राजुलाइ एमआइ (हर्ट अट्याक) भएर थचक्क बस्यो। लौरीबिनाको काहाली लाग्दो उकालो त्यसमाथी करिब ३९०० मिटरको उचाइ, जति–जति पाइला अगाडि सार्यो त्यति–त्यति सास फेर्न अप्ठ्यारो भइरहेको थियो। मेरो दिमागले केहि सोच्न सकेन। झटपट अलि अगाडि रहेको एउटा अग्लो ढुङ्गामा चढेँ अनि न्वारनदेखिको बल निकालेर चिच्चाएँ ‘सा थी हो, रा जु लाइ एम.आइ भो’। फेरी दगुर्दै तल आएँ। केटो बेहोस भएर लडिरहेको होला भनेको त, थुचुक्क बसेर टुलुटुलु हेरिरहेको थियो। ‘रातभरि रुँघ्यो, बूढि त जिउँदै।’ आखिर मेरो आवाज सुनेर सबैजना जम्मा भइसक्दा पनि राजु बेहोस भएन। अझ सुरजले एक बोतल गुलियो ट्याङ बनाएर खुवाएपछि त उकालोमा सुस्ताउन नपाएर आएको नाथे एमआइ कता गयो गयो।
ट्याङको अन्तिम घुट्को निल्दै गर्दा दिवाकरले सुनायो – ‘सबै कालो ट्याङ्की हिलटेक हुँदैन अनि सबै छाती दुखाइ एमआइ पनि हुँदैनन्।’ राजु मुसुक्क हाँस्यो अनि सबैभन्दा पहिले उठेर ठमठम अगाडि लाग्यो।
नामै लौरीबिना, अर्थात् त्यहाँ भन्दा माथि लौरी लिएर जानु हुँदैन भन्ने जनविश्वास रहेछ। हामीले पनि यहाँसम्म ल्याउन मदत गरेकोमा धन्यवाद दिँदै आ–आफ्ना लौरी त्यहिँ छाडिदियौँ। अबको अर्को गन्तव्य भनेको गोसाइकुण्ड नै थियो तर त्यहाँ पुग्नु भन्दा पहिले हामीले अर्को परीक्षा उत्तिर्ण गर्नुपर्ने भयो।
जति–जति माथि लाग्यो त्यति–त्यति जोडले हुरिबतास चल्न थाल्यो। ‘हुडहुड भनेको यहि आँधी हो कि क्या हो?’ प्रशान्त अत्तालियो। बाँकी सबैको हालत पनि उस्तै थियो। न समाउन मिल्ने कुनै रुख, बुटो न त अढेस लाग्न मिल्ने कुनै विश्वासिलो ढुङगो। एक समय त यस्तो आयो जतिखेर हामी एकले अर्काको ज्यानमा समाएर निकैबेरसम्म उभिरह्यौँ।
बतास बन्द भइसकेपछि भने जे भयो सायद त्यसको वर्णन नै हुँदैन, मात्र अनुभूति गर्न सकिन्छ। कसैले पछाडीबाट सुस्तरी–सुस्तरी काउकुती लाएजसरी हिउँका ढिकाहरुले हाम्रो शरिरमा स्पर्श गर्न लागे। किताबमा, सिनेमामा अनि लाइब्रेरीको झ्यालबाट देखिने जस्ता सेता हिमालमा आज हामी आफैँ हिँडिरहेका थियौँ। त्यसमाथि ‘आकाशैबाट के उडि आयो भेडाको ऊन जस्तो हो, भेडाको ऊन जस्तो।’
करिब ४३०० मिटर उचाइमा रहेको गोसाइकुण्ड पुग्नु भन्दा पहिले नागकुण्ड, सरस्वतीकुण्ड र भैरवकुण्ड जस्ता स–साना तालहरु बाटोमै पर्दा रहेछन्। हामी पनि के कम, माइनस पाँच डिग्री सेल्सियसको कठ्याङग्रिने चिसोको पनि पर्वाह नगरी गोजीबाट हात निकाल्यौँ अनि हरेक कुण्डहरुलाइ प्रणाम गर्दै अगाडि बढ्यौँ।
