काठमाडौं- गत शुक्रबार लागुऔषध नियन्त्रण ब्युरोमा एक घन्टामा नै दुखाई कम गर्न सक्ने औषधि ट्रामाडोल लागुऔषधका रूपमा एक व्यक्तिले बेचबिखन गर्ने गरेको सूचना आयो। विश्वस्त स्रोतबाट आएको उक्त सूचना पच्छ्याउँदै कोटेश्वर पुगेको ब्युरोको टोलीले ट्रामाडोलसहित विशाल सुनारलाई समात्यो।
सुनारकै सूचनाका आधारमा उनीसँगै मिलेर लागुऔषधका रूपमा ट्रामाडोल कारोबार गर्ने अर्का युवक नवीन ढकाल कोटेश्वरबाटै पक्राउ परे। उनीहरू दुई जना पक्राउ परेपछि ब्युरोको टोलीले सोधपुछ गर्यो।
‘पक्राउ परेका दुई युवकले ट्रामाडोल किन्ने गरेको व्यक्तिको नाम लिए,’ ब्युरोका एसपी वीरेन्द्रप्रसाद बस्याल भन्छन्, 'एउटो सानो सूचनाबाट सुरु गरेको अनुसन्धानले यसको डिलरसम्मै पुग्न सफल भयौं।'
ट्रामाडोल प्रतिबन्धित औषधि हो। डाक्टरको प्रेस्क्रिप्सन बिना यो औषधि बेच्न मिल्दैन। तर खुल्लमखुल्ला रूपमा बेच्ने गरेको पाइएपछि प्रहरीले अनुसन्धानलाई तीव्र रुपमा अगाडि बढायो। शुक्रबार र शनिबार प्रहरीले हिरासतमै राखेर उनीहरूमाथि अनुसन्धान बढायो।
पक्राउ परेका दुई युवकले आफूहरूले ट्रामाडोल किन्ने महिलाका बारेमा बताएपछि प्रहरीले जुक्ति लगायो- मोबाइलमार्फत् ती युवतीसँग सम्पर्क गरेर हिरासतमै रहेका युवकले थप ट्रामाडोल अर्डर। आफूहरू लिन शंखमूल आउने र त्यहीँ ल्याइदिनु पर्ने बताएपछि ती युवती ट्रामाडोल लिएर शंखमूल पुगिन्। पक्राउ परेका युवकसँगै शंखमूल पुगेका सादा पोशाकका ब्युरोको प्रहरीले ट्रामाडोल ल्याउने रेखा ढुंगेललाई आइतबार दिउँसो पक्राउ गर्न सफल भयो।
लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा उनका श्रीमान् हरि ढुंगेल पनि प्रहरीको नियन्त्रणमा परे। पक्राउ परेकी महिला रेखाले आफूले ट्रमाडोल एक औषधि पसलबाट किन्ने गरेको प्रहरीलाई बयान दिइन्।
बिना अनुमति औषधि किनबेच गर्नेमाथि कारबाही गर्ने अधिकार ब्युरोलाई छैन। त्यसपछि ब्युरोले यसबारेमा औषधि व्यवस्थापन विभागसँग सम्पर्क गर्यो। विभाग र ब्युरोको संयुक्त अपरेसनमा सोमबार साँझ बिनाअनुमति लागुऔषधका रूपमा ट्रमाडोल बेच्ने कृपासुर ड्रग हाउसमा छापा मारेर प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।
गोदाम सिलबन्दी, ठूलो मात्रामा लागुऔषध बरामद
काठमाडौं क्षेत्रपाटीस्थित कुपासुर ड्रग हाउसबाट लागुऔषधका रूपमा औषधि बेच्ने राजन बलामी पक्राउ परे। उनी कृपासुर ड्रग्स हाउसका कर्मचारी हुन्। उनकै बयानबाट प्रहरी लागुऔषध गोदामसम्म पुगेको थियो। नयाँबजार खुसिबुमा रहेको उक्त गोदामबाट प्रहरीले दर्ता नभएका लागु औषधका रूपमा बेचबिचन गरिने औषधी बरामद गर्यो।
४५ काटुर्न ट्रामाडोल, अलप्रसेभ ०.५ एमजीको ४ बोरा र १ वटा ठूलो कार्टुन, आइपिएल ३ कार्टुन, लेभोनजेर्नोल ३ कार्टुन, भिगोरिप-१०० एमजी ३ कार्टुन, भिगोर–१०० एमजी १ कार्टुन, पिटिओजेट–डी २ कार्टुन, प्रिआउट किट २ कार्टुन, पारस हेल्थी जीवन ७ कार्टुन, ए–क्लेभ–६२५ नामक औषधि १ कार्टुन, सलफेक्स २०० एलबी १ कार्टुन, नाइट्रिभिट सफ्टजेल क्याप्सुल ३ कार्टुन र सिटी–आरइपी ४ कार्टुन बरामद गरेको छ।
बरामद यी औषधी नेपालमा दर्ता भएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन्। त्यसैगरी, औषधि राखिएको गोदामसमेत दर्ता नभएको पाइएको छ। उनीहरूले कहिलेदेखि यसरी अवैध रूपमा औषधी ल्याएर लागू औषधको रुपमा बेच्न थालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ।
नाइके फरार
ब्युरो र विभागको टोलीले संयुक्त रूपमा छामा मारेर बरामद गरेको लागुऔषध गोदामका सञ्चालक पुरुषोत्तम भण्डारी हुन्। भण्डारीको पसलमा काम गर्ने कर्मचारी पक्राउ परेका छन् तर उनी भने फरार हुन सफल भएका छन्। भण्डारीकै योजनामा अवैध औषधि लागुऔषधका रूपमा बेचिएको पक्राउ परेकाहरुले बयान दिएका छन्। तर उनी भने पक्राउ नपरेको बारे विभागका महानिर्देशक ढकाल भन्छन्, ‘उनी अहिलेसम्म फरार छन्। उपस्थित हुन आउन भनेर पत्राचार गरेका छौं। तर अहिलेसम्म सम्कर्पमा आएका छैनन्।’
औषधिका नाममा लागुऔषध बेच्ने उक्त गोदाम भने सिलबन्दी गरिएको छ।