काठमाडौं– ओखलढुंगास्थित ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित स्कुल अफ हेल्थ साइन्समा प्रविणता प्रमाणपत्र तहको नर्सिङ अध्ययनका लागि ६० प्रतिशत कोटा पहुँचवालाले भागवन्डा गरेका छन्। कोटाको भागवन्डा हुँदा सर्वसाधारणले भने पढ्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ।
कलेजमा नर्सिङ अध्ययनका लागि २० वटा कोटा तोकिएको छ। उक्त कोटामध्ये १२ वटा कोटा भागवन्डा गरिएको छ भने ८ वटा मात्र खुला प्रतिस्पर्धाका लागि राखिएको छ।
विद्यार्थी भर्नाको कोटामा मनपरी भागवन्डा गरिएको भन्दै स्थानीय र सरोकारवालाले यसको विरोध गरेका छन्। नियमअनुसार २० वटा कोटामा पुरुषलाई १५ प्रतिशत र छात्रवृत्तिको कोटा मात्र आरक्षण वा सुरक्षित गर्नुपर्नेमा अन्य विभिन्न शीर्षकमा भागवन्डा गरिएको भन्दै विरोध सुरु भएको हो।
कलेज सञ्चालक समितिको साउन ८ गते बसेको निर्णयअनुसार आगामी शैक्षिक सत्र २०७६/७७ का लागि सिटिइभिटीका कर्मचारीलाई १, अस्पतालमा कार्यरत कर्मचारीलाई १, सिद्धिचरण नगरपालिकालाई २, ओखलढुंगा उद्योग वाणिज्य संघलाई २, पुरुषलाई ३, अनमी १ र छात्रवृत्तिमा २ गरी १२ जनालाई कोटा छुट्याइएको हो।
स्थानीयले छात्रवृत्ति र पुरुष कोटाबाहेक सबै खुला गर्नुपर्ने माग राखेका छन्। कलेजमा गत वर्षदेखि नर्सिङ कार्यक्रम सञ्चालनमा आएको हो।
कलेज सञ्चालक समितिले भागवन्डाको निर्णय सिटिइभिटीको केन्द्रीय कार्यालय सानोठिमीमा आएर गरेको हो। निर्णयमा अध्यक्ष विनयकुमार मिश्र, सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा रोशन खरेलले हस्ताक्षर गरेका छन्।