काठमाडौं– चितवनकाे भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउन्डमा फेला परेको पेस्तोलका विषयमा अनुसन्धान गर्न पक्राउ परेका ६ जना सुरक्षागार्ड रिहा भएका छन्।
अनुसन्धानका लागि नियन्त्रणमा लिइएका कलेजका ६ जना सुरक्षागार्डलाई दैनिक हाजिरी जमानीमा छाडिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए। कलेजको सुरक्षाको जिम्मा लिएर बसेका उनीहरुलाई यस घटनाबारे जानकारी हुनसक्ने भन्दै गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, उनीहरुबाट बरामद पेस्तोल र गोलीका बारेमा कुनै सूचना प्रहरीले पाउन सकेन। ‘६ जना सुरक्षागार्डसँग हामीले सोधपुछ गर्यौं। उनीहरुले यसबारे केही जानकारी नै नभएको बताए। त्यसपछि उनीहरुलाई छाडिएको हो’ एसपी मल्लले भने।
कलेजका एक सुरक्षागार्डले नै पहिला पेस्तोल फेला परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको पेस्तोल र गोली बरामद गरेको थियो। कपडाको निलो झोलामा ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, सोहीको म्यागजिन एक थान, गोली दुई थान, थ्री नट थ्रीको फायर भएको खोका एक थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थान र विद्युतीय तार बरामद भएको थियो।
पेस्तोल र गोली सहितका यी सामग्री बरामद भएपछि चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले विज्ञप्ति निकाल्दै आफूहरुलाई फसाउन खोजेको आरोप लगाएका थिए। विज्ञप्तिमै कलेज प्रशासनले हतियार ल्याएको सबै विद्यार्थीले देखेको विषय समेत समेटिएको थियो।
त्यस दिन घटनास्थल वरपर भएका व्यक्तिदेखि कलेज प्रशासनसँग समेत यस विषयमा प्रहरीले सोधपुछ गरिसकेको छ। उनीहरुबाट पनि कुनै नयाँ सुराग प्रहरीले फेला पार्न सकेको छैन। अझ कलेज वरपरकै सिसी टिभीहरु समेत हटाउनु तथा काम नलाग्ने बनाएर राख्नुले घटना योजनाबद्ध रुपमा घटाइएकाे आशंका गरिएकाे छ।
प्रारम्भीक सोधपुछबाट नयाँ तथ्य नआएपछि प्रहरीले पेस्तोलका फरेन्सिक जाँच गर्ने तयारी गरेको छ। चितवनमा उपनिर्वाचनका लागि खटिएका कारण व्यवस्थताले गर्दा उपनिर्वाचनपछि पेस्तोलको फरेन्सिक जाँचका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने एसपी मल्लले बताए। बरामद पेस्तोलबाट गोली पड्किएको छ/छैन। यसको प्रयोजन भए/नभएको, यसमा उपलब्ध भएसम्म फिंगर प्रिन्टको समेत जाँच गरिने प्रहरीले जनाएको छ।
यी तत्थहरुको विश्लेषण गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले रिपोर्ट दिने गर्छ। मेडिकल कलेजले ४२ लाख ४५ हजार रुपैयाँ लिनुपर्नेमा अतिरिक्त शुल्कको नाममा थप ६ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै विभिन्न चरणमा विद्यार्थीले आन्दोलन गर्दै आएका थिए। विद्यार्थीको आन्दोलन तुहाउन प्रशासनले ‘कार्ड’ को रुपमा पेस्तोलको प्रयोग गरेको विद्यार्थीको आरोप छ।
केही दिनअघि मात्रै गृहमन्त्रालय र शिक्षा मन्त्रालयमा भएको छलफलमा मेडिकल कलेजले लिएको बढी शुल्क समायोजन गर्ने तथा फिर्ता गर्नेबारे सहमति भइसकेको छ। त्यसपछि विद्यार्थीले गर्दै आएकाे आन्दोलन पनि स्थगित भएको छ।