गत २५ देखि २९ भदौसम्म थापाथलीस्थित प्रसुतीगृहमा अपरेशन गरी बच्चा निकालिएका नौवटा सुत्केरी आमाहरू एकाएक संकटमा परे। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, मुन्टो बटारिने, लठ्याउने सुई दिएको ठाउँ ढाडमा दुख्ने, उच्च ज्वरो आउने, थरथरी काम्ने, छट्पटी हुने, आँखा धमिलो हुने, बेसुरका कुरा गर्ने जस्ता डरलाग्दा समस्या देखिए। अस्पतालका डाक्टरहरूले कडा एन्टिबायोटिक र दुखाइ कम गर्ने इन्जेक्सन दिँदै गए। तर सुत्केरी आमाहरूको अवस्था झन् बिग्रँदै गयो। त्यसपछि विरामीलाई उपचारका लागि निजी अस्पताल पठाउन थालियो। यस क्रममा दीपा थापालाई सिनामंगलको काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो।
दीपाको उपचारमा संलग्न डा. देवकुमार न्यौपानेले भने, ‘यहाँ रिसिभ गर्दा उहाँको गिदी सुन्निएर सबैतिर फैलिएको रिर्पोट पनि संगै पाएका थियौं। दिमागसम्म व्याक्टेरिया संक्रमण भएकै कारणले बिरामीको हालत विग्रिएको थियो।’ आमा र नवजात शिशुमा आइपर्ने समस्या र खतराको निदानको लागि ५४ वर्षअघि स्थापना भएको यो अस्पतालमा यसपटक आमा र नवजात शिशुको ज्यानै जाने गरी समस्या उत्पन्न भएको थियो। यो समस्या झन गम्भीर हुँदै थियो। तर प्रसूतीगृहको व्यवस्थापन पक्षले यसलाई सामान्य समस्या मानेर अपरेशन थिएटरमा एकाएक संक्रमण भएको भनी भदौ ३० देखि असोज १ गतेसम्म तीन दिनका लागि थिएटर बन्द गर्ने निर्णय गर्यो। रातारात वैठक गरेर ‘थप अनुसन्धान गर्ने’ निर्णय गरेको बिवरण पनि सार्वजनिक गरियो।
प्रसूतीको व्यवस्थापनले अपरेशन थिएटरमा प्रयोग भएको पञ्जा र अन्य उपकरणबाट संक्रमण फैलिएको बताएका थिए। तर त्यहाँ प्रयोग गरिएका सम्पूर्ण (३९ थरिका) औजार र उपकरणहरूको जाँच प्रसूतीगृहकै प्रयोगशालामा गर्दा उनीहरुले फैलाएको हल्ला गलत साबित भयो। यसैबीच अस्पताल प्रशासनले शल्यक्रियामा प्रयोग गरिएका सबैखाले औषधिहरू आफ्नो स्टोरबाट हटाउन थाल्यो। प्रसूतीगृहले यस्ता क्रियाकलाप गरिरहेको बेला असोज २ गते २४ वर्षीया सुत्केरी लता गुरुङको मृत्यु भयो। त्यसअघि एक नवजात शिशुको मृत्यु भयो। अर्की सुत्केरी दीपा थापामा मानसिक समस्या देखियो। बाँकी सुत्केरीहरू जटिल समस्यामा पर्न थाले।
अस्पतालको संवेदनहीनता
कलंकी, स्युचाटारकी लता गुरुङलाई प्रसूतीगृहले भदौ २८ गते मध्यरातमा शल्यक्रिया गरेको थियो, तर ४ घण्टा नबित्दै उनी बेहोस थिइन्। त्यसको भोलिपल्टै भदौ २९ गते प्रसुतीगृहले उनलाई तिनकुनेस्थित कान्तिपुर अस्पताल पठाइदिएको थियो। लताका पति सुमन केसीले भने, ‘भदौ २९ गते बिहान ५ बजेतिर नै लताको अवस्था नाजुक भैसकेको थियो। सास लिन गाह्रो भैरहेको देखेर म आत्तिएको थिएँ। तर त्यहाँ नर्स मात्र थिए। दिउँसो ३ बजेतिर डाक्टरहरू आए। मलाई केही जानकारी नदिइ विरामी निकालेर तिनकुनेको कान्तिपुर अस्पतालमा पठाइदिए। त्यसको चारदिनपछि असोज २ गते उनको त्यहीं मृत्यु भयो।
