महिनावारी भएका बेला महिलालाई निकै पीडा हुन्छ। अत्यधिक पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, रिस उठ्ने जस्ता लक्षण देखा पर्छन्। कसैकसैलाई ओछ्यानबाट उठ्न नसक्ने, बेहोस् नै हुने अवस्थासम्म आउँछ। कसैले महिनावारीको पीडा खप्न सक्छन् त कसैले सक्दैनन्। विशेषतः कामकाजी महिलालाई यसबेला निकै गाह्रो हुन्छ।
नेपालमा महिनावारी बिदा दिने चलन अझै स्थापित हुन सकेको छैन। राजनीतिमा होमिएका महिलाहरु त घरदेखि, पार्टी कार्यालय, बैठक, संसद् एवं मन्त्रालयसम्म व्यस्त रहन्छन्। स्वास्थ्यखबरले सांसदका महिनावारी भोगाइ, बुझाइ, पीडा तथा अनुभव छोटकरीमा समावेश गर्न खोजेको छ।
अञ्जना बिसंखे नेकपाकी सांसद हुन्। महिनावारी भोगाइसम्बन्धी एउटा घटना उनी बारम्बार सम्झिरहिन्छन्। २०६५/६६ तिर उनी भोजपुरको पार्टी सेक्रेटरी थिइन्। पार्टी बैठक चलिरहेको थियो। त्यतिबेला बिसंखेलाई महिनावारी भएको थियो। अरु बेलाजस्तै असाध्यै पेट दुख्ने अनि रगत बग्ने भइराखेको थियो। बैठक करिब ८ बजेदेखि ५ बजेसम्म चल्यो। उनले त्यतिन्जेल त्यहाँबाट न हलचल गर्न पाइन् न त प्याड चेन्ज गर्न नै। बैठक सकिएपछि हेर्दा त उनका कुर्ताभरि रगत लागेको रहेछ।
उनी भन्छिन्, ‘महिला साथीहरुले आफ्नो सलले छोपेर गाडीमा हालेर लगे, महिनावारी भएको बेला यस्तो व्यस्तताले निकै गाह्रो बनाइदिन्छ। लामा बैठक बस्दा आज मिल्दैन, एकछिन निस्कन्छु भन्न पनि पाइँदैन।’ बिसंखेलाई स्कुल पढ्दा महिनावारी भएका बेला स्कुल जान पनि गाह्रो हुन्थ्यो। अत्ति भएपछि औषधिसमेत खानुपथ्र्यो।
महिला सांसदको लागि शौचालय अझै पनि महिलामैत्री नभएको गुनासो गर्छिन् सांसद बिसंखे। उनी भन्छिन्, ‘स्कुलस्कुलमा प्याडको व्यवस्था गरिने भनेर सरकारले घोषणा त गरेको छ, तर हाम्रै संसद्को शौचालयमा प्याडको व्यवस्था छैन।’
कहिलेकाहीँ त दिनभर शौचालयमा पानीसमेत नहुने उनले बताइन्। संसद् सचिवालयमा नै शौचालय एकदम अव्यवस्थित रहेको बताउँदै उनी भन्छिन्, ‘लापारबाही गरिएको छ। ट्वाइलेट पेपरको व्यवस्था पनि छैन।’
बिसंखेले आफ्नै साथीहरु समेत महिनावारीका बारेमा खुलेर बोल्न हिच्किचाउने गरेको पाएकी छिन्। उनी भन्छिन्, ‘महिनावारी भनेको त प्राकृतिक कुरा हो नि, लुकाउने र लजाउनुपर्ने के छ र? मैले त आफ्नै श्रीमान् तथा स्वकीय सचिवसँग आवश्यक परेको बेला प्याड मगाउने गरेको छु।’
नेकपाकी सांसद रामकुमारी झाँक्री आफ्ना विचारहरु खुलेर बोल्ने नेतृको रुपमा चिनिन्छिन्। उनले महिनावारीका बारेमा पनि आफूले खुलेर बोल्ने गरेको बताइन्। झाँक्रीको बुझाइमा महिनावारीलाई अझै पनि शिक्षितले समेत पाप र धर्म, छुत र अछुतको रुपमा चित्रित गरेको पाएकी छिन्। उनी भन्छिन्, महिनावारी भएका बेला अरु महिलासरह मलाई पनि गाह्रो हुन्छ, तर व्यवस्थापन गर्न जान्नुपर्छ।
