काठमाडौं- पोषण सुधार अभियन्ता बोनिता शर्मालाई मे २२ मा एउटा इमेल आयो। त्यो कुनै विद्युतीय सूचना मात्रै थिएन, उनका लागि असिम खुसीको समाचार पनि थियो।
उनी र उनको संस्था 'सोचाइ'ले ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार हात पारेको खबर फैलिएसँगै उनी केही दिन निकै व्यस्त बनिन्। बधाई दिनेको ओइरो लागिइरह्यो।
दिगो विकास लक्ष्य नं २ को भोकमरी विधा अन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै सोचाइले ५० हजार अमेरिकी डलर अर्थात् ६० लाख पुरस्कार जितेको छ। पुरस्कारसँगै सोचाइले यो विधा स्पोन्सर गर्ने आरबी ग्रुपबाट एक वर्षसम्मको मोनिटरिङ पनि पाउने भएको छ।
अहिले पनि उनलाई आफ्नो सफलताको कहानी सुनाउन भ्याइनभ्याई छ।
'छोटो समयमै यति ठूलो सफलता हात पार्छु भनेर कहिल्यै सोचेकी थिइनँ,' स्वास्थ्यखबरसँग २७ वर्षे बोनिताले खुसी सेयर गरिन्।
हातमा लगाइएको पोषण र महिनावारी माला देखाउँदै वोनिता र नेहा मल्ल
नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधार केन्द्रित सोचाइ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) कुपोषण र भोकमरीको अन्त्य गर्ने लक्ष्य लिएर स्थापना भएको हो। सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले यही जेठ पहिलो साता मात्रै कम्पनी दर्ता गराएको थियो।
दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वन योङ वर्ल्ड’ को विश्व प्रतिष्ठित ब्रान्डहरुसँगको सहकार्यमा लिड २०३० प्रतियोगिताको आयोजना गरिएको थियो। यसका लागि विश्वभरका युवाहरुले दिगो विकास लक्ष्य प्रगतिका लागि गरिरहेको कामको खोजी गरिएको थियो। जसमा सोचाइ पनि सहभागी भयो।
बेलायतमा रहेको च्यारिटी संस्थाले हरेक वर्ष गर्ने ग्लोबल अनलाइन प्रतिस्पर्धामा ‘सोचाइ’ पोषण विधि र पद्धतिमा पुरस्कृत भएको हो।
‘सोचाइ’को जन्म
भनिन्छ, हरेक सफलताको पछाडि कसै न कसैको हात हुन्छ। सोचाइ परिकल्पनाको पछाडि पनि एउटा रोचक कहानी लुकेको छ।
पब्लिक हेल्थमा स्नातक सिध्याएपछि बोनिता विभिन्न संस्थामा आबद्ध भइन्। एक दिन फिल्ड भिजिटका लागि ललितपुरको लुभू लगियो। पोषणको विषयमा छलफल चलिरहँदा त्यहाँकी एक महिला चिरिमाया महर्जनले एउटा घटना सुनाइन्।
खुसी साट्दै सोचाइ परिवार
एक महिला वर्षौंदेखि बच्चाको आशामा थिइन्। अन्ततः गर्भ बस्यो। छोरा भयो। परिवारलाई यसले निकै खुसी दियो। नेपाली समाजमा अझै पनि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ भन्ने चेतना आएको छैन। गोरो, मोटो अनि खाइलाग्दो देखिन्छ भनेर मह चटाउने, काजु बदाम घोटेर खुवाउने चलन छ। ती महिलाले बच्चा २ महिना छँदा काजुको पेस्ट घोटेर खुवाइन्। पेस्ट घाँटीमा अड्किएर बच्चाको मृत्यु भयो। दुर्भाग्य, उनलाई बच्चा मारेको आरोप लगाइयो। घरबाट समेत निकालिएपछि उनी माइतीको शरणमा आइपुगिन्।