लताको उपचारमा संलग्न डाक्टर युवराज शर्माका अनुसार, कान्तिपुर अस्पतालमा ल्याइ पुर्याउँदा उनको ‘दिमागी अवस्था शून्य’ मा पुगिसकेको थियो। ब्लडप्रेसर र मुटुको धड्कन ज्यादै कम भैसकेको थियो।
यसैगरि भदौ २५ गते प्रसुतीगृहमा शल्यक्रिया भएको मकवानपुर, पालुङकी २० वर्षीया भगवती अमात्यको अवस्था पनि नाजुक हुन पुगेको थियो। अपरेशन गरेको पाँच घन्टापछि नै उनको अवस्था पनि संकटपूर्ण भएको थियो। उनलाई पनि प्रसुतीले सानेपास्थित स्टार अस्पताल पठाएको थियो। यनको अवस्था विग्रंदा उनको नवजात शिशुको भदौ ३० गते मृत्यु भयो।
उता, त्रिपुरेश्वस्थित ब्लुक्रस अस्पताल पठाइएकी २६ वर्षीय दीपा श्रेष्ठ एक हप्तापछि घर फर्किइन्। त्यसको पाँच दिनपछि, कार्तिक १३ गते उनको बच्चाको मृत्यु भयो। दीपाका जेठाजु राजेन्द्र श्रेष्ठ जो प्रसूति गृहले यही काण्डमा गठन गरेको छानबीन समितिका सदस्य पनि हुन्, भन्छन्, ‘आमा बाँचे पनि बच्चा बचाउन सकिएन।’ स्टार अस्पताल पुर्याइएकी २१ वर्षीया दिया श्रेष्ठ र ३७ वर्षीया चन्द्रकुमारी काफ्लेलाई अपरेशन गरेको घाउ पाक्ने, सुई लगाएको ठाउँ (ढाड) मा दुख्ने, टाउको दुख्नेजस्ता समस्याले सताइरहेको छ। दुवैजना डाक्टरहरूकहाँ धाइरहेका छन्।
चन्द्रकुमारीका श्रीमान अर्जुन काफ्ले भन्छन्, ‘प्रसुतीगृहमा हुँदा पीडाले यति छटपटाइन् कि डाक्टरहरूले बौलाहालाई झै चारै हातगोडा बाँधेर राखेका थिए।’
उपचारपछि घर फर्के पनि भगवतीको ढाड र टाउको दुख्ने समस्या गएको छैन। उनी आफ्नो बच्चा के कारणले मरेको हो भन्नेसम्म जानकारी नपाएकीले दुखी छिन्। प्रसूतीबाटै सिनामंगलस्थित काठमाडांै मेडिकल कलेजमा पठाइएकी भक्तपुरकी २४ वर्षीया दीपा थापालाई करीब एक महिना भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्यो। उनी बेसुरका कुरा गर्छिन्, बेलाबेलामा पागलपन आएर घरबाट भाग्ने गरेकोले ‘फलोअप’ का लागि नियमित अस्पताल लैजाने गरिएको छ। संगै लगिएकी २४ वर्षीया सपना पराजुली भने एकहप्ताको उपचारपछि घर फर्किइन।
कान्तिपुर अस्पतालमा पठाइएकी २८ वर्षीया सुशिला शर्मा र १९ वर्षीया बिन्दा घिमिरेलाई लामो समयसम्म उपचार गर्नु पर्यो।
दोष औषधिमा
प्रसुतीका सुत्केरीहरूले अस्पतालमा पाउनु परेको पीडाको रहस्य भने मंसीर ३ गते छानबिन समितिले प्रतिवेदन दिएपछि खुलेको छ। प्रतिवेदनले भनेको छ, ‘पीडितहरुको उपचारको क्रममा प्रयोग भएका औषधि तथा अन्य सामग्री गुणस्तरहीन थिए।’ समितिले औषधि खरिद प्रक्रिया ‘पारदर्शी गर्नू’ भन्ने सुझाव पनि दिएको छ। पीडितका आफन्तहरूले आवाज उठाएपछि प्रसुतीले त्यहींका डा. अमिरबाबु श्रेष्ठको संयोजकत्वमा ‘छानबिन समिति’ गठन गर्यो। यस समितिले असोज ७ गते त्यहाँ प्रयोग गरिएका ११ किसिमका औषधि परीक्षणका लागि औषधि व्यवस्था विभागमार्फत् राष्ट्रिय औषधि प्रयोगशाला पठाएको राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख मोहनप्रसाद अमात्यले बताए। उनले भने ‘हामीले ती औषधिहरू दुईहप्ता लगाएर परीक्षण गर्यौं। शंका लागेका नमूनाहरूको दोहोर्याएर समेत जाँच गरियो। त्यसपछि दुईवटा औषधिहरू र्यानिटिडिन इन्जेक्सन र अक्सिटोसिन ईन्जेक्सनमा कीटाणु र ढुसी रहेको तथा तिनलाई स्टेरायल नगरिएको पायौं। त्यही रिर्पोट हामीले प्रसुतीगृहलाई दिएका छौं।’
