बर्ड फ्लु एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने रोग हो। इन्फ्लुएन्जा भाइरस ‘ए’ ‘बी’ ‘सी’ ‘डि’ हुन्छ। इन्फ्लुएन्जा ए अन्तर्गत एच५एन१ लाई नै बर्ड फ्लु भनेर चिनिन्छ।
यसले कुखरा, चरा लगायतका पक्षीहरुमा संक्रमण गर्ने भएकाले बर्ड फ्लु भनिएको हो। यो नेपालमा विगत केही वर्षदेखि देखिँदै आएको छ।
यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमको हानिकारण जीवाणु जन्मन्छ, जनु पक्षीबाट मानिसमा सर्छ।
बर्ड फ्लु मानिसमा लाग्दा अन्य फ्लु लागेको जस्तै लक्षण देखिन्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा अवरोध आउनसक्छ। पखला पनि लाग्नसक्छ। यदि यो समस्यालाई समयमा नै उपचार गर्न सकिएन भने निमोनिया हुने, विभिन्न अंगमा असर गर्नेदेखि बिरामीको मृत्युसमेत हुनसक्छ।
पक्षीबाट मानिसमा सर्ने भनेको दुर्लभ नै हो। एच५एन१ को कुरा गर्ने हो भने सन् १९९७ मा मानिसमा पहिलो पटक हङकङमा देखिएको थियो। त्यसपछि अन्य देशमा पनि देखियो। धेरै मानिसलाई एकै पटक देखिएको छैन।
विश्व स्वास्थय संगठनको तथ्यांक हेर्ने हो भने भियतनाम, कम्बोडिया, मलेसिया, थाइल्याड लगायत दक्षिणपूर्वी देशहरुमा अलि बढी मात्रमा देखिएको छ। त्यो सँगसँगै मध्यपश्चिमी देशहरु इराक, इजिप्टमा पनि देखिएको छ।
दक्षिण एसियाली देशमा हेर्दा सन् २००७ मा पाकिस्तानमा पहिलो पटक एच५एन१ देखिएको थियो। सन् २००८ मा बंगलादेशमा देखियो। त्यसपछि बर्ड फ्लुले मानिसको मृत्यु भएको खासै छैन। नेपालको कुरा गर्दा २००९ मा पहिलो पटक कुखुरामा बर्ड फ्लु लागेको भेटिएको थियो। त्यसपछि हरेक वर्ष देखिएको छ।
के बर्ड फ्लु मानिसबाट मानिसमा सर्छ?
बर्ड फ्लु मान्छेबाट मान्छेमा सर्ने सम्भावना धेरै कम छ। तर, आजको मितिसम्म मनिसबाट मानिसमा सरेको बलियो प्रमाण छैन।
विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने शंका प्रशस्त भएका छन् तर त्यसको आधिकारिक रुपमा पुष्टि भने अहिलेसम्म भएको छैन।
भविष्यमा भने नसर्ला भन्न सकिने स्थिति छैन। त्यसतर्फ नीति निर्मातादेखि वैज्ञानिकहरुले समेत विषेश चासो राख्दै सजगता अपनाएको देखिन्छ। यसको अनुसन्धान पनि व्यापक भएको छ।
बर्ड फ्लुबाट मानिसको मृत्युदर भने ५० प्रतिशतभन्दा बढी देखिन्छ।
कसलाई जोखिम?
कुखुरा लगायतका पक्षी पालक कृषकदेखि ओसारपसार गर्ने, कुखुरा किन्न बजारमा घरीघरी गइराख्ने, कुखुरा मार्ने जुन समूह छ, यिनीहरु उच्च जोखिममा हुन्छन्। अनुसन्धानका लेखहरु पढ्ने हो र मृतकको बारेमा बुझ्ने हो भने कुखुरा बजारमा गएपछि संक्रमण फैलिएको देखिन्छ।
यस बारेमा गहन रुपमा अध्ययन गर्ने हो भने, कृषकलाई मात्र होइन, जो कुखुरा तथा पक्षीसँग निकट भएका हुन्छन् उनीहरुलाई पनि सर्ने सम्भावना धेरै हुन्छ। उनीहरुलाई जनचेतना दिइयो भने फैलने सम्भावना कम हुन्छ।
नेपालमा बर्ड फ्लु भयो त भनिएको छ तर अहिलेसम्म खासै चासो देखाइएको छैन। अहिलेको भन्दा धेरै जनचेतना फैलाउन जरुरी छ। विशेष गरेर कृषक केन्द्रित भएर जनचेतना जगाउनुपर्ने हुन्छ। र, कुखुराको नजिक रहने अरु वर्गलाई पनि जनचेतना मूलक तामिम प्रदान गर्नुपर्छ।
नेपालमा बर्ड फ्लु भए÷नभएको पुष्टि गर्न नसक्ने भन्ने होइन। त्यो पिसिआरबाट नै गर्ने हो तर कहिलेकाहीं गहन केस छ भने अझ उच्च प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने हुन्छ।
कुखुराको मासु खान मिल्छ कि मिल्दैन?
मासु खान मिल्छ तर बुझ्नुपर्ने कुरा के हो भने बर्ड फ्लुको भाइरस ७२ डिग्री सेल्सियसमा मर्दो रहेछ । त्यसैले हामीले पकाएको खानेकुरा १०० डिग्रीसम्म पुगेको हुनुपर्छ। १०० डिग्रीसम्म पकाएको खानेकुरा खान मिल्छ। तर, मासु काट्ने, बोक्ने तथा पकाउने समयमा भने विशेष ख्याल गर्न आवश्यक छ।
हाम्रो खाना विदेशीको खानाभन्दा फरक छ। विदेशतिर आदि पकाएको खानेकुरा खाने प्रचलन छ। नेपालमा धेरै पकाएर खाने भएकाले मज्जाले खान सकिन्छ। जसले कुखुरा काट्छ, ऊ जोखिममा पर्छ। त्यसकारण काट्ने समयमा विशेष ख्याल गर्नुपर्छ।
उनीहरुकोमा आउँदा जीवित कुखुरा नै ल्याइएको हुन्छ। सुली, प्वाँख काट्नुभन्दा अगाडि नाक, मुख, आँखाबाट निस्कने ¥याल शरीरमा पर्नसक्छ। त्यो कारणले गर्दा काट्नेहरुले ध्यान दिनुपर्छ । मासु र अन्डा राम्रोसँग पकाएर खायो भने केही फरक पर्दैन।
बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित पक्षीहरु दस दिनपछि मर्न थाल्छन्। यस्ता पक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।
बर्ड फ्लुबाट कसरी बच्ने
– रोगग्रस्त पक्षीबाट जोगिनु नै उत्तम उपाय हो
– कुखुरा लगायत पक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने
– घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने
– कुखुरा लगायत पक्षीहरुको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने
– संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने