'महेन्द्र राजमार्गमा धागो ताने जस्तो सिधा र सम्म बाटो छ,' नेपालकै पुरानो पञ्च अष्ट नारायण साइकल पसल पुग्दा त्यहाँका सञ्चालकले हामीलाई यात्राका लागि यसरी हौस्याए।
हुन त बितेको एक वर्ष मेरा दैनिकी पनि राजमार्गको सम्म र सिधा रुपमै बित्यो। न कुनै उबडखाबड न त कुनै टर्निङ। उतारचढावबिनाको जीवन के जीवन! एमबिबिएस अन्तिम वर्षको परीक्षाले जीवनका लगभग सम्पूर्ण रङहरु खुइल्याएर फुस्रो तुल्याइदिएको थियो।
अहिले सम्झँदा पनि कहाली लाग्छ। ३ सय ३३ दिनसम्म लगातार हरेक दिन एउटै रुटिन। बिहान जुरुक्क झिसमिसेमा उठ अनि आँखा मिच्दै दौडेर लाइब्रेरी पुग। दिनभरि किताबका ठेलीहरुसँग साउती मार्दै रमाऊ। राति १२ बजे लाइब्रेरी बन्द भएको जनाउसँगै निद्राले टिलपिल भएका आँखा अनि निद्रैले लरबराएका खुट्टाको अन्दाजै अन्दाजमा खाटसम्म आइपुग। भोलि फेरि एकाबिहानै भालेको डाकसँगै उठ्ने बाचाका साथ झुपुक्क निदाऊ।
खाना, खाजा अनि ट्वाइलेट जाने समय भन्नु नै जीवनमा सबैभन्दा लामा ब्रेकहरु हुन्थे। लाइब्रेरीका कुर्सीमा यसरी जमेर बसिएको थियो मानौं एकैछिन पनि उठेर बाहिर निस्कदा ती कुर्सीहरु पुलकित भएर लामो सुस्केरा हाल्दथे। साँच्चै जीवन यति सिधा र सम्म बनिसकेको थियो कि, किताबका पन्नामा छापिएका इसिजीका बांगाटिंगा धर्साहरु हेरेरै हामी रोमान्चित हुन्थ्यौं।
अन्ततः तिनै धर्साहरुले जीवनमा केही बांगोटिंगो नियाल्ने गर्ने सोच जन्मायो।
छेउमा पढिरहेको सागर एकाएक पुरै युरेका स्टाइलमा भन्न थाल्यो, 'जाँच सकिएपछि मेची-महाकाली साइकल यात्रा गर्नुपर्छ यार।' जसरी पहिलोपटक पुष्कर शाहले साइकलमा विश्व भ्रमण गर्ने योजना सुनाउँदा, पुष्करेलाई छ्याङ लागेछ भनेर उनका साथीहरुले अट्टहास गरेका थिए, लगभग सागरको योजनाले पनि त्यस्तै नियति भोगिसकेको थियो।
अचानक अलिपरको टेबलमा बसेको दिवाकरले कान ठाडो बनायो। त्यसपछि त एक्लै भए पनि यात्रा गर्ने अठोट गरेको सागरको योजनाले साथ पायो। केही समयपछि योजनामा म पनि जोडिएँ। त्यसपछि भने हामीले समावेश गर्न चाहेका थुप्रै साथी कोही समय अभावका कारण, कोही घरायसी उल्झनले त कोही योजनाप्रतिकै अविश्वासका कारण छुट्न पुगे।
प्रसिद्ध अफ्रिकन भनाइ छ, 'इफ यू वान्ट टु गो फास्ट गो अलोन बट इफ यू वान्ट टु गो फार गो टुगेदर।' अर्थात् यदि तिमीलाई चाँडै जानुछ भने एक्लै जाऊ तर टाढा जानुछ भने सबैलाई साथ लिएर सँगै जाऊ।