चिकित्सकको स्वीकारोक्ति
प्रसुतीगृहका एनेस्थेसियोलोजिस्ट (औषधिद्वारा निश्चित समयका लागि बेहोस गराउने) डा. छत्रकृष्ण श्रेष्ठले भने, ‘शल्यक्रिया गरिएका र समस्या देखिएका ती नौ जना सुत्केरी महिलालाई र्यानिटिडिन र अक्सिटोसिन इन्जेक्सन प्रयोग गरिएको थियो। उनले प्रष्ट पार्दै बताए, ‘र्यानिटिडिन इन्जेक्सन शल्यक्रियाका क्रममा दिइएका एन्टिबायोटिक औषधिको रियाक्सनबाट ग्यास्टिक नहोस् भनेर दिइन्छ भने अक्सिटोसिन इन्जेक्सन पाठेघरबाट हुने रक्तश्राव रोक्न दिइन्छ। प्रसुतीगृहले यी दुवै इन्जेक्सनहरु प्रयोग गरिआएको छ।’
तर प्रयोगशालाले यी दुवै औषधिमा कीटाणु र ढुसी फेला परेको प्रतिवेदन दिएको छ। विभागले ती औषधिका आयातकर्ताहरूलाई पनि बजारबाट ती ब्याच नं. का इन्जेक्सनहरू तुरून्त फिर्ता लिन पत्र पठाएको छ।
र्यानिटिडिन इन्जेक्सनको बालुवाटारस्थित आयातकर्ता ‘इन्जेक्सन नेपाल’ का अध्यक्ष शेषकान्त सुवेदीले भने, ‘औषधि व्यवस्था विभागले हामीले आयात गरेको ब्याच नं. एसआरए ११३ र्यानिटिडिन इन्जेक्सन कीटाणुयुक्त भएको र स्टेरायल नभएकोले फिर्ता मगाउन भनि हामीलाई पत्र पठाएको थियो। त्यसैको आधारमा हामीले सो ब्याचको इन्जेक्सन सबै फिर्ता मगायौं।’
त्यसैगरी अक्सिटोसिन नामक अर्को इन्जेक्सनको क्षेत्रपाटीस्थित आयातकर्ता ‘मिन्को फर्मास्युटिकल्स’ का प्रोपराइटर मृगेन्द्र श्रेष्ठले भने, ‘औषधि व्यवस्था विभागबाट ‘औषधिमा खराबी भएकोले बजारबाट फिर्ता मगाऊ’ भन्ने पत्र पाएपछि हामीले आयात गरेको ब्याच नं. ४०२ अक्सिटोसिन इन्जेक्सन करीब ‘८०० एम्पुल’ इन्जेक्सन बजारबाट फिर्ता गरिसकेका छांै।’ प्रसूतीगृहकी निर्देशक डा. शीला वर्माले भनिन, ‘मलाई यसबारेमा केही थाहा छैन, म केही भन्न सक्दिन।’ उता, प्रसूतिगृह विकास समितिका अध्यक्ष डा. श्यामसुन्दर मिश्र पनि आफूलाई ‘केही थाहा नभएको’ भनेर पन्छिए।
इन्जेक्सनबाट संक्रमण
समस्यामा परेका सबै सुत्केरी आमाहरुको ‘डिस्चार्ज शीट’मा शल्यक्रियापछि मेनेन्जाइटिस वा मेनेन्गिस्मस भएको विवरण दिइएको छ। प्रसुतीका डा. अमीरबाबु श्रेष्ठले बताए, ‘उनीहरू शल्यक्रिया गर्नु अघिसम्म सामान्य थिए तर मेरुदण्डमा दिइने लठ्याउने औषधि ‘बुपिभकाइन’ दिएपछि समस्या देखापरेको थियो।’
ट्रोईका फर्मास्युटिकल्स (भारत) बाट निर्मित बुपिट्रोए नामक बी १५१५२ ब्याच नं. को ‘बुपिभकाइन’ इन्जेक्सन क्षेत्रपाटीको सङ्घाई फर्मास्युटिकल्सबाट प्रसूतीगृह अस्पतालले भदौ २६ गते खरिद गरेको देखिएको छ। तर अहिले बन्द गरेको छ।
