काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी परिषदलाई परिषदमा दर्ता हुने स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वीकृति दिएको छ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परिषदलाई कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो। कात्तिक १७ गतेको निर्णय अनुसार मन्त्रालयले परिषदलाई आज पत्र दिएको छ।
पत्र पाएलगत्तै परिषदले परीक्षाको आवश्यक तयारी अगाडि बढाउन लागेको परिषदका अध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिए।
परीक्षा सञ्चालनका लागि कुनै कार्यविधि नै नबनाई दुई वर्षअघिका परिषदका पदाधिकारीले कपी जाँच गर्ने लाखौंको मेसिन किनेर ल्याएको थियो। कार्यविधि नै नबनाई कमिसनका लोभमा २० लाख रुपैयाँमा किनिएको उक्त मेसिन दुई वर्षदेखि अलपत्र नै छ।
परिषदमा नयाँ कार्यसमिति आएपछि थन्किएको उक्त मेसिन प्रयोगमा ल्याउने र कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेका थिए। सोही अनुसार परिषदले मन्त्रालयमा स्विकृतीका लागि पत्र पठाएको रजिष्ट्रार दीपक भट्टले जानकारी दिए।
‘विगतमा के कारणले परीक्षा हुन सकेन भन्ने हामीलाई प्रष्ट जानकारी भएन,’ उनले भने, ‘तर हामीले स्वास्थ्यकर्मीको गुणस्तरलाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हौँ।’
उनका अनुसार परिषदले पहिलो चरणमा ब्याचलर तहको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने तयारी गरेको छ। त्यसपछि अन्य तहको पनि परीक्षा हुनेछ।
परिषदको ऐनको दफा ३३ अनुसार परिषद नियमावली २०५६ को नियम ७ मा स्वास्थ्यकर्मीको नाम दर्ताका लागि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ। परिषदले सोही व्यवस्था अनुसार परीक्षा सञ्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।
यो पनि