यो सत्य कहानी चिरिमायाको मुखबाट सुनिरहँदा बोनिताको मनमा चिसो पस्यो। पोषणसम्बन्धी सामान्य जानकारी नहुँदा ती महिलाले बच्चा गुमाएको उनले बुझिन्। 'पोषणका बारेमा अलिकति पनि जानकारी हुने भएको भए आज यो दिन देख्नुपर्ने थिएन। उनी जस्ता कैयौं महिलालाई बालबालिकालाई कसरी खुवाउनुपर्छ भन्ने जानकारी छैन,' बोनिता भन्छिन्, 'मलाई त्यो कुराले चिमोटेपछि नै पोषण सुधार तथा चेतनाका लागि केही गर्नैपर्छ भन्ने लाग्यो।'
त्यसपछि उनको दिमागमा फुर्यो, पोषण माला। ठ्याक्कै त्यतिबेला उनले एसिया प्यासिफिक युथ इनोभेसन च्यालेन्ज हुँदैछ भन्ने थाहा पाइन्। उनले आफ्नो आइडिया पठाइन्। आइडिया छानिएर फस्ट राउन्डमा पुग्न सफल भयो। फस्ट राउन्डमा पुगेपछि उनले सोचिन्, एक्लै गर्नुभन्दा टिम नै भए अझै राम्रो प्रतिफल आउला। अरु साथीहरुलाई पनि यसमा जोड्ने योजना बन्यो। लाइफलाइनमा सँगै काम गरेका नेहा मल्ल, आशुतोषध्वज कार्की र मनिता राजोपाध्याय उनको काँधमा काँध मिलाउन आइपुगे।
यो थियो २०१६ को कुरा। उनीहरुको यही आइडिया ६ सय ५० बाट उत्कृष्ट ४५ मा पर्यो।
त्यसपछि उनले आफ्नो टिमको प्रतिनिधित्व गरेर मलेसिया जाने अवसर पाइन्। त्यतिबेला सोचाइ गठन भइसकेको थिएन। महिलाहरुमा पोषणको ज्ञान कसरी सुधार गर्न सकिन्छ भन्ने आफ्नो प्रस्तुति त्यहाँ विश्वका विभिन्न दिग्गज व्यक्तित्वसँग देखाइन्। यो आइडिया टप ६ मा पुग्दै ३ जना विजेता बने, जसमा बोनिता पनि थिइन्। ५ हजार युएस डलर सिड मनी प्राप्त गर्दै उनले मेन्टरसिप पनि पाइन्।
'आफ्नो कामको प्रकृति अनुसार संस्थाको नाम पनि रोज्यौं 'सोचाइ– पोषणका लागि युवा'। सोचेर नयाँ कुरा सिर्जना गरेर परिवर्तन ल्याउने प्रयास गर्ने हुनाले संस्थाको नाम सोचाइ रह्यो,' बोनिता सुनाउँछिन्।
फेन्सी एप भर्सेस पोषण माला
बोनिता र उनको टिमले सुरुमा पोषण मालाको आइडिया बनाइसकेका थिएनन्। पोषण क्षेत्रमा काम गर्ने सोच बनाएका यी युवाहरुले सुरुमा त पोषण सम्बन्धी जानकारी दिने एप बनाउने विचार गरेका थिए। फिल्ड भिजिटकै क्रममा बोनिताले लुभूको कथा सुनाउन छाडिनन्।
बोनिता र उनका साथीहरु पोषणसम्बन्धी अन्तरक्रियात्मक छलफल गरिरेहका थिए। एक जना महिला मोबाइलमा गीत सुनिरहेकी थिइन्। बोनिताले गीत एकछिन बन्द गर्न आग्रह गरिन्। तर उनले आफ्नो श्रीमान्को सहयोग लिइन्। बोनिता भन्छिन्, 'हातमा स्मार्टफोन बोक्ने दिदीले गीत पनि पज गर्नु जान्नुभएन, त्यसपछि लाग्यो टेक्नोलोजी त छ तर प्रयोग राम्ररी भएको छैन। त्यसैले हामीले माला नै प्राथमिकतामा राख्यौं।'
के हो पोषण माला?
सोचाइलाई अन्तराष्ट्रिय पुरस्कार जिताउने पोषण माला के हो त? धेरैलाई यसबारे जानकारी छैन।
यो हेर्दा सामान्य माला जस्तै देखिन्छ। माला भनिए पनि यो हातमा लगाउने ब्रासलेट हो। यसमा रंगीबिरंगी मोतीका दाना राखिएका छन्। सुनौला हजार दिनमा जन्मेदेखि २ वर्षमा बच्चाको ८० प्रतिशतसम्म दिमागको विकास हुन्छ। 'त्यसैले हामीले बच्चालाई पोषण र स्वास्थ्यको बारेमा जानकारी दिने ‘सुनौला हजार दिन’ सुनौलो मौकाको रुपमा लियौं,' उनी भन्छिन्, 'हेर्दा समान्य लागे पनि यसले दिने अर्थ चाहिँ ठूलो छ।'
पोषण मालामा २१ वटा दानाहरु रहेका छन्। जसमध्ये केही दानामा ०, ६, ९, १२ र २४ संख्या भनेर लेखिएको छ। संख्याले बच्चाको उमेर जनाउँछ भने रङले खानेकुराको समूह जनाउँछ। ० देखि ६ मा एउटा मात्र रङ सेतो छ, जसले आमाको दूध मात्र खुवाउनुपर्छ भनेर बुझाउँछ। त्यसपछि सेतो, खैरो, निलो, पहेँलो, हरियो रङले विभिन्न खानेकुरा जनाउँछ। सेतोले दूधजन्य खानेकुरा, खैरोले अन्नबाली, आलु, पहेँलोले दाल, गेडागुडी, हरियोले सागसब्जी तथा निलोले मासुजन्य परिकार बुझाउँछ। यी सबै जानकारी चित्रमार्फत दिइन्छ।
नेपाल सरकारको ‘हरेक बार खाना चार’ भन्ने पोषण नारालाई नै नयाँ प्रस्तुतीकरण दिएर सचेतना दिन खोजेको बोनिता बताउँछिन्। चित्रमा महँगा फलफूलहरु राखिएको छैन। घरमै उत्पादन हुने स्थानीय फलफूल तथा तरकारी खान सुझाव दिने गरेका छन् उनीहरुले। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य छ उनीहरुको।
माला नै किन त?
'आमाहरुले सजिलै बुझून् भनेर,' थप व्याख्या गर्दै बोनिता भन्छिन्, 'टिमले माला निर्माण गरेपछि कहाँ पाइलटिङ गर्ने भनेर सोच्यौं। वार्षिक रिपोर्ट हेर्दा ललितपुरमै पनि पोषणको तथ्यांक सन्तोषजनक थिएन। त्यसपछि ललितपुर जिल्ला जनस्वास्थ्य अधिकृत तथा पोषण शाखासँग कुरा गर्यौं। त्यसपछि नै हामी पाइलटिङका लागि लुभू पुग्यौं।'
त्यहाँ पुग्दा उनले महसुस गरिन्, लुभू त बत्ती मुनीको अँध्यारो जस्तै रहेछ। समस्यैसमस्या। त्यसपछि उनले त्यहीँका प्राथमिक स्वास्थ्य केन्द्रका संयोजकहरुसँग समन्वय गरेर बच्चालाई खोप लगाउन आउने महिलालाई स्टल राखेर परामर्श दिने सोच बनाइन्।
'खोप लाइसकेपछि पोषण परामर्शका लागि एकछिन बस्नुस् भनेर आग्रह गरिन्थ्यो। सायद बोल्ने मात्र भए आमाहरु बस्नुहुन्थेन। रंगीबिरंगी माला देखेपछि उनीहरुलाई पनि के रहेछ भन्ने उत्सकुता जाग्यो,' उनी भन्छिन्, 'हामीले चित्रमार्फत मालाको व्याख्या गर्दै जानकारी दियौं।'
त्यसको एक महिनापछि पोषणसम्बन्धी ज्ञानमा कति बढावा आयो/आएन भनेर फेरि उनीहरु तिनै घरमा गए र निरीक्षण गरे। यसका लागि उनीहरुले स्वास्थ्य स्वयंसेविका, आमा समूहलाई संलग्न गराउने गरेका छन्। पोषण, सरसफाइ, मातृ स्वास्थ्य विभिन्न विषयमा नाटक तथा गीत बनाएर बुझाउने गरेका छन्।
हेर्दा आकर्षक देख्ने यो ब्रासलेट हातमा लाउँदा राम्रो त देखिन्छ नै ज्ञान पनि अथाह दिन्छ। 'यो सिम्पल टुल हो। यसले आमालाई कस्तो खाना खुवाए भनेर जानकारी दिन्छ,' बोनिता भन्छिन्, 'अलार्म जस्तै पो हो त।'
मालाले भोलि नै बच्चाहरु कुपोषणमुक्त हुन सक्छन् भनेर उनी ग्यारेन्टी त गर्दिनन्, उनलाई थाहा छ- प्रारम्भिक ज्ञान भनेकै परिवर्तन र सुधारको पहिलो खुड्किलो हो।
'नेपालमा ३६ प्रतिशत बालबालिकालाई दीर्घ कुपोषण छ, हेर्नुस् त भविष्यका कर्णधार कति पिछडिएका छन्?'