लता गुरुङ, सुशीला शर्मा र बिन्दा घिमिरेको उपचारमा संलग्न कान्तिपुर अस्पतालका वरिष्ठ डा. युवराज शर्मा भन्छन्, ‘ मकहाँ ल्याइएका तीनै जना विरामीमा मेनेन्गिस्मस्को लक्षण देखिएको थियो। मेरुदण्डमा दिइने इन्जेक्सनमार्फत् दिमागमा यस्तो असर पर्न सक्छ।’
स्टार अस्पतालका डाइरेक्टर डा. अनिल पोखरेल र त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालका न्युरोलोजिस्ट दिनेशविक्रम शाहले आफूकहाँ पठाइएका सुत्केरीहरूमा भने मेनेन्जाइटिसको लक्षण देखिएको बताए। उनले भने, ‘मेरुदण्डको नशामा दिइएको इन्जेक्सनबाट यस्ता कीटाणु दिमागमा पुगेर असर गर्न सक्छन्।’ जनस्वास्थ्य विशेषज्ञ डा. शरदराज वन्तले पनि मेरुदण्डमा दिएको इन्जेक्सनमा हुने खराबीका कारण सोझै दिमागमा असर पुग्न सक्ने बताए।
लता गुरुङसमेत शल्यक्रियामा संलग्न प्रसूती गृहका एनेस्थेसिस्ट डा. अमीरबाबु श्रेष्ठ भन्छन्, ‘बुपिभकाइन इन्जेक्सन स्पाइनल एनेस्थेसिया हो, यो औषधि ढाडको नशामा दिँदा तत्काल दिमागमा पुगेर असर गर्छ। प्रसूती गृहका सुत्केरीमा यो समस्या देखा परेपछि हामीले प्रयोग गरिरहेको औषधिको ब्रान्ड परिवर्तन गर्यौं, त्यसपछि भने यस्तो समस्या आएको छैन।’
खराब बुपिभकाइनको असर
भदौ ३१ गते काठमाडौ मेडिकल कलेजले प्रसुतीगृहले चलाएकै ब्याच (बी १५१५२)को बुपिभकाइन इन्जेक्सन प्रयोग गरेर एक सुत्केरीको शल्यक्रिया गरेको थियो। उनमा पनि उही समस्या देखा परेपछि कलेजले तत्काल विरामीको ‘लम्बरपम्चर’ ( ढाडको तरल पदार्थ निकालेर) परीक्षण गरेको थियो। त्यस परीक्षणमा विरामीलाई ब्याक्टेरियल मेनेन्जाइटिस भएको पाइएको थियो। कलेजकी प्रसुती विभाग प्रमुख डा. चन्दा कार्कीले बताइन्, ‘यो घटनापछि अस्पतालले ट्रोईका फर्मास्युटिकल्स (भारत) बाट निर्मित उक्त इन्जेक्सन प्रयोग गर्न रोक लगाएको छ। ’
तर प्रसूती गृह व्यवस्थनापनले भने यस्ता औषधिबारे कुनै एक्सन लिएको छैन। प्रसुतीगृहकी निर्देशक डा. शीला वर्मा भने यसबारे कुरा गर्न तयार भइनन्। अस्पतालका प्रशासन प्रमुख अमर अमात्यको जवाफ थियो, ‘छानविन समितिले प्रतिवेदन दिएपछि केही गरौंला। तर आजसम्म कुनै काम भएको जानकारी पाइएको छैन।’
प्रसूती गृहमा ट्रोईका फर्मास्युटिकल्स (भारत) बाट निर्मित सो ब्याचको ‘बुपिभकाइन’ किन्ने र आदेश दिने अधिकार यी दुईलाई दिइएको छ। त्यही अधिकार प्रयोग गरेर क्षेत्रपाटीस्थित सङ्घाई फर्मास्युटिकल्ससंग प्रसुतीगृहले भदौ २६ गते २५ एम्पुल विवादास्पद बुपिभकाइन इन्जेक्सन खरिद गरेको थियो। प्रसूती गृहले विगत दशकदेखि नै बिना टेण्डर नै औषधि खरिद गर्दै आएको छ। अस्पतालले आमा सुरक्षा कार्यक्रमबाट पनि औषधि किन्न अनुदान पाउने गरेको छ। तर औषधि भने आफूखुसी किन्ने गरेको छ। ठूलो विवाद आएपछि बुपिभकाइन इन्जेक्सन आयात गर्ने श्रेया मेडिसिन डिस्ट्रब्युर्टस, क्षेत्रपाटीका प्रबन्ध निर्देशक सुशील दाहालले भने, ‘प्रसुतीगृहमा समस्या देखा परेपछि कम्पनीले बजारबाट ‘बुपिभकाइन’ फिर्ता गरिसकेको छ।’
