काठमाडौं- अस्पताल तथा स्वास्थ्य संस्थाका लागि खरिद गरिएका उपकरणहरु आवश्यक स्थानमा नपठाइ स्वास्थ्य संस्थाका गोदम र अस्पतालमा नै नै थन्काउने गरेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयले नै गरेको अध्ययनले उपकरणहरु प्याकेट समेत नखोली राखेको फेला पारेको हो।
अध्ययन प्रतिवेदन अनुसार पछिल्लो १० वर्षयता खरिद भएका ४ प्रतिशत उपकरणहरु प्याकेट नै नखोलिएको अवस्थामा छन्। उपकरण किन्ने तर आवश्यक स्थानमा नपठाउँदा राज्यको स्रोत खेर जानुका साथै नागरिकले सेवाबाट बञ्चित हुनु परेको अध्ययनको निष्कर्ष छ।
आवश्यकताको पहिचान नगरी हचुवाका भरमा उपकरण किन्दै थन्काउने क्रम बढेपछि स्वास्थ्य मन्त्रालयले यो अवस्थामा सुधार ल्याउन राष्ट्रिय रणनीति बनाउन लागेको छ। मन्त्रालयले स्वास्थ्य संस्थामा प्रयोग हुने उपकरण र औजारको व्यवस्थापन राष्ट्रिय रणनीति बनाउन सुरु गरेको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको अगुवाईमा रणनीति निर्माणको काम अगाडि बढेको छ। म्हाशाखाले रणनीतिका विषयमा सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा प्राविधिकहरुसँग बुधबार अन्तरक्रिया गरेको छ। उक्त अन्तरक्रिया कार्यक्रम बिहिबारसम्म चल्नेछ।
ठूलो लगानीमा खरिद भएका सानादेखि ठूला उपकरण तथा औजार प्रयोग नहुने, छोटो समयमै बिग्रिने र प्रयोगमा नै नल्याउने लगायतका समस्यालाई समाधान गर्न रणनीति आवश्यक परेको हो। रणनीतिमा आवश्यकता अनुसार उपकरण तथा औजार खरिद गर्ने त्यसको व्यवस्थापन, सञ्चालन, जनशक्ति लगातका विषय उल्लेख हुनेछ।
स्वास्थ्य सचिव खगराज बरालले स्वास्थ्य क्षेत्रमा उपकरण खरीद र व्यवस्थापनमा कमजोरी रहेको बताए। ‘छतदेखि प्यासेजलगायतका क्षेत्रमा उपकरण तथा सामाग्रि यत्रतत्र छन् भने त्यो सरकारी अस्पताल भनेर सोझै थाहा पाउने अवस्था छ,’ उनले भने, ‘अब यसको व्यवस्थापन गर्नुपर्छ। उपकरणको व्यवस्थापन हुनुपर्छ।’ उनले स्वास्थ्यमा उपकरणको वारेन्टी हुँदासम्म प्रयोग नगर्ने तर वारेन्टी सकिएपछि भने प्रयोगमा ल्याउने समस्या समेत रहेको बताए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेलले उपकरण किन्न नपाउदै बिग्रने कारण बारे अध्ययन हुनुपर्ने बताए। उनले जनशक्ति नै नभएको स्थानमा पनि उपकरण पठाउने समस्याका कारणले पनि उपकरणको सदुपयोग हुन नसकेको बताए।
‘सरकारले किनेको सामानलाई माया नगर्ने, अनावश्यक उपकरण धेरै किन्ने परिपाटी रोक्नुपर्छ,’ उनले भने।
स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका महेन्द्र प्रसाद श्रेष्ठले सानादेखि ठूला अस्पतालमा उपकरण किनेको केही समयभित्रै बिग्रिने, सेवा अवरुद्ध गर्ने, मर्मत नगर्ने र नयाँ किन्ने परिपाटी रहेको बताए।
स्वास्थ्य मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले पछिल्लो पाँच वर्षमा खरिद भएका ३२ प्रतिशत उपकरण मर्मत गर्ने अवस्थामा रहेको जानकारी दिए।
व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले उपकरण बिग्रने, नचल्ने भएर कतिपय अस्पतालमा उपकरण भएर पनि प्रयोग नगर्दा सेवामा अप्ठ्यारो परेका कारण त्यसको समाधान गर्न रणनीति आवश्यक भएको बताए।
व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख कृष्णबहादुर चन्दले उपकरण मर्मतमा बजेट कम भएको बताए।
उनले करिब ९ करोड बराबरको उपकरण औजार प्याकेट नखोली खेर गएको उनले जानकारी दिए।