उनको चिन्तायुक्त यही प्रश्नले प्रस्ट्याउँछ, परिवर्तन र सुधारका लागि 'सिकाइ'ले अझै धेरै काम गर्न बाँकी छ।
महिनावारी माला
सोचाइले पोषण मालाका साथै माहिनावारी माला पनि उत्पादन गरेको छ। यो माला २०१८ को महिनावारी सरसफाइ दिवसमा अवसरमा ल्याइएको हो। सँगै आमा, किशोरकिशोरी, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विभिन्न तालिम तथा परामर्श गर्दै समुदाय लक्षित कार्यक्रम पनि भइरहेकै छ।
'किशोरीहरु भविष्यका सम्भावित आमा हुन्, त्यसैले किशोर-किशोरीको क्षेत्रमा पनि काम गर्ने विचार गर्यौं,' बोनिता भन्छिन्, 'म सहरबजारमा हुर्के पनि महिनावारीको बारेमा थाहा थिएन। त्यसैले यो मालाको सोच बनेको हो।'
यसमा २८ वटा दाना छन्, जसले २८ दिनको महिनावारी चक्र जनाउँछ। राता रङले महिनावरी हुँदा रगत बग्ने दिन जनाउँछन् भने हल्का सुन्तला रङले १४औं दिनमा डिम्ब निस्किने बताउँछ। १० देखि १७औं दानाले बच्चा बस्ने सम्भावना देखाउँछ। यसमा सानो रिङ पनि छ, यसलाई सार्न मिल्छ। यसबाट महिनावारी भएको दिनदेखि सार्दै समय थाहा पाउन सकिन्छ।
भिसा रिजेक्ट भएपछि...
कुनै समय प्लस टु सिध्याएपछि विदेश जाने सोचमा थिइन्, बोनिता। तर भिसा रिजेक्ट भइदियो। यसपछि पनि उनले हरेस खाइनन्, बरु नेपालमै केही गर्ने सोच बनाइन्।
'आफूसँग इच्छा र केही गर्ने धोको छ भने त्यसलाई विपनामा परिणत गर्न सक्ने आत्मविश्वास मैले बनाएकी छु,' समुदायमा काम गर्ने इच्छा बनाएकी उनी भन्छिन्, 'आफ्नै देशमा थुप्रै सम्भावना छ।'
बोनितालाई धेरैले 'पब्लिक हेल्थ पढेको मान्छे, माला बनाएर परिवर्तनको कुरा गर्छे' भनेर जिस्क्याए पनि। तर नजिकका साथीभाइ तथा परिवारको राम्रो साथ पाएकी उनी अहिले सबैका लागि प्रेरणाकी स्रोत बनेकी छिन्।
सोचाइको सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेकी बोनिताले फुड एन्ड न्युट्रिसनमा स्नात्तकोत्तर पनि गरिसकेकी छन्।
युवा भविष्य होइनन्, वर्तमानका परिवर्तनकर्ता
'युवा भविष्यका कर्णधार हुन्' भन्ने भनाइसँग बोनिता सहमत हुन सक्दिनन्। उनको तर्क छ, 'युवा भविष्य होइनन्, वर्तमानको परिवर्तनकर्ता हुन्। परिवर्तनसँगै उनीहरुले क्षमता अभिवृद्धि गर्दै लैजाने हो।'
सोचाइले अरु युवाहरुलाई पनि प्लेटफर्म दिएको छ। उनीहरु फरकफरक पृष्ठभूमिबाट आएका छन्। 'उनीहरुलाई समुदायमा गएर कसरी सानो कुराबाट परिवर्तन ल्याउन सकिन्छ भनेर सिकाएका छौं। ताकि उनीहरु हामी जस्तै नेतृत्वकर्ता बन्न सकून्,' सिकाइको योजनाबारे बोनिता भन्छिन्।
