काठमाडौं- भव्य सेट, नेपथ्यमा संगीतको धुन। मन्द मुस्कानका साथ एक जना बालिका सेतो फ्रक तथा सेतै हेयरब्यान्डमा सजिएर स्टेजमा क्याटवाक गर्दै आइन्। दर्शकदीर्घाबाट आएको तालीको गड्गडाहटले लामै समयसम्प हल गुञ्जायमान भइरह्यो।
चिटिक्क परेका र रंगीबिरंगी पोसाकमा सजिएर विभिन्न हाउभाउका साथ साना बालबालिका एक-एक गर्दै क्याट-वाकमा आए। कोही आँखामा कालो चस्मा अनि कोही कोटमा सजिएका थिए बालकहरू। बालिकाहरू भने गुन्युचोली र वान पिसमा। कोही एक्लै क्याटवाक गर्दै आए भने कोही जोडी बाँधेरै।
खुसी तथा आत्मविश्वासका साथ स्टेजमा प्रस्तुत भएका यी बालबालिका क्यान्सर बिजेता हुन्। यो कुरा पत्याउन सुरुमा सबैलाई सजिलो लाग्दैन।
१४ वर्षीया पल्लबी श्रेष्ठले 'र्याप-वाक'मा हिँड्दा 'नर्भस' भएपनि रमाइलो लागेको बताइन्। ७ महिनाअघि पाठेघरको क्यान्सर पत्ता लागेकी उनी स्कुल जान पाएकी छैनन्। केमोले गर्दा उनको कपाल झरेको छ। बुवा दिनेश श्रेष्ठका अनुसार पल्लबी असोजसम्म ठीक हुने डाक्टरले बताएका छन्। त्यसपछि उनलाई स्कुल पठाउने उनको विचार रहेछ। 'कपाल छैन, जान्नँ भन्छे तर घरमै राखेर परीक्षा दिन सक्नेसम्म बनाउँछु भन्ने लागेको छ,' दिनेशले बताए।
इशु गौतम ७ वर्षकी भइन्। रातो हेयरब्यान्ड, रातै घाँघरा, रातै चोली अनि रातै घुम्टो लाएर दुलहीजस्तै सजिएकी थिइन् उनी। ‘गैरी खेतको शिरै हान्यो’ बोलको गीतमा उनी जब नाच्न थालिन् सबैका नजर उनमै पुगे। 'स्टेप-स्टेप'मा उनले आकर्षक नृत्य गरेर सबैलाई मोहित पारिन्।
५ वर्षको उमेरमा रक्त क्यान्सरको शिकार भएकी इशु अहिले पूर्ण रूपमा ठीक भइसकेकी छन्। नयाँ जीवन बाँचिरहेकी छन्।
खुट्टामा क्यान्सर भएपछि सरिता मगरले देब्रे खुट्टा गुमाउनुपर्यो। हाल १८ वर्ष पुगेकी उनी बैशाखीको सहाराले हिँड्ने सक्ने भएकी छन्। नृत्य सहारा बनेको छ उनको। एउटै खुट्टाले ‘मै छोरी सुन्दरी’ बोलको गीतमा छमछमी नाचेर स्टेज तताइन सरिताले। दर्शक ध्यानमग्न भएर हेरिरहे। नृत्य सकिएपछि तालीले हल तातियो।
रिन्पुका शब्दले कलाकार मदनकृष्णका आँखा रसाए....
वाकलामा प्रखर पोखराका १३ वर्षीय रिन्पु योल्नोलाई गितार बजाउन र गाउन मनपर्छ। आफूलाई लागेको क्यान्सर बारेमा अनुभव बाँडे उनले। इच्छाशक्ति भए जस्तोसुकै समस्या पराजित गर्न सक्ने भनी मन छुने अभिव्यक्ति दिए रिन्पुले। क्यान्सरकै कारण श्रीमती गुमाएका कलाकार मदनकृष्णले आँशु थाम्न सकेनन्। यसपछि हलमा उपस्थित धेरैका आँखा रसाए।
रिन्पुलाई दुई वर्ष अघि क्यान्सर देखिएको थियो। तर क्यान्सर जितेका छन् उनले। उनको प्ररणादायी वक्तृत्वले धेरैको मन जित्यो। 'हाम्रो यो खेल्ने/कुद्ने अनि पढ्ने उमेर हो। हामीलाई पनि पढ्न मन लाग्छ तर बेडमा घण्टौँ केमो दिएको पीडाले मन दुख्छ। स्कुल जान मन लाग्छ। हाम्रो उमेरका धेरैजसो साथीहरू किताब बोकेर स्कुल जान्छन्। हामी अस्पताल बस्नुपर्छ। तर निराश हुनुहुँदैन, हार खानु हुन्न, असम्भव कुरा केही छैन। मात्र इच्छाशक्ति हुनुपर्छ।'
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले शनिबार आयोजना गरेको ‘सुदिप्ता सुपरकिड्स क्यान्सर सर्भाइभर र्याम्प वर्क’ मा २ वर्षदेखि १९ वर्षसम्मका करिब ५० जना क्यान्सर विजेता र क्यान्सर पीडित बालबालिकाले र्याम्प वर्क गरेका थिए।
बालबालिकालाई हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ।
सो अवसरमा बोल्दै उपराष्ट्रपति नन्द बहादुर पुनले कुनै समयमा आफू पनि मिर्गौला फेल भएको अवस्थाबाट गुज्रिनु परेको बताउँदै सबैभन्दा ठूलो कुरा रोगसँग लड्ने मनोबल हुनुपर्ने बताए। उनले भने ‘ यी बालबालिकाहरुको साहस देखेर निकै खुसी लागेको छ, सरकारले क्यान्सर रोगको उपचार भन्दा क्यान्सर लाग्न नै नदिने कुरामा ध्यान पुर्याउनुपर्छ। यसका लागि जनचेतना आवश्यक छ।’
गत पुस २७ गते अस्पतालले क्यान्सर विजेताहरूको सहभागितामा फेशन सो गरेको थियो। अस्पतालका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठका अनुसार क्यान्सरको उपचार नेपालमै सम्भव छ भनेर सन्देश दिन कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले यसअघि गरिएको फेसन शो सफल भएपछि बालबालिकालाई थप हौसला दिन पुनः कार्यक्रम आयोजना गरिएको बताइन्।
कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, कलाकार मदनकृष्ण श्रेष्ठ, सारेगम लिटल च्याम्प-२०१९ का फाइनालिस्ट आयुष केसीलगायतको उपस्थिति थियो। आयुषले तीन वटा गीत गाएर मन्त्रमुग्ध पारेका थिए।
सबै तस्बिर: निमेष जंग राई