हामीलाइ टाढा जानु थियो। त्यसैले पनि धेरै जनालाई हाम्रो योजना सुनाइरह्यौं। मसहित सागर र दिवाकर त यात्रामा थियौं नै। मेची महाकालीको मध्यबिन्दुबाट चौथो यात्री प्रकाश शर्मा पनि जोडिन आइपुगे। यसरी तीन जनाले मेची पुलबाट सुरु गरेको यात्रा महाकाली पुगेर चार भाइले टुंग्यायौं।
OOO
फागुन २ गते।
पूर्वी सहर झापाको बिर्तामोडमा टन्टलापुर घाम लागेको थियो। दिउँसो १२ बजेको चर्को घामले हाम्रा ललाटमा पसिना उमारिसकेको थियो। साइकलमा झुन्ड्याउने फ्लेक्स बनाउन बजार पुग्दा यात्राको सुरुवातमै साह्रै न्यानो अभिवादन पाइहालियो। पसिनाले गन्जी त लुथ्रुक्कै भिजेछ। तर हामी यस्तै घामपानी, हावाहुरी अनुभव गर्न त हिँडेका, हच्किने कुरै भएन। फेरि दिउँसो ३ बजे मेची पुल पुगेर यात्राको श्री गणेश जो गर्नु थियो।
'तपाईंहरुको नारा चाहिँ के हो?' फ्लेक्स डिजाइन गर्ने दिदीले सोध्नुभयो।
तीन जनाकै मुखबाट एकैपटक निस्कियो, 'स्वास्थ्यका लागि साइकल।'
तर यो संयोग भने थिएन। यात्राको उद्देश्य र नारा पनि तिनै लाइब्रेरी बसाइका पट्यारलाग्दा दिनहरुमै हामीले सोचिसकेका थियौं।
अन्तिम परीक्षाको तयारी गरिरहँदा हामीले बुझिसकेका थियौं- डाक्टरको पगरी त्यसै आउँदैन। त्यो सँगसँगै समाजप्रतिको जिम्मेवारी पनि साथसाथै जोडिएर आउँछ। तसर्थ डाक्टर बन्दा नबन्दै सानै भए पनि आफूले सकेको केही गरौं भनेर यात्राको सटिक उद्देश्य बनायौं– स्वास्थ्यका लागि साइकल।
यसबाहेक साइकलको प्रवर्द्धन गर्दै स्वच्छ हराभरा सहर अनि देशका विभिन्न ठाउँलाई चिनाउँदै पर्यटनलाई टेवा पुर्याउनु हाम्रो उद्देश्य थियो। यतिन्जेल हाम्रो गन्थन सुनिरहनुभएकी डिजाइनिङकी दिदीले भन्नुभयो, 'अहो तपाईंहरुको त यात्रा होइन अभियान रहेछ, नाम फेरौं मेची-महाकाली साइकल अभियान राखौं।'
'होइन होइन दिदी, अहिलेलाई यात्रा नै राखौं। हामी यात्री हौं। अरुलाई सुनाउनुभन्दा अरुका धेरै कुरा सुन्नुछ।'
OOO
राइट ब्रदर्सले पहिलो पटक हवाईजहाज बनाइरहँदा एकथरी मानिस भन्ने गर्थे– यो उड्नै सक्दैन। जब हवाईजहाज उड्यो, तिनै मानिसले फेरि भने– उड्न त उड्यो तर यो रोकिँदैन।
यात्राको योजना बन्दै गर्दा धेरैले भन्थे– सुरु त गरेर देखाओ अनि पत्याऊँला। धेरै लामो गन्थन मन्थन अनि रस्साकस्सीपश्चात् फागुन २ अर्थात् फेब्रुअरी १४ का दिन तीन जना तीन साइकलसहित मेची पुलमा पुग्दा छाती ढक्क फुलेको थियो। हामीलाई देखेर जम्मा भएका एक हुल मानिसले त्यहाँ फेरि भने, 'भाइहरुले सुरु त गर्नुभयो, महाकालीसम्म साइकलमा पुग्न सकिएला त?'
