'पुष्करेलाई बल्ल छ्याङ लागेछ।' पहिलो पटक साइकलबाट विश्व भ्रमण गर्ने पुष्कर शाहको घोषणालाई उडाउँदै एउटाले भन्यो।
फेरि अर्को बोलिहाल्यो, “बहुलाएछ यो।” तर उनी भने आफ्नो जीवनलाई विश्व साइकल यात्राको त्रिपिटक बनाउन चाहन्थे, बाइबल र कुरान बनाउन चाहन्थे। छ्याङले नमात्ने उनका ग्याङका साथीहरु त्यही माइतीघरको भट्टीमा इँटा थपिरहेका थिए। उनी भने निक्लिएँ विश्व भ्रमण गर्न, साइकलमा।
साइकलमा पनि विश्व भ्रमण गर्न सकिन्छ त? कसैले नपत्याउँदा-नपत्याउँदै पनि अन्ततः एघार वर्ष, चार हजार पन्ध्र दिन र दुई लाख एक्काइस हजार किलोमिटरको दूरी पार गर्दै पुष्कर शाहको साइकलले संसारलाई साँढे पाँच फन्को लगायो।
*****
कुनै जमानामा यातायातको सबैभन्दा विशिष्ट साधन रहँदै आएको साइकललाई अचेल भने विश्व बजारीकरण र आधुनिकीकरणसँगै हेयको दृष्टिले हेर्न थालिएको छ। सन् १८१७ मा जर्मन नागरिक कार्ल भोन ड्राइसले पहिलोपटक घोडाले नतानिकनै गुड्ने वस्तु बनाउँदा कत्रो उत्सव मनाइएको थियो।
साइकल भएको मानिसको कत्रो इज्जत रहन्थ्यो। यता बेलायतमा वर्षेनि आयोजना हुने साइकल प्रतियोगितामा आफ्ना छोराका लागि हावा भएको टायर बनाएर गुडाइदिँदा डनलपका छोराले अरु प्रतिस्पर्धीहरुलाई कता हो कता पछि पार्न सफल भएका थिए। यसरी क्रमिक रुपमा साइकलको स्वरुप र इन्जिनियरिङमा परिवर्तनहरु भइरहेका छन्।
नेपालमा भने साइकलको इतिहास त्यति लामो छैन। सन् १९२५ मा स्थापना भएको पञ्च अष्टनारायण साइकल पसललाई नै नेपालको पहिलो आधिकारिक साइकल बिक्रेता मानिंदै आएको छ। तर त्योभन्दा अघि नै तराईका विभिन्न जिल्लाहरुमा फाट्टफुट्ट साइकल देखा परिसकेको थियो। ती भूभागमा केही समय अघिसम्म पनि साइकल छोटो र मध्यम दूरीको यात्राका लागि एकमात्र यातायातको साधन थियो। तर समयसँगै साइकलको प्रयोगमा धेरै हदसम्म कमी आइसकेको छ।
यस्तै नियति १९६० को दशकमा साइकलको राजधानी मानिने नेदरल्यान्डले पनि भोगेको थियो। दोस्रो विश्वयुद्धपछि जब मानिसहरुको जीवनस्तरमा क्रमिक रुपमा सुधार हुन थाल्यो तब मानिसहरुले धमाधम साइकल त्यागेर कार किन्न थाले। लगभग काठमाडौं कै जस्तो भू–बनोट रहेको आम्सटरड्याम साइकलका लागि उपयुक्त सहर हुँदाहुँदै पनि १९६० पछिका दिनमा साइकल अलोकप्रिय बन्दै थियो।
साइकलको संख्या घटेसँगै आम्सटरड्याममा तीन प्रमुख समस्याहरु देखिन थाले। सहरमा मस्तिष्कघात र हृदयघातका बिरामीहरुको संख्या बढ्यो। देशले आफ्नो अर्थतन्त्रको गतिलो हिस्सा तेल आयातमा खर्च गर्न थाल्यो। अनि पेट्रोल, डिजल र मट्टितेलको प्रयोगसँगै सुन्दर सहर एकाएक प्रदूषित बन्न थाल्यो।
तर नेदरल्यान्ड साँच्चै साइकल युगमा प्रवेश गरेको चाहिं सन् १९७१ र ७३ का दुई घटनाले नै हुन्। सडक दुर्घटनमा परी एकै वर्षमा ४ सय भन्दा बढी बालबालिकाको मृत्यु भइसकेपश्चात् “स्टप चाइल्ड मडर” अर्थात् बालबालिकाको हत्या बन्द गर भनी स्थानीय जनता प्रदर्शनमा उत्रन थाले।
त्यस्तै इजरायललाई युद्धमा सघाएको आरोपमा, साउदी अरबले नेदरल्यान्डमाथि नाकाबन्दी लगायो। दिनानुदिन हुने प्रदर्शन र तेलमा भएको नाकाबन्दीले आजित भएका डच प्रधानमन्त्रीले सन् १९७३ मा विशेष सम्बोधनमार्फत आफ्ना जनतालाई जीवनशैली नै परिवर्तन गर्न आह्वान गरे। फलस्वरुप, नेदरल्यान्ड पुनः साइकल सिटीमै रुपान्तिरित भयो।
आजका दिनमा, आठमध्ये सात डच नागरिक साइकल चलाउँछन्। बाइस हजार माइल त साइकल चलाउनकै लागि भनी बनाइएका साइकल पाथ रहेका छन्। त्यहाँका प्रधानमन्त्री मार्क रुटे साइकलमै चढेर राजदरबार पुगेको अनि कार्यालय जान आउन नै साइकल प्रयोग गरेका तस्बिरहरु बेलाबखत भाइरल हुने गरेका छन्।
नेदरल्यान्ड मात्रै होइन डेनमार्क, स्विडेन , नर्वे , बेलायत लगायतका विभिन्न युरोपियन देशहरुले साइकलको फाइदा बुझी सक्दो आफूलाई साइकल सिटीमा रुपान्तरित गराइरहेका छन्।
स्वास्थ्यका लागि साइकल
सन् २०१४ मा प्रकाशित विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालामा हुने कुल मृत्युको ६० प्रतिशत कारण नसर्ने रोगहरु रहेका छन्। त्यसमा पनि डाइबेटिज, मुटुको रोग, क्यान्सर, दम प्रमुख चुनौती बनिरहेका छन्। अझ परिवर्तित खानपिन र जीवनशैलीका कारण युवावर्ग नै उच्च रक्तचाप र मधुमेहको जोखिममा पर्न थालेका छन्।
यस्तो अवस्थामा साइकलका विभिन्न फाइदाहरुलाई अङ्गिकार गर्दै यसको प्रवर्धन गर्नसके अकालमा हुने त्यस्ता मृत्यु केही हदसम्म भए पनि न्यूनीकरण गर्न सकिन्थ्यो कि।
मानसिक स्वास्थ्यमा सुधार
प्रसिद्ध साइकल यात्री ग्रायम ओब्री डिप्रेसनको शिकार भएका थिए। भनिन्छ तीन पटकसम्म त उनले आत्माहत्याकै प्रयास गरे। तर उनका अनुसार अन्ततः साइकलकै कारण उनले पुनर्जीवन पाए। हुन पनि साइकल चलाउँदा निस्कने ‘इन्ड्रोफिन’ र ‘एड्रिनालिन’ जस्ता हार्मोनले मस्तिष्कमा सही र सकारात्मक परिवर्तहरुको सञ्चार गराउँछन्।
एक अध्ययनका अनुसार, दैनिक तीस मिनेटको साइकल यात्राले मानिसको स्मरणशक्ति, सोच्न सक्ने र योजना बनाउन सक्ने क्षमतामा व्यापक वृद्धि गराउँछ। साइकलले आत्मविश्वास बढाउँछ। यति मात्र नभएर यदि तपाइँ ‘इन्सोम्निया’ अर्थात निद्रा नपर्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने पनि साइकल यात्राले त्यसमा धेरै सहयोग पुर्या उने विभिन्न अध्ययनहरुले देखाएका छन्।
मोटोपनको अचुक औषधि साइकल
एक घण्टाको साइकल यात्रामा करिब ४ सयदेखि हजार क्यालोरी कार्बोहाइड्रेट नष्ट हुन्छ। यसको अर्थ के हो भने यदि तपाइँ नियमित रुपमा साइकल चलाउनुहुन्छ भने खानपानमा उति साह्रो पथपरेज नलगाई पनि आफ्नो तौल घटाउन सक्नुहुनेछ। अझ महत्वपूर्ण कुरा त के छ भने, उति नै समय हिँड्ने र साइकल चलाउने दुई बीचमा, हिँड्ने मानिसको तुलनामा साइकल चलाउने मानिसले लगभग दुई गुणा ज्यादा क्यालोरी नष्ट गर्न सक्छ। हिँड्दाभन्दा दौडँदा र दौडँदाभन्दा साइकल चलाउदा चाँडो तौल घटाउन सकिन्छ।
साइकलको तुलनामा हिँड्दा वा कुद्दा शरीरको अतिरिक्त भार घुँडा र कुर्कुच्चामा पर्ने हुँदा तौल घटाउनका लागि कुद्नु भन्दा साइक्लिङ गर्नु थप फाइदा जनक मानिन्छ।
यस्तै साइक्लिङ गर्दा पेटका मांसपेशीमा थप बल पुग्ने हुँदा, घटाउन सबैभन्दा गार्हो मानिने 'एबडोमिनल फ्याट' अर्थात पेटको बोसो सजिलै पग्लन्छ।
मुटु रोगको जोखिम कम गर्न साइकल
ग्लास्गो युनिभर्सिटिले झन्डै झन्डै पाँच वर्ष लगाएर करिब दुई लाख साठी हजार जनामा गरेको अध्ययनले दैनिक रुपमा साइकल चलाउने व्यक्तिहरुमा मुटु रोगको जोखिम पचास प्रतिशतले कम हुने तथ्य बाहिर ल्याएको छ। सन् २०१८ को ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित सो अध्ययनले सहरी क्षेत्रमा तसर्थ साइकलको प्रयोग व्यापक रुपमा बढाउनु पर्ने कुरा पनि औँल्याइएको छ। साइकल चलाउँदा मुटुको धड्कन र रक्त सञ्चार दुवै सन्तुलनमा रहन्छन् जसले समग्र रक्त प्रणालीलाइ नै ठिक राख्न मद्दत पुर्यारउँछ।
यति हुँदा–हुँदै पनि लामो समयसम्म निरन्तर साइकल चलाउने कसैकसैमा भने मुटुको आकार ठूलो भई ‘सडेन कार्डियाक अरेस्ट’ अर्थात अचानक मुटु बन्द हुने जोखिमपूर्ण अवस्था पनि देखिएको छ। तर साइकलले मुटुलाई पुर्याुउने फाइदाका तुलनामा यस्ता यदाकदा घट्ने जोखिमहरु नगन्य नै हुन्छन्।
स्वस्थ फोक्सोका लागि साइकल
साइकलले दुई तरिकाले हाम्रो फोक्सोलाई फाइदा पुर्यामउँछ। पहिलो त साइकलका कारण कम हुने वातावरणीय क्षति र प्रदूषणले फोक्सोलाई सफा र स्वस्थ राख्न मदत गर्दछ। भनिन्छ गाडीको प्रयोग छाडेर प्रत्येक दिन दस किलोमिटर मात्रै पनि साइकलमा आवतजावत गर्ने हो भने प्रतिव्यक्ति बराबर एक वर्षमा १५ सय किलो कार्बन उत्सर्जन कम हुनेछ। साइकलको प्रयोगले इन्धनको खपतमा कमी आउनुका साथै धुवाँ, धूलो र प्रदुषण व्यापक रुपमा कम हुनेछ।
दोस्रो भनेको साइकल चलाउँदा फोक्सोमा हुने रक्तसञ्चार र श्वासप्रश्वासले पनि यसलाई स्वस्थ राख्न मद्दत पुर्याषउँछ।
जिमको विकल्प साइक्लिङ
स्वस्थ अनि स्फूर्त रहन साथै फिट देखिनका लागि अहिले ठूलो संख्यामा युवा जमात जिम सेन्टरहरु धाउने गरेका छन्। कुनै कारणवश यदि तपाइँ जिम गर्न असमर्थ रहँदै आउनु भएको छ भने त्यसको भरपर्दो विकल्प साइक्लिङ हुनसक्छ।
साइकलको नियमित प्रयोगले तौल घटाउनुका साथै मांसपेशी र हड्डीको सन्तुलित विकासमा सहयोग गर्छ। विशेषगरी पेडलिङ गर्दा खुट्टामा र ओरालो झर्दा हातमा बल पुग्ने हुदाँ साइक्लिङ गर्दा मांसपेशी कसिलो, सार्हो र मोटो बन्दछ।
त्यस्तै साइकल चलाउँदा, मासंपेशीले हड्डीलाई तान्ने हुदाँ यसले "बोन डेन्सिटी" बढाउन पनि मद्दत गर्दछ। समग्र रुपमा हड्डीको विकासमा पनि साइक्लिङले टेवा पुर्याशउँछ।
यी बाहेक पनि मस्तिष्कघातमा (स्ट्रोक) कमी आउने, मानिसको 'न्याभिगेसन स्किल' अर्थात भूगोललाई बुझ्न सक्ने क्षमतामा वृद्धि हुने, तार्किक क्षमता बढ्ने, यौन क्षमतामा वृद्धि हुने आदि फाइदाहरुबारे विभिन्न अध्ययनहरु भएका छन्। यसका अलावा पनि रिसर्च नभएका साइकलका अनेकौं फाइदाहरु छन् जसबारे विस्तृत अध्ययन र खोज हुन बाँकी नै छ।
मेची-महाकाली साइकल यात्रा
साइकलका यिनै फाइदाहरुलाई जनमानसमा पुर्यातउन अझ अहिलेका युवाहरुलाई साइकलतर्फ थप आकर्षित गर्न हामीले एउटा कठिन साइकल यात्रा गर्ने योजना बनाएका छौँ। "स्वास्थ्यका लागि साइकल" भन्ने प्रमुख नारासहित मेची पुलबाट प्रारम्भ गरिने यात्रा महाकाली पुलमा पुगेर समापन गर्ने योजना रहेको छ।
पुष्कर शाहले शान्तिको सन्देश बोकी साइकलमै विश्व भ्रमण गरे। जम्मा तीन वटा साइकल, दुई सय सत्तरी वटा टायर, एक सय पन्चानब्बे वटा ट्युब, एक सय चालीस वटा चेन, छब्बीस जोडी प्याडल, चौध वटा हेल्मेट र त्रिपन्न जोडी पन्जा फेरेरै भए पनि उनले विश्व भ्रमण गरिछाडे।
हामीले त यो भन्दा साह्रै सानो सोचेका छौँ। मात्र केही सय युवालाई साइकलप्रति आकर्षित गर्न सकियो भने पनि देशमा दिनानुदिन बढ्दै गएको दीर्घरोग त्यही सयको हाराहारीमा भए पनि कम गर्न सकिन्थ्यो।
झन भविष्यमा प्रमुख सहरहरुलाई नै साइकल सिटी बनाउन सकियो भने त "सफा, सुन्दर र स्वस्थ" नेपाल बनाउने सबैको चाहना पनि पूरा हुने थियो।