कुरा गरौं संसारकै सबैभन्दा लोकप्रिय उपभोग्य वस्तु, मोबाइलको। मोबाइल अचेल मानिसलाई नभई नहुने साधन हो। बिहान उठेदेखि राति नसुतेसम्म मोबाइल नै साथी हुन्छ। यहीकारण मानिसहरु बिछ्यौनामै मोबाइल राखेर सुत्छन्। अफकम नामक संस्थाले गरेको अध्ययनअनुसार आधाभन्दा बढी मोबाइल प्रयोगकर्ताहरु मोबाइललाई अलार्म घडीको रुपमा प्रयोग गर्छन्।
अनुसन्धानकर्ताका अनुसार विछ्यौनानजिकै मोबाइल राख्नु हानिकारक हुन्छ। यसले अनिद्रा र सुताईसंबन्धी समस्या निम्त्याउन सक्छ। मोबाइल बेडमै राखेर सुत्दा रिङगटा लाग्ने र टाउको दुख्ने पनि हुन सक्छ।
यस्तै, मोबाइलको अर्को समस्या भनेको यसले निकाल्ने प्रकाश हो। यसले शरीरको प्राकृतिक गतिलाई अवरोध गर्छ र दिउँसोको समय हो कि भन्ने भ्रम शरीरलाई पैदा गराउँछ। फोन, ट्याब्लेट आदिबाट आउने निलो प्रकाशले आँखालाई झन् बढी असर गर्छ।
रेटिनाहरु निलो प्रकाशका लागि बढी सेन्सिटिभ हुन्छन्। यसको अर्थ सेतो प्रकाशमा पढेको भन्दा फोन र ट्याब्लेटमा पढ्दा अझ बढी सक्रिय रहनुपर्ने हुन्छ। त्यसैले विशेषज्ञहरु सुत्नुभन्दा दुईतीन घण्टा अघि फोन वा ट्याब्लेटको प्रयोग नगर्न सुझाव दिन्छन्।
टीभी स्क्रीनले पनि निलो प्रकाश फ्याँक्छन्, तर, त्यसको तुलनामा फोनको प्रयोग बढी संवेदनशिल हुन्छ, किनकी तिनीहरु आँखाको नजिक हुन्छन्। कहिलेकाही एक्कासी प्रकाश पर्दा हाम्रो आँखालाई असर पर्छ, जस्तो एक्कासी आएको मेसेज चेक गर्दा या फोन चेक गर्दा।