यही प्रश्नको उत्तर खोज्न तीन भाइले नै एकैपटक साइकलको पाइडल चलायौं, दिनको ठिक ३ बजे देशको पूर्वी सिमाना काँकडभिट्टाबाट।
OOO
बटौलीको फुल्की हजुर भद्रपुरको भक्का
मुस्कुरायौ जब तिमी मैले सम्झे पक्का
भक्का बनाउने उर्मिला काकी उमेरले ८० वर्षकी हुनुहुन्थ्यो। बिर्तामोडमा बसेर उहाँले भक्का बनाउन थाल्नुभएको ठ्याक्कै यति भयो भनेर त भन्न सक्नुभएन तर त्यतिखेर राजमार्ग वरपर जंगल मात्रै थियो रे। यसरी घरहरु बनेका थिएनन् रे। भर्खर विवाह गरेर आएदेखि भक्का बेच्न थालेको काकीको उमेर भक्काको बाफसँगै फुस्सफुस्स उडेर गयो।
अहिले छोराछोरी हुर्किए , सक्षम पनि भए। यो उमेरमा भक्का बेच्नु बाध्यता त होइन तर भक्कासँग उनको आत्मासम्मान जोडिएको छ। 'भक्का हाम्रो राजवंशीहरुको सान हो, बरु साइकल चलाउँदै जाँदा देशैभरि भनिदिनोस् न- भक्का खाए झन् स्वस्थ भइन्छ भनेर,' उर्मिला काकी मुस्कुराइन्। सायद यो उमेरमा पनि त्यो स्फुर्ती अनि त्यति मिठो मुस्कानको रहस्य पक्का पनि भक्का नै हुनपर्छ।
माई खोलाको तीरैमा बसी...
बिहानीको भक्काले हामीलाई झापा जिल्लाकै अर्को प्रसिद्ध तीर्थस्थल माईसम्म पुर्यायो। इलाम हुँदै झरेको माइखोला झापा आइपुग्दा कन्काई बन्दो रहेछ। नेपालकै दोस्रो लामो कन्काई पुलमा हामीलाइ स्वागत गर्न हाम्रै ब्याचका सरोज ताम्ली आइपुगिसकेका थिए।
'हैट मुले, हाम्रो माईमा चुर्लुम्म नडुबेसम्म त तिमीहरुको यात्रा नै पूरा हुँदैन हो,' उनले ठट्टा गरे।
माईमा डुबुल्की हान्ने भनी जोसिएका हामी खुट्टा डुबाउँदैमा मात्र चिसोले तर्सिहाल्यौं। त्यसपछि त के चाहियो र, सबैले एकै स्वरमा गुनगुनाउन थाल्यौं, 'माई, खोलाको तीरैमा बसी नछुटिने कसम खाको...।'
पचास हजारको साइकल
हरेक पचास पाइडल मार्दा नमार्दै दिवाकरले एउटा कुरो सुनाइहाल्थ्यो, 'मेरो त पचास हजारको साइकल।'
हुन पनि साइकल बेजोडकै थियो। बनावट र सहजताको हिसाबले हामी दुइको भन्दा विशिष्ट। त्यतिमात्र होइन सात समुन्द्रपारि बसेको साथीले 'मेरो पनि नेपाल घुम्ने ठूलो इच्छा थियो, पढ्न यता आइयो, मिलेन। मनग्गे घुमेर मेरो पनि इच्छा पूरा गरिदे है' भनेर उपहारस्वरुप पठाएको साइकल कम आँक्नु पनि त भएन!
