काठमाडौं– सुत्केरी र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएपछि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बिहीबार दिनभर तनावग्रस्त बनेको थियो।
अस्पतालमा उपचारका क्रममा नुवाकोटकी ३७ वर्षीया कल्पना तामाङ र उनको बच्चाको मृत्यु भएको हो। आफन्तले सत्यतथ्य बाहिर ल्याउनु पर्ने भन्दै आवाज उठाएपछि तनाव उत्पन्न भएको हो। सो क्रममा अस्पतालसँग वार्ताको सहजीकरण प्रदेश ३ की उपसभामुख राधिका तामाङले गरेकी थिइन्।
वार्तापछि मृतकको शव दाहासंस्कारका लागि नुवाकोट लगिएको छ। अस्पतालको अवस्था सामान्य बनिसकेको छ।
यो विषयमा सुत्केरीको श्रीमान् र अस्पतालका निर्देशकको भनाइ जस्ताका तस्तै हामीले यहाँ समावेश गरेका छौंः
हामीलाई कारणको राम्ररी जानकारी नै दिइएन
राजु तामाङ, मृतकका श्रीमान्
‘हाम्रो घर नुवाकोटको दुप्चे हो। अहिले बसाइ चाहिँ लैनचोर हो। मंगलबार साउन ३१ गते राति साढे १० बजेतिर श्रीमतीलाई एक्कासि पेट दुखेपछि त्यहीँको मेडिकलमा लाने कुरा भयो। तर, श्रीमतीले प्रसूति गृहमा नै लैजानु भनेपछि यहाँ ल्यायांँ। मलाई त उनी गर्भवती भएको समेत थाहा थिएन। यहाँ ल्याएपछि पिसाब र रगत जाँच गर्न भनियो। त्यसपछि गर्भवती भएको थाहा भयो। भर्ना गरियो। रातभर यत्तिकै राख्यो बेडमा। नर्सले पनि राम्ररी हेरेनन्। बिहान ७ बजे सलाइन पानी र व्यथा लाग्ने औषधि दियो। हिजो ११ बजेसम्म नर्मल थियो भनेर भन्यो। बच्चा जन्मिने ठाउँमा लगिसकेको थियो। ‘पाउने बेला भएको रहेछ गर्भवती भएको थाहा पनि नहुने’ भनेर गाली गरे।
व्यथा लागेपछि ‘बच्चा जन्मिने ठाउँमा लानुपर्यो’ भनेर भने। ‘बच्चा र आमाको कपडा देऊ भनेपछि मैले दिएँ। पछि एकछिनमा बच्चाको टाउको टेढो भयो निस्किन सकेन भनेर भनियो। बच्चाले भित्र दिसा गरेछ तुरुन्त अपरेशन गर्नुपर्छ भनेर भन्न आए। अनि साइन गरे। त्यसपछि हाम्रो रिपोर्ट नै हरायो भन्यो। ब्लड बैंकमा गएर रिपोर्ट कन्फर्म गराएर आउनु भने। बिरामीको स्याम्पल पनि लिएर आउनु भने। त्यसबीचमा १०–१५ मिनेटमा अपरेशन सिध्याएर भेन्टिलेटरमा पु¥याइसकिएको रहेछ। हामीले बचाउन सकेनौं भनेर भने। गर्भमा रहेको ठूलो पानी भित्र फुटेछ त्यसैले फोक्सोमा असर गरेर मरेको भने। बच्चा कहाँ छ भनेर सोध्दा एनआइसियुमा छ भनियो। जान्छु भन्दा जान दिएनन्।
पछि हेर्न जाँदा बच्चा दुध खाइरहेको देखें। त्यो साँझ बेलुका त त्यो बच्चा हाम्रो होइन भनेर भनियो। अरुको परेको रहेछ। श्रीमतीको नाम र अर्को महिलाको नाम एउटै रहेछ। नाम एउटै परेछ भनेर भनियो। बच्चा कहाँ छ त भनेर साह्रै जिद्धी गरेर सोध्दा अपरेशन थियटरमै मरेको भनेर भनियो। पहिला नै दुवैजना मरिसके भनेर कसैले भनेनन्। के कारणले हो राम्ररी भनिदिनुपर्छ। बच्चा र आमा दुवै मरेपछि कसलाई चिन्ता लाग्दैन र?’
राजुका दाइ रेशम तामाङले सुरुमा पोस्टमार्टम गर्ने भनिए पनि अब लासलाई दाहसंस्कारको लागि लग्न लागेको बताए। ‘जे हुनु भइहाल्यो अब के गर्नु,’ उनले नुवाकोटसम्म लान एम्बुलेन्सको व्यवस्था अस्पतालले गर्दिने भएको बताए।
‘एम्निओटिक फ्ल्युड इम्बोलिज्म’ले मृत्यु
निर्देशक, डा जागेश्वर गौतम
‘उहाँ ९ महिनाको गर्भवती हुनुहुन्थ्यो। तर, उहाँले आफू गर्भवती भएको जानकारी नदिनु र श्रीमान् पनि त्यसमा अनभिज्ञ रहेको कुरा निकै अनौठो लागेको छ। उहाँको जटिल शल्यक्रिया भएको हो। जटिल किसिमको शल्यक्रियामा कहिलेकाहीँ बच्चा र आमाको मृत्यु हुन सक्ने जोखिम रहन्छ। अस्पतालले उहाँलाई बचाउन हरसम्भव प्रयास गरेको हो। बच्चा र आमाको मृत्यु ‘एम्निओटिक फ्ल्युड इम्बोलिज्म’ ले भएको हो।’
के हो ‘एम्निओटिक फ्ल्युड इम्बोलिज्म?
यो अवस्था एकदम दुर्लभ किसिमको बच्चा जन्मिने प्रक्रिया हो।
आमाको गर्भमा रहेको बच्चा खेल्ने पानी आमाको रक्तनलीमा प्रवेश गरेपछि एकदम छिटो रियाक्सन हुन्छ, जसले गर्दा कार्डियो रेस्पिरेटरी सिस्टम (मुटु र फोक्सो)मा असर पु¥याइ उच्च रक्तश्राव हुन पुग्छ। जसले गर्दा मृत्यु हुने सम्भावना धेरै हुन्छ। यो अवस्था २० हजारमा १ जनालाई मात्र हुन्छ। । यो अवस्थामा महिलामा बच्चा जन्माउने बेलामा एक्कासि रक्तनलीमा अक्सिजनको कमी, रक्तचामको कमी र रगत कम बग्न रोक्ने (कोगुलेसन) नभएपछि धेरै रक्तश्राव हुने गर्दछ।