काठमाडौं– मंगलबार साँझ करिब साढे ८ बजे। बनेपाकी ३६ वर्षीया सीता (नाम परिवर्तन) छोरीसँगै बाटोमा हिँडिरहेकी हुन्छिन्। त्यही क्रममा कसैले उनलाई तिखो वस्तुले एक्कासि देब्रे हत्केलामाथि घोप्छ।
असह्य पीडा भएपछि उनी जोडले ऐय्या भनेर चिच्याउँछिन्। कसले अचानक गर्योल यस्तो हर्कत? फनक्क फर्केर हेर्दा एक जना कुर्ता-सुरुवाल लगाएकी महिला देख्छिन्। उनको गुहार सुन्नुको साटो ती महिला झन् छिटो पाइला चाल्न थाल्छिन्।
बिहान हेर्दा सीताको देब्रे हत्केलाको माथिल्लो भागमा सुन्निएको देखिन्छ। अत्तालिँदै उनी स्थानीय अस्पतालमा पुग्छिन्। र, अर्को दिन थप जाँचका लागि काठमाडौंको टेकु अस्पताल आइपुग्छिन्।
घटनापछिका तीन दिन चिन्ताले आफू राम्ररी सुत्न समेत नपाएको उनले सुनाइन्।
सिरिन्ज जस्तो तिखो वस्तुको आक्रमणका घटना काठमाडौंमा यसअघि देखिएको थियो। जसबाट चार जना युवती पीडित भइकेका छन्। सीताको उपचारमा संलन शुक्रराज ट्रोपिकल अस्पतालका डा शेरबहादुर पुन भन्छन्, 'काठमाडौं वरिपरि यसखाले घटना देखिएको थियो। बनेपामा पनि देखिएपछि म अचम्ममा परेको छु।'
आक्रमणमा परी आएका यसअघि युवतीका बयान अनुसार उनीहरुलाई सिरिन्ज जस्तो तिखो वस्तु हानिए पनि उनीहरु चिच्याएका थिएनन्। तर यो घटना अलि फरक छ।
सीतालाई एचाइभी विरुद्धको औषधि दिइएको डा पुनले बताए। यसअघि आएका केसमा छाती, तिघ्रा र कम्मरमा तिखो वस्तु हानिएको थियो। 'यसमा हातमै हानिएको छ। जानीबुझेर नै हानिएको जस्तो देखिन्छ,' डा पुनले भने, 'यी घटनामा सिरिन्ज, सियो हो या होइन यकिनका साथ भन्न सकिन्न।'
सिरिन्ज घोपिएको खण्डमा ७२ घन्टामा नै चिकित्सकको सम्पर्कमा आए रोग सर्न पाउँदैन। हेपटाइटिस बीको संक्रमण हुन नदिन २४ घन्टाभित्रै आउनुपर्ने डा पुन बताउँछन्।
अहिलेसम्म प्रहरीकहाँ दर्ता भएका सबै केस उपत्यकाभित्रकै छन्। जसमा बढी त स्वयम्भू क्षेत्रमै देखिएको छ। उपत्यकाबाहिर बनेपामा देखिएको यो पहिलो घटना हो।
अघिल्ला घटनामा मोटरसाइकलमा आएर केटाले तिखो वस्तुले हान्ने देखिएको थियो। जसमा सबै २० देखि ३० वर्षका युवा नै थिए। तर बनेपाको घटनामा अचम्मलाग्दो त के छ भने महिलाले महिलालाई नै प्रहार गरेकी छन्।
डेढ महिनादेखि प्रहरीले घटनाको छानबिन गरिरहेक अवस्थामा आश्चर्यलाग्दो घटना बनेपामा देखिएको हो।
आज मात्रै एक २५ वर्षे युवती एकदमै भयभीत अवस्थामा करिब १२ बजे टेकु अस्पताल आएकी थिइन्।
एक हप्तापहिले उनी सुन्धाराबाट उनी गाडी चढेकी थिइन्। पछाडिको सिटमा बस्न जाँदै थिइन्। त्यही बेला उनको ढाडमा सियोले घोपे जस्तो महसुस भयो। उनले त्यतिबेला खासै ख्याल गरिनन्।
समाचारमा सिरिन्ज आक्रमणका घटनाबारे थाहा पाएपछि उनी सात दिनपछि टेकु अस्पताल आइपुगेकी हुन्। उनको उपचारमा रहेका डा वैभव मल्लिक भन्छन्, 'घोचेको घाउ देखिँदैन। सायद हप्ताअघिको भएकाले होला। आवश्यक परीक्षणका लागि पठाइएको छ।'
आजको मितिसम्म यसखाले घटनाका ९ वटा केस दर्ता भइसकेका छन्।
अनुसन्धान जारी छ : प्रहरी
महानगरीय प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटी जेठ २५ यता यस्तो घटना दर्ता नभएको बताउँछन्। शुक्रराज ट्रोपिकल अस्पतालमा भने यस्ता प्रकृतिका घटना लिएर ९ जना आइसकेका छन् भने प्रहरीमा जम्मा ५ वटा उजुरी परेको छ।
बोगटी भन्छन्, 'हामी पनि त्यो सिरिन्ज हो या होइन यकिनका साथ भन्न सक्दैनौं, तर तिखो वस्तुले नै सबैलाई घोपिएको देखिन्छ।'
उक्त घटनाबारे महानगरीय प्रहरी कार्यालय रानीपोखरी, सोह्रखुट्टे प्रहरी वृत्त, स्वयम्भू प्रहरी वृत्त, अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। 'कोही मानसिक बिरामीले पो यो काम गरेको हो कि भन्ने आशंका छ,' डिएसपी बोगटीले भने, 'सिसिटिभी फुटेज पनि छ, अनुसन्धान गर्दैछौं।'
यो पनि : EXCLUSIVE : राजधानीमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमण, पीडित भन्छन्- बाइकमा आएर झ्याम्मै पेटमा हान्यो