डाक्टरले अफ्नो अधिकारको दुरुपयोग गर्दै विरामीलाई औषधि लेखेबापत औषधि कम्पनी सँग बार्गेनिङ गर्छन् भन्ने कुरा पत्याउँन कठीन होला। समाजमा राम्रो प्रतिष्ठा भएका डाक्टरहरु पनि खुलेरै औषधि कम्पनीसँग बार्गेनिङ गर्छन् भन्ने कुरा त झन् सहजै के पत्याउँनु होला र ? तर पछिल्ला दिनमा औषधि उद्योगका सञ्चालकहरुका लागि यही कुरो टाउको दुःखाईको विषय बनेको छ।
केही एमबिबिएस र धेरै एमडी सकेका डाक्टरहरु सिधा वा घुमाउँरो पारामा औषधि कम्पनीसँग आर्थिक लाभ मागेर हैरानै पार्ने गरेको एक उद्योगीले बताए। कम्पनी र सूचना दिनेको नाम सार्वजनिक भएमा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउँने भन्दै उनीहरु नाम सार्वजनिक गर्न भने डराउँछन्।
एक औषधि कम्पनिका अनुसार एमडी सक्ने बित्तिकै डाक्टरहरु बार्गेनिङ सुरु गर्दछन्। एक बरिष्ठ चिकित्सकले भने, ‘छोराछोरी वा कतिपयले थप अध्ययनका लागि भन्दै पनि पढाई खर्च नै माग्छन्। घरायसी सुविधादेखि सौखका सामाग्री माग गर्नेको संख्या पनि ठूलो छ।’
केही चिकित्सकले औषधि कम्पनीसँग औषधि पे्रस्क्राईव गरेवापत वार्षिक रुपमै एउटा प्रोडक्टका लागि दुईदेखि चार लाख नगद असुल्छन्। यसबाहेक विदेश भ्रमणदेखि घरका सामाग्री, श्रीमतीका लागि सपिङ्ग, घरको रङरोगन, छोराछोरी पढाईदिन पनि औषधि कम्पनीलाई गुहार्छन्। ‘क्लिनिकमा जेनेरेटर, टि.भि. राख्न लगाउने, विदेशी रक्सी र गाडी खरिद गरीदिनका लागि दवाव मिश्रित आग्रह गर्नेको संख्या निकै ठूलो छ।’ एक उद्योगीले भने।
यस्ता कुरामा चिकित्सकलाई अत्यधिक खर्च गर्नु परेकोले गुणस्तरमा भन्दा चिकित्सक आफ्नो बनाउन ध्यान केन्द्रीत गर्नुपरेको औषधि बजार प्रतिनिधिको भनाई छ। यसले गर्दा कम्पनीको खर्च बढ्ने मात्र होईन, बिरामीले पनि अनावश्यक औषधि खानुपर्ने अवस्था समेत आएको ती प्रतिनिधिले थपे, ‘डाक्टरलाई चिड्याएर जानुभन्दा अस्वस्थ प्रतिस्पर्धा वा नचाहिने अवस्थामा पनि औषधि लेख्न लगाएर खर्च उपर गर्नुपर्छ।’
वार्षिक बोनस पाउँने भएपछि चिकित्सक गुणस्तरीय औषधि लेख्नुको साटो पैसