काठमाडौं– अफगानिस्तानमा चोरी आतंक मच्चाइरहेका थिए, चार्ल्स शोभराज। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएका उनी इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाइल्यान्ड पुगे। त्यहाँ त उनले तीन जना पर्यटकको हत्या नै गरे।
तिनै पर्यटकको पासपोर्ट बोकेर नेपाल छिरेका थिए शोभराज। त्यसअघि उनले भारत र मलेसियामा आपराधिक सञ्जाल बिस्तार गरिसकेका थिए।
उनले विभिन्न देशमा गरी २० भन्दा बढी व्यक्तिको हत्या गरेको बताइन्छ।
— OOO —
बिकिनी किलरका रूपमा कुख्याती कमाएका चार्ल्स शोभराज अहिले केन्द्रीय कारागारको गोलघरमा बन्दी जीवन बिताइरहेका छन्।
२०६० सालमा काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको थियो। अहिले उनको धेरैजसो समय अस्पताल आवतजावतमै बित्ने गरेको छ।
मुटुको बिरामी शोभराजले मुटुको शल्यक्रियासमेत गरिसकेका छन्। मुटुको भल्वले कामै गर्न छाडेपछि एउटा भल्व फेरिएको छ भने अर्कोको उपचार भइरहेको छ। उनको गत वर्ष गंगालाल अस्पतालमा डा रामेश कोइरालाको टिमले शल्यक्रिया गरेका थिए। शल्यक्रियापछि डा रामेशले 'हो, उनीसँग मुटु रहेछ! मैले त्यसभित्र भल्भ फिट गरेको छु र उनी खतरामुक्त छन्।’ भनेर ट्विट गरेका थिए।
शोभराज दमका रोगी पनि हुन्। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो।
उमेरले पनि सात दशक पार गरिसकेका शोभराज बिरामी परिरहनु सामान्य नै भएको जेलर वेदनिधि अधिकारी बताउँछन्।
२०६० सालदेखि बन्दी जीवन बिताइरहेका शोभराजको उपचार खर्चका लागि राज्यले ठूलै लगानी गर्नुपरेको छ। अहिलेसम्म राज्यबाट मात्रै १४ लाख रुपैयाँभन्दा बढी उपचारमै खर्च भइसकेको जेलर अधिकारीले बताए। उनले बन्दी जीवन बिताएकै १४ वर्ष पुगिसकेको छ। यसरी हेर्दा शोभराजको उपचारका लागि राज्यले हरेक वर्ष एक लाख रुपैयाँको दरले खर्च गर्दै आएको छ।
यसबाहेक अन्य निजी अस्पतालमा शोभराजकै आग्रहमा पनि उपचार भइरहेको छ। निजी अस्पतालको उपचार खर्च भने शोभराज आफैंले तिर्दै आएका छन्। निजी अस्पतालका लागि राज्यले तिरेभन्दा झन्डै दोब्बर रकम शोभराज आफैंले तिरेको प्रशासनले जनाएको छ। अहिले भने शोभराजको स्वास्थ्य अवस्था ठिक भएको कारागारले जनाएको छ। उनी अन्य कैदीसँग खासै बोल्दैनन्। सोधेको कुराको जवाफ मात्रै फर्काउँछन्।
निहिता भेट्न आउँदिनन्
शोभराज जेल परेपछि प्रेमिका निहिता विश्वास उनलाई भेट्न आइरहन्थिन्। मुटुको शल्यक्रियापछि भने उनी नआएको कारागार स्रोतले जानकारी दियो।
शल्यक्रियाका बेला निहिता उनकी आमा शकुन्तला थापासहित गत वर्ष जेठमा बाँसबारीस्थित गंगालाल अस्पतालमा पुगेकी थिइन्। त्यस क्रममा उनी आफैले रगत दिएकी थिइन्। थप रगत चाहिने र त्यसका लागि ८० हजार रुपैयाँ आवश्यक पर्ने भएपछि उनी अस्पतालमै रोएकी थिइन्।
त्यसपछि भने उनी फर्केर कारागार पुगेकी छैनन्। निहिता आउन छाडी भन्दा आफूलाई असहज महसुस हुने भएकाले शोभराज भने 'भेट्न आउने गरेको' बताउँछन्।