गोसाइकुण्ड आफैँमा अद्भूत छ। जाडो महिनामा जमेर पूरै बरफको ढिक्का जस्तो हुने। त्यहि भएर यसलाइ फ्रोजन लेक पनि भनिदोरहेछ। तर यहि फ्रोजन लेक जेठ असारमा भने कलकलाउँदो अनि निलो निलगङ्गा बन्छ रे। पौराणिक कथनअनुसार, समुद्र मन्थनबाट निस्किएको विष सेवन गरेपश्चात् भगवान शिवको घाँटीमा आगोको भुङ्ग्रोले पोलेजस्तो जलन भयो र त्यो जलन शान्त पार्नकालागि हिमालय पर्वतमा आइ आफ्नो त्रिशुलले पहाडमा खोपी पानी निकालेर पिएका थिए। कालान्तरमा, त्यसै त्रिशुलधाराबाट बगेको पानीले गोसाइकुण्ड र गोसाइकुण्ड भरिएर झरेको पानीले त्रिशुली नदिको उत्पति भयो।
पूरै जमेको फ्रोजन लेक माथि केहि पाइला हामीले पनि सार्यौँ। शक्तिले भने पवित्र कुण्डमा किल्चनु हुँदैन भनेर वर ढुङ्गामा नै उभिएर फोटो खिचायो (सायद बरफ भासिन्छ भनेर डराएको होला)।
‘टाउकोको अगाडिको भाग चिसोले दुख्छ अनि पछाडीको अल्टिच्यूडले’ गोपालले स्नेल्स न्यूरो–यानाटोमीमा लेखेको कथन सम्झाउनासाथ कसैको अगाडि त कसैको पछाडी टाउको दुख्न थालिहाल्यो। अगाडि दुख्नेहरुले टोपी लगााएर सुते भने पछाडी दुख्नेहरुले पुनः झोलामाइड सेवन गरे। कसैले प्रतिमिनेट चालिस रुपैयाँ तिरेर भएपनि सेटलाइट फोनबाट आफ्ना आफन्त र प्रियसीहरुलाइ सम्झिए त कसैले प्रति घण्टा दुइ सयको प्रवाह नगरी आफ्ना क्यामरा र्चाज गराए।
अन्ततः समुद्री सतहबाट करिब ४५०० मिटरको उचाइमा जब हामीले एक गाँस दालभात, एक थान पलङ र ओढ्ने एउटा न्यानो सिरक भेट्यौँ तब त्यस्तो परिवेशमा पनि होटल खोलेर हामीलाइ कुरिरहनुभएको छेवाङ दाइलाइ मुरी–मुरी धन्यवाद दिँदै रातभर लडिबुडी गरिरह्यौँ।
गोसाइकुण्ड पारीको संसार
बिहानीपख तालकै छेउमा उभिएर तातो चिया घुट्क्याउन कम्ति मजा आएन। चियाको चुस्की लिँदै गर्दा प्रज्वलले छेवाङ दाइलाइ सोध्यो – ‘दाइ यो गोसाइकुण्ड भन्दा पारी चाहिँ के छ ?’ सबैजनाको नजर दाइ तिर नै फर्किएको थियो। ‘अँ, वर पर त कुण्ड मात्र हो। निकै तल गएपछि चैँ दुइ चार वटा साना गाउँ छन् – फेदि, घोप्टे अनि ठाडेपाटी। पहिले पहिले त खैरेहरु त्यहि बाटो हुँदै मेलम्ची जान्थे तर भूइचालोपछि भने कोहि कोहि मात्र हिँड्छ।’
‘दाइ हामी जान सक्दैनौँ ?’ अर्को प्रश्न शक्तिको थियो। ‘अहँ, तपाइँहरु त पढ्ने मान्छे रहेछ काँ त्यस्तो अप्ठ्यारो बाटो हिँड्न सक्छ।’
भनिन्छ एउटा मेडिसिन पढ्दै गरेको विद्यार्थीले सबैथोक सहन सक्छ तर यो मूला पढाकू हो यसले पढ्ने बाहेकका अरु काम गर्न जान्दैन भनेको पटक्कै सहन सक्दैन। छेवाङ दाइको कुरा टुङ्गिन नपाउँदै जसरी भएपनि मेलम्ची पुग्ने कुरामा हामी ढृढ बनिसकेका थियौँ।
करिब ४७०० मिटर उचाइमा रहेको सूर्यकुण्ड पुग्दा आकाशमा सूर्य निकै माथि पुगिसकेको थियो। काठमाडौँको खाल्डोमा बसेर कहिलेकाहिँ नगरकोट–फूल्चोकिमा हिउँ पर्यो भनेको सुन्दा दङ्ग परिन्थ्यो। तर यहाँ त पर–परसम्म जता हेर्यो हिउैँ मात्र। बाटैभरि हिउँ, जिउै भरि हिउँ। एकले अर्कालाइ हिउँले प्रहार गर्यो अनि हिउँमै आफ्नो मनपर्ने मान्छेको नाम खोप्यो (कतिले त अरुले नदेखुन भनेर लुकिलुकि पनि खोपे)।
त्यसपछि फेदिसम्मको बाटो भने पूरै ओरालै मात्र। हिजो उकालोमा ठसठस गर्दै पछाडी पर्नेहरु र एमआइ भएकाहरु समेत आज ओरालोमा भने अघि–अघि दगुर्न लागे। तर त्यो स्फूर्ति पनि धेरैबेरसम्म भने टिक्न पाएन। करिब डेढ घण्टाको अनवरत डिसेन्ड पश्चात् सबैका खुट्टा लगलग काप्न थाले। फेदिमा पुगेर सुस्ताउँदै गर्दा खुट्टा काप्नु पछाडीको कारण बारे ठूलो रस्साकस्सी नै चल्यो। कसैले मसल्स (मांसपेशी) को कारण त्यस्तो भएको ठाने त कसैले ब्लड सप्लाइ (रक्तसंचार) मा आएको गडबडिलाइ दोषी माने र कसै–कसैले चाहिँ स्नायुहरुको संलग्नता बारे समेत आफ्ना तर्कहरु प्रस्तुत गरे। यता वादविवाद चर्काचर्कीमा परिणत हुँदै थियो उता फेदि होमस्टेका मालिक चाहिँ हामीलाइ हेरेर वाल्ल परिरहेका थिए।
होमस्टेका तिनै संचालक त्यसदिन हामीले देखेको अन्तिम मानिस बन्न पुगे किनभने त्यसपछिको पूरै यात्रामा न त हामीले कुनै गाउँ–बस्ती भेट्यौँ न कोही मानिस। फेदिबाट तिन–चार घण्टामा घोप्टे पुगिन्छ भनेर तिनै सज्जनले बताएका थिए। सुरुसुरुमा त ढुङ्गाले छाएको बाटो अनि टुरिष्टका लागि राखिएका बोर्डहरु देखिदै थिए तर बिस्तार बिस्तारै जब जङ्गल घना हुँदै गयो तब ती सब कुराहरु बिलिन हुँदै गए।
दिवाकरले बताएअनुसार मेलम्ची शहर समुद्री सतहबाट मात्र १२०० मिटरको उचाइमा थियो तर पहिलै ३०००–३५०० मिटर माथी रहेका हामी भने नजानिदो गरि झन उकालो लाग्दै थियौँ। सुरुसुरुमा त एउटा–दुइटा डाँडा कटेपछि ओरालो आउँछ जस्तो लागेको थियो तर हाम्रो अनुमानको ठिक बिपरित बाटो उकालै उकालो मात्र लागिरह्यो।
बिस्तारै भोकले पेट चाउरिन थालेपछि दुई दिन अघि बेत्रावतीमा खाएको स्वादिलो खानाको सम्झना भयो। खानासँगै प्रशान्तलाई जिस्काउन सोधेको प्रश्नको पनि सम्झना भयो। अन्ततः सबैजना सहमत भइयो, प्रशान्तले दिएको उत्तर सौ¥है आना सहि थियो। फर्किदा बाठो भएर उल्टो बाटो फर्किएपछि – ‘जाँदा पनि उकालो अनि आउँदा पनि उकालो।’ हुन पनि हो, उकालो चढ्दा–चढ्दा हामी यति माथि आइसकेका थियौँ कि अब त जताततै हिउैँ मात्र थियो। अझ ठाउँ–ठाउँमा भूकम्पले खसेका सुख्खा पहिराहरु, जसले गर्दा अघिसम्म भेटिने सानातिना गोरेटोहरु पनि हराए। अर्थात् हामी बाटो बिहिन भयौँ।
त्यसपछिको हाम्रो यात्रा कुनै अप्ठ्यारो कम्प्यूटर गेममा एक पछि अर्को गरि कटाउनुपर्ने लेभलहरु जस्तै भए। बल्लतल्ल बाटो पहिचान गरेर एउटा पहरा काट्यो अगाडि अर्को झन ठूलो पहरा देखिन्थ्यो। लगभग त्यस्ता पाँचवटा पहराहरु काटिसकेपछि भने एउटा डरलाग्दो भिर आयो। कस्तो भिर भने, तलपट्टि हेर्नै नसकिने डरलाग्दो खोँच अनि माथिबाट लगातार झरिरहेको माटो मिश्रित हिमपहिरा।
जब त्यस्तो भिरको बिचबाट हामी जोगिदै जोगिदै हिँडिरहेका थियौँ तब अचानक माथिबाट जनावरको दिसा बग्दै बग्दै हामी निर आइपुग्यो। त्यो पनि एकदम आलो। त्यस्तो अनकन्टार ठाउँमा त्यो दिसा गाई भैँसीको हुने त कुनै सम्भावना नै थिएन। अनि त के चाहियो र, सबैका मुटु थाम्न नसक्ने गरि दगुर्न थालिहाले। आत्तिएर भागौँ, चिप्लिएर तल लडिएला भन्ने डर, नभागौँ माथिबाट जनावरको दिसा खसिरहेको छ। ‘अब चाहिँ मरियो’ भन्ने लागेको सायद जीवनमा त्यो नै पहिलो घटना थियो।
अझ मुटुमा ढ्याङ्ग्रो त त्यतिखेर बज्यो जतिखेर डरले छिटो–छिटो पाइला सार्ने चक्करमा पुछारमा हिँडिरहेको सागर हाम्रै आँखा अगाडि चिप्लिएर सुलुलुु तल बग्न थाल्यो। धन्न पन्ध्र बिस फिट तल झरिसकेपछि समाउने एउटा बुट्यान भेट्टायो नत्र त्यो खोँचमा उसले ऐय्या भन्ने समय समेत नपाउन सक्थ्यो।
मृत्युदेखि सबैलाइ डर लाग्छ चाहे त्यो डाक्टर होस या बिरामी। यी घटना पश्चात् हामी पनि निकै डरायौँ। यदि कसैलाइ केहि भइहाले सिपिआर (मुटु अचानक रोकिएको खण्डमा छातीमा दिइने मसाज) गरेर भएपनि बचाउनुपर्छ भनेर सुरजले सम्झायो – ‘तीस चोटि छातीमा कम्प्रेस अनि दुइ पटक माउथ टु माउथ ब्रेदिङ।’
त्यो भिर काटेपछि भने बाटो केहि समथर भयो। बाटो के भन्नु, पहिले त्यहाँ कहिल्यै मानिस हिँडेको नामोनिशान भेटे पो। फाट्ट फुट्ट चाउचाउ चकलेटका खोलहरु फेला परे, ए ठिकै बाटो आइएछ जस्तो लाग्थ्यो नत्र भए अन्धधुन्ध हिँडेको छ हिँडेको छ। साँझ पर्न लागिसकेको थियो, परपरसम्म पनि कुनै घर वा मानव बस्तीको सम्भावना नै देखिदैन थियो। अब भने लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र हामी हरायौँ भन्ने कुरामा कसैको दुइ मत नै रहेन।