कमजोर प्रयोगशाला गैरजिम्मेवार प्रशासक राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख मोहनप्रसाद अमात्य भन्छन्, ‘औषधिमा गलत र हानिकारक केमिकल मिसावट भए नभएको पत्ता लगाउने साधन, स्रोत र क्षमता हामीसँग छैन।’ छानबिन समितिले पठाएका औषधि जाँच गरेर दुईवटा इन्जेक्सनमा कीटाणु, ढुसी र ब्याक्टेरिया उत्पन्न भएको पाएपछि तिनको प्रयोग नगर्न राष्ट्रिय औषधि प्रयोगशालाले मंसीर ५ गते नै प्रसूती गृहलाई निर्देशन दिएको थियो। प्रयोगशाला प्रमुख मोहनप्रसाद अमात्य भन्छन्, ‘हामीले गर्न सक्ने त्यत्ति हो।’
यसबीच, ट्रोईका फर्मास्युटिकल्स (भारत) बाट निर्मित ब्याच नं. बी १५१५२ का विवादित बुपिभकाइन इन्जेक्सन खोज पत्रकारिता केन्द्रले फेला पारेको छ। औषधि व्यवस्था विभागका प्रमुख राधारमण प्रसादले यस कम्पनीको औषधिलाई २०६६ सालमा नेपाल भित्राउन अनुमति दिइएको बताए। उनले थपे, ‘पहिले ल्याब टेस्ट गरेपछि मात्र कुनै ब्रान्डलाई प्रवेश अनुमति दिन्छौं। तर प्रत्येक ब्याचको चाहिँ टेस्ट गरिंदैन।’ उनको यस्तो जबाफलाई गैरजिम्मेवारीको पराकाष्ठा मान्छन् उपभोक्ता हित संरक्षण मञ्चका सचिव तथा अधिवक्ता रामचन्द्र सिंखडा। भन्छन्, ‘विश्वका कुनै पनि मुलुकमा प्रत्येक ब्याचको औषधि टेस्ट गरेपछि मात्र बजारमा लैजाने अनुमति दिइन्छ। अत्यावश्यक सेवा संचालन ऐन, २०१४ को प्रावधान अनुसार हामीकहाँ पनि त्यसै गरिनुपर्छ। यसो नगरेर सेवाग्राहीको स्वास्थ्यप्रति खेलबाड गर्ने सबै सजायका भागी हुन्छन्।’
गैर जिम्मेवारी र दण्डहीनताको बोलवाला
उपभोक्ताको हितमा देशमा कानूनै नभएका होइनन्। उपभोक्ता संरक्षण ऐन, २०५४ र मुलुकी ऐन, २०२० का सम्बन्धित प्रावधानहरूलाई मात्र कार्यान्वयन गरिने हो भने पनि प्रसूती गृहको संक्रमण काण्डमा प्रयोग गरिएका तीनवटै घातक इन्जेक्सनका उत्पादक, आयातकर्ता, बिक्रेता; बिक्रीको अनुमति दिने संस्था र व्यक्ति तथा सबै तहका सेवा प्रदायकहरू (अस्पतालको व्यवस्थापन, प्रशासन, सम्बन्धित डाक्टरहरू, औषधि निर्माता, आयातकर्ता र आपूर्तिकर्ताहरू) लाई केही रोगीहरूको केसमा ५ लाख रुपैयाँसम्म जरिवाना र १४ वर्षसम्म कैद तथा रोगीको ज्यान गएको केसमा सर्वस्वसहित जन्मकैदको सजाय हुनसक्छ।
सरकार नै बादी भएर चलाउनु पर्ने यस्ता मुद्दाहरु सरकारी पक्षले नउठाइ दिएपछि उपभोक्ता हितका नाममा गठित गैसस र तिनका पदाधिकारीले उपचार खोज्न अदालत जानु पर्ने हो। तर कसलाई फूर्सद छ र ? महिला हिंसाविरुद्ध चर्का नारा जुलुस, भाषण र राजनीति गर्नेहरूलाई गर्भवती महिलाले भोग्नु परेका यस्ता गम्भीर समस्यातिर ध्यान दिन फुर्सत जुरेको देखिँदैन। औषधि र उपचारको ‘व्यवसाय’ भित्र हुने यस प्रकारका हिंसा र अपराधका जिम्मेवारहरूलाई कानूनको कठघरामा नल्याउने हो भने देशभरी थुप्रै लताहरूको अकालमा मृत्यु भइरहने र असंख्य चन्द्रकुमारीहरूको जिन्दगी यातनाको पर्याय बनिरहने निश्चित छ। मूल प्रश्न एउटै छ– हामी के चाहन्छौं ? हाम्रो समाज र राज्य के चाहन्छ ?