संस्थापक मध्येकी एक नेहा मल्ल पनि नेपालमै बसेर आफू जस्तै उमेरका साथीहरुसँग समुदायमा परिवर्तन गर्ने सोचका साथ लागिपरेको बताउँछिन्। 'युवाहरुलाई प्लेटफर्म र हौसला दियो भने तिनीहरुले समाजलाई धेरै कुरा दिन सक्छन्,' उनी भन्छिन्, 'भविष्यमा यो संस्थालाई अझ बलियो र विस्तार गर्दै लैजाने सोच छ। यसका लागि युवाहरुकै झन् धेरै साथ चाहिन्छ।'
कुपोषणको समस्यालाई समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्ने सोचाइका साथ काम गरिरहेका यी युवाहरुले सामाजिक कार्य मात्र होइन, सामाजिक उद्यमशीलताको पनि प्रर्द्धन गरिरहेका छन्।
सोचाइले उत्पादन गर्ने माला स्थानीय कलाकारहरुले तयार गर्दै आएका छन्। अब समुदायकै आमाहरुलाई बनाउन दिने सोचमा छिन्, बोनिता। 'यसले गर्दा उनीहरुको आर्थिक अवस्थामा पनि सुधार होओस् भन्ने हाम्रो सोच छ,' उनी भन्छिन्।
यी मालाहरु कोल्पा स्टोर तथा केटाकेटी स्टोरबाट किन्न सकिन्छ। ‘बाई वन गिभ वन' मोडेल अन्तर्गत किन्न सक्नेलाई पैसा लिइन्छ, नत्र सित्तैमा परामर्श र माला दिइन्छ। एउटा ग्राहकले पोषण/महिनावारी माला किनेको बदलामा एउटी आमा वा किशोरीले सोचाइको युवा स्वयंसेवक समूहबाट सित्तैमा माला तथा स्वास्थ्य परामर्श पाउँछन्। सोचाइमा हाल ४ जना सह-संस्थापक छन् भने २० जना स्वयंसेवकका रुपमा जोडिएका छन्।
अझ धेरै गर्नुछ...
‘सोचाइ- पोषणका लागि युवा’ नारा बोकेर बोनिताको टिमले सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, मोरङ, काठमाडौं, भक्तपुर, फर्पिङमा समेत कार्यक्रम गरिसकेको छ।
भोकमरी र कुपोषण अन्त्यका लागि काम गरिरहेका यी युवाहरु भविष्यमा कृषिलाई पनि जोडेर लाने विचारमा छन्। 'अहिले हामी शिशु अवस्थामा नै छौं, अझ धेरै गर्न बाँकी छ,' बोनिता भन्छिन्, 'पुरस्कारले थप हौसला तथा जिम्मेवारी बोध गराइदिएको छ। हाम्रो मुख्य उद्देश्य आत्मनिर्भर हुने हो। जहिल्यै डोनरको भर परेर काम नचल्ने भएकाले त्यसैले उद्यमशीलताको पनि बाटो रोजेका छौं।'
नेपाल मात्र होइन दक्षिणी एसियाली देशहरुमा कुपोषण र भोकमरीको समस्या छ। कुपोषण अन्त्यका लागि सरकारी निकाय, स्थानीय संस्था र युवाहरुसँग मिलेर जाने सोचमा आफूहरु रहेको नेहाको भनाइ छ।
संस्थाको प्रतिनिधित्व गर्दै बोनिता अक्टोबरमा लन्डन जाने भएकी छन्।
'आफ्नो उद्देश्यमा केन्द्रित हुनुस्, मेहनत गर्नुस् र सानो कुराबाट सुरु गर्नुस्। परिवर्तन आफैबाट सम्भव छ,' आधा घन्टाको कुराकानीलाई बिट मार्दै सन्तुष्ट भावमा बोनिताले भनिन्, 'आजैदेखि आफ्नो समुदाय अनि देशका लागि सोच्न थालौं।’