प्रज्वलले जुक्ति लगायो – ‘यहाँ आगो लगाउन सकियो भने, यस ठाउँसम्म आर्मी आइपुग्छ। हद्द भए निकुञ्जमा किन आगो लगायौ भनेर पक्रेर लग्ला तर कमसेकम त्यो बहानामा हाम्रो उद्धार त हुन्छ।’ आइडिया त्यति नराम्रो थिएन तर आगो बाल्ने कसरी ? शक्ति र राजुले सुख्खा दाउरा जम्मा पारे। सुरज र दिवाकरले चाहिँ ढुङ्गा घोट्न थाले। तर ढुङ्गा घोटेर आगो त सिनेमामा मात्र बल्दारहेछन्।
यता साँचो आगो चाहिँ पेटमा र मुटुमा एक साथ बलिरहेको थियो त्यो पनि भोक र भयको जोडदार घर्षणले। अँध्यारो भएसँगै हिँड्ने कि नहिँड्ने भन्ने द्धिविधा उत्पन्न भयो। वादी र प्रतिवादीहरु बिच लामो बहस चल्यो र अन्ततः गोपालको मध्यमार्गी प्रस्ताव पारित भयो – ‘नौ बजेसम्म हिडौँ, ठाडेपाटी पुगिएछ भने पुगिहालियो नभए जहाँ पुगिन्छ त्यहिँ बास बसौँला।’
त्यस्तो निष्पट्ट अन्धकारमा पनि हामीसँग जम्माजम्मी भएको उज्यालो भनेको राजुको घडिमा बल्ने बत्ति र सागरको नाक, कान, घाँटी जाँच गर्ने पेन टर्च मात्र थियो। तर पनि हामीले हिम्मत हारेनाैँ ठमठम हिँडि नै रह्यौँ। जङ्गलमा एकातिर झ्याउकिरि, हुचिल र स्याल कराइरहेका थिए भने हाम्रो तर्फबाट चाहिँ यदाकदा प्रज्वल गुनगुनाइरहेको हुन्थ्यो ‘देउरालीमा धजा, भन्न त भन्थ्यौ आमा घर छोडेर नजा।’
जिन्दगिमा हामीले अझ धेरै कुरा गर्न बाँकी नै थियो। ती मध्ये पनि, एक असल डाक्टर बनेर हजारौँ बिरामीको सेवा गर्ने पुनित काम अधुरै थियो। सायद यहि भएर होला भगवानलाइ पनि हामी प्रति दया जागेर आयो किनभने ठ्याक्क नौ बज्न दश मिनेट अगाडि अलि पर एउटा सानो घरमा बत्ति बलेको देखिनु सानो–तिनो दैवसंयोग पक्कै थिएन। हो, हामी हराउँदै हराउँदै भएपनि ठाडेपाटी आइपुगेका थियौँ। ‘देर से आया पर दुरुस्त आया।’
ठाडेपाटीमा आठसय रुपैयाँ प्रति प्लेटको खाना खाँदै गर्दा, मैले प्रशान्तलाइ सोधेको थिएँ –‘अब त बाँचियो यार, घर पुगेर पहिलो काम चाहिँ के गर्छौ?’
प्रशान्तले मुस्कुराउँदै भन्यो – ‘घर गएर सबैभन्दा पहिले ब्लड जाँच गराउँछु। यत्रो अल्टिच्यूडमा हिँडेको छ, रगतमा हेमोग्लोबिन त पक्कै बढेको होला।’
धत् , बार्ह वर्ष मेडिकल स्टुडेन्टको पुच्छर ढुङ्ग्रोमा राख्यो, ढुङ्ग्रै बाङ्गो।