दमक पुग्दा नपुग्दै पचास हजारको साइकल बीच बाटोमै पहिलो पटक पन्चर भयो। तीन भाइ मिलेर ट्युब फेर्यौं। त्यसपछि त के भयो कुन्नि पचास हजार भन्ने शब्द उच्चारण गरेपिच्छे नै साइकल पन्चर हुन थाल्यो। यो सिलसिला दाङको लमही पुगुन्जेलसम्म जारी नै रह्यो। त्यसपछि न त दिवाकरले पचास हजारको साइकल भनेर उच्चारण गर्यो न त फेरि टायर पन्चर नै भयो।
साइकल रहर होइन बाध्यता
तेस्रो दिन विराटनगरस्थित सन्देश प्रधानको घरबाट राम शंकरको गाउँ बिसनपुर पुग्दा ११० किलोमिटर साइकल चलाइएछ। रामको घरमा राम्रै गफ लगाइयो। यत्तिका दुरी एकै दिनमा चलाएकोमा मन पनि गदगद भएको थियो। भोलिपल्ट सबेरै रामले एउटा इन्डियन स्टाइलको पुरानो साइकल देखाउँदै भन्यो, 'म सानो छँदा, हरेक शुक्रबार बुवाले म र मेरो भाइलाइ इटहरीको स्कुलबाट घरसम्म यही साइकलमा ल्याउनुहुन्थ्यो।'
सुन्दै छाती ढक्क फुलेर आयो। इटहरीदेखिको दुरी लगभग सय किलोमिटर। त्यसमाथि एउटै साइकलमा तीन जना।' हामी साइकल चलाउनुपर्छ भन्ने सन्देश बोकेर हिँडेका, रामको बुबालाई थप अरु केही भन्न सकेनौं। यति चलायौं, उति चलायौं भनेर अघिल्लो दिन दिएका ठूलाठूला गफ सम्झेर आफैलाई लाज लाग्यो।
हामीले १५ दिनसम्म जहाँजहाँ साइकल चलायौं, त्यहाँ साइकल रहर नभई बाध्यता थियो। हरघरमा एक थान साइकल अनिवार्य जस्तै थियो। साइकल घाँसदाउरा, धनदेखि विद्या आर्जन सबैको माध्यम थियो।
अपने गड्डी अर फेमिली बहुत प्यारा हे सर...
कोसी ब्यारेज कटेर भर्खरभर्खर हाम्रो साइकल प्रदेश २ मा प्रवेश गरेको थियो। दिउँसोको टन्टलापुर घाम। टिलिक्क टल्किएको चिल्लो सडक। वरपर गजबका धानखेत। आँखाले देखेसम्मै सिधा र सम्म हाइवे। साइकल चलाउन बिछट्टै मजा आइरहेको थियो।
अलिपर हामीले एउटा रिक्सा जस्तै लाग्ने एउटा बहान देख्यौं। उक्त बहानमा पछाडि एक जना महिला बसेकी थिइन्। उनको काखमा दुई साना नानीहरु थिए। अगाडिबाट एक युवक सकिनसकी बहान चलाइरहेका थिए। तिनको पाइडलमा खुट्टा अनि मुख सँगसँगै जस्तो चलिरहेको थियो। पछाडि बसेकी ती महिला अनि साना नानी उनकै कुरा सुनेर गदगद थिए।
उक्त दृश्यले साह्रै लोभ्यायो। बातचित गर्ने हेतुले आफ्नो साइकल उनको नजिकै पुर्याएँ।
'दाइ, ए क्या चिज हे?'
'ए अपने गड्डी हे सर।'
'अच्छा कहाँ जा रहे हो?'
'सर, आज छुट्टी हे ना, इस लिए अपने गड्डी पर बिबी अर बेटियोंको कोसी ब्यारेज देखाने ले आए थे। बहुत इन्जोए किया।'
सहर बजारमा दौडने प्राडो र मर्सिडिज गाडी हुन्। जसमा ती युवकको भावना र माया जोडिएको छ, त्यो गड्डी हो। सायद गड्डीमा जुन ‘इन्जोए’ छ त्यो गाडीमा कहाँ?