भन्ने खबर आइरहेको छ,’ उनले भने, ‘चीनबाट नेपालमा धेरै पर्यटक नेपाल भित्रिने भएकाले हामी पनि उच्च जोखिममा छौं।’ उनले विमानस्थलको हेल्थ डेस्कले प्रभावित राष्ट्रबाट आएका व्यक्तिको विवरण संकलन गर्ने र विभिन्न अस्पतालसँग समन्वय गरिरहेको जानकारी दिए।
उनका अनुसार यो भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिट्टै आक्रमण गर्छ।
केही दिनअघि चीन गएर फर्किएका एक नेपाली विद्यार्थी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका थिए। रुघाखोकी र ज्वरो आएपछि उनी सरुवा अस्पताल पुगेका थिए। उनलाई विशेष निगरानीमा राखेर उपचार भने भइरहेको अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले बताए।
‘चीनमा यो भाइरस देखिएकाले ती विद्यार्थी जाँचका लागि अस्पताल आएका हुन्,’ उनले भने, ‘उनमा कोरोना भाइरस नै देखिएको भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन।'
के हो कोरोना भाइरस?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।
अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।
नेपालमा यो भाइरस पत्ता लगाउने प्रविधि छैन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक कुमार लालका अनुसार नेपालमा यो भाइरस पत्ता लगाउने प्रविधि नै छैन। ‘कोरोना भाइरस यति सुक्ष्म हुन्छ की माइक्रोस्कोपबाट पत्ता लगाउन पनि निकै मुश्किल पर्छ,’ उनले भने, ‘यस्तो खालको प्रविधि हालसम्म नेपालमा छैन।’
लक्षण
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनीकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनका अनुसार कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ।
‘यसको लक्षण फ्लुसंग मिल्दोजुल्दो हुन्छ, त्यसैले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क रहनुपर्छ’, उनले भने।
जोगिन के गर्ने?
श्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन। भिडभाडमा जानै परेमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने चिकित्सकहरुको बताउँछन्। यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ। साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खाने कुरामा ध्यान दिन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले सुझाब दिएको छ।
कुनै व्यक्तिमा यो भाइरसले संक्रमण गरेमा लक्षणका आधारमा उपचार हुने डा लाल बताउँछन्।