इन्जेक्सनले फेरि अर्को मृत्यु
फागुन ५ गते धापाखेल, ७ ललितपुरकी रीता अधिकारीलाई सुत्केरी गराउन ललितपुरको पाटन अस्पताल भर्ना गरियो। त्यसको भोलिपल्ट उनलाई शल्यक्रिया गर्नका लागि वुपिभकाईन इन्जेक्सन दिएको छिन भरमै उनमा छारे रोगको जस्तो लक्षण देखापर्यो। उनी त्यत्तिकैमा बेहोस भइन्। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई भेन्टिलेटरमा राखेर एन्टिवायोटिक दिए तर उनको अवस्था झनै बिग्रँदै गयो। उनका शरीरका अंगहरु एकपछि अर्को गर्दै काम गर्न छाडे। किड्नीले काम गर्न छाडेपछि अस्पतालले उनको डायलासिस समेत गरेको थियो। बेहोस भएको तीन दिनमा उनको पेटमा रहेको बच्चाको पेटभित्रै मृत्यु भएपछि फागुन ९ गते शल्यक्रिया गरी निकालियो। अन्ततः फागुन १० गते रीताको पनि आइसियुमै मृत्यु भयो। पाटन अस्पतालका निर्देशक डा. पवनकुमार शर्माले वुपिभकाईन इन्जेक्सनको असरको कारण उनको मृत्यु भएको जानकारी दिए। उनलाई भारतको अहमवादस्थित क्लारिस लाइफसाइन्स लिमिटेडले उत्पादन गरेको व्याच नं. ए ०१०७४७ वुपिभकाइन इन्जेक्सन दिइएको थियो।
गलत प्रवृत्तिको उपज
डा.सुन्दरमणि दीक्षित
प्रसुतीगृहमा भएको घटनाका सम्बन्धमा केही कुरा गलत देखिन्छ। त्यो के भने कुन डाक्टरको निगारानीमा विरामीको उपचार गरिँदैछ भन्ने सामान्य खालको अग्रिम सूचना पनि विरामीका आफन्तहरूलाई दिइएन। यसरी डाक्टरहरूले मनोमानीपूर्वक निजी अस्पतालहरूमा रेफर गरिदिएको देखिन्छ। यसो गर्नु ‘अनइथिकल’ अभ्यास हो। अस्पतालबाट राम्रो काउन्सिलिङ पाउनु सबै विरामी र तिनका आफन्तको अधिकार हो। विरामी बेहोस छ वा शल्यक्रिया गर्न अपरेशन थिएटरमा लगिएको छ भने झन् राम्ररी काउन्सिलिङ गरिनु पर्छ। विरामीलाई के भैराखेको छ भन्ने कुरा आफन्तलाई बताइ रहनुपर्छ। विरामीको उपचार शुरू गर्नुअघि, औषधि र उपचारको साइड इफेक्ट के के हुन्छ भन्ने कुरा बताउनुपर्छ। अरू देशमा यसो गरिएन भने डाक्टर र स्वास्थ्यकर्मीहरू सबैलाई कठघरामा उभ्याइन्छ।
(प्रस्तुत रिर्पोट खोज पत्रकारिता केन्द्रका लागि तयार पारिएको हो – सं )