उनको अनुभवमा पनि सिंहदरबारको शौचालय नराम्रो छ। भन्छिन्, ‘मन्त्री, सचिवालयको शौचालय राम्रा होलान् तर अरु राम्रा छैनन्। फोहोर शौचालयले त संक्रमण बढाउने डर पनि त हुन्छ, तर यस विषयलाई गम्भीर रुपमा हेरिएको पाइँदैन।’ शौचालय सफा राख्न प्रयोगकर्ताको पनि कर्तव्य हुने उनको तर्क छ।
झाँक्रीका अनुसार संसद् भवनको शौचालयमा पानीको अभाव पनि छ। साथै फ्लस नभएर महिनावारीको रगत पनि राम्ररी पखालिन पाउँदैन, रगत बाहिरै देखिन्छ। सेनेटरी प्याड पनि जथाभावी फालिदिने अनि राम्ररी विसर्जन गर्ने बानीको कमी छ। अझै पनि शौचालय भनेको भर्याङमुनि, मान्छेको पहुँच नभएको ठाउँमा बनाइएको पाइन्छ, यसैले थाहा हुन्छ कि हामीले शौचालयलाई कत्तिको महत्वपूर्ण स्थानमा राख्छौँ। चेतनास्तर यसैबाट देखिन्छ।
कांग्रेस सांसद लक्ष्मी परियार पनि महिनावारी भएका बेला निकै गाह्रो हुने बताउँछिन्। ‘सदनको बैठकमा कहिलेकाहीँ बीचैमा महिनावारी भइदिन्छ, धेरै पेट दुखिरहेको हुन्छ, गाह्रो हुन्छ,’ लक्ष्मी भन्छिन्। एक पटक उनी कामकै सिलसिलामा उदयपुर गएकी थिइन्। महिनावारी भएको थियो। महिनावारीले उनलाई यतिसम्म गाह्रो बनायो कि, अस्पताल भर्ना नै गर्नुपर्यो। उनी भन्छिन्, ‘बैठकहरु बस्दा महिनावारी भएका बेला असहज हुन्छ, आराम गर्न मन लाग्छ, तर आराम कक्षको व्यवस्था संसद् भवनमा छैन।’
प्याड हरदम बोक्ने लक्ष्मीले महिनावारी भएका बेला गाह्रो भएर सदन नै छोडेर घरै जानु परेको स्थिति आएको बताइन्। ‘प्याड समयसमयमा फेरिराख्नुपर्छ, नत्र संक्रमण हुने डर हुन्छ, मैले त छोरीलाई पनि महिनावारी व्यवस्थापनका बारेमा राम्ररी सिकाएकी छु,’ उनी भन्छिन्।
कांग्रेस सांसद सरिता प्रसाईं भने आफू महिनावारीमा दुखाइ सहनसक्ने बताउँछिन्। ‘मलाई महिनावारी हुँदा पेट धेरै दुख्दैन, तर पनि असहज भने हुन्छ।’ उनले पनि संसद्को शौचालयमा प्याडको व्यवस्था नभएको बताइन्।
सरिता सांसदलाई भन्दा पनि महिनावारी हुँदा सुदूरपश्चिमका महिलाले कष्ट भोग्नुपरेको उनी बताउँछिन्। भन्छिन्, ‘जहाँ किशोरीहरुले छाउपडी प्रथा भोगिरहेका छन्, प्याडका बारेमा जानकारीसमेत छैन।’ महिनावारी सरसफाई तथा व्यवस्थापनका लागि जनचतना आवश्यक रहेको उनको भनाइ छ।
नेकपाकी सांसद शान्ता चौधरी बढी नै दौडधुप हुनाले सांसदलाई महिनावारी भएको बेला असहज र गाह्रो हुने बताउँछिन्। उनलाई पनि महिनावारी भएका बेला अत्यधिक पेट दुख्छ। गाह्रो भएको खण्डमा धेरै साथीहरु सदन छोडेर जाने गरेको उनको अनुभव छ। संसद्को शौचालय भने ठिकै रहेको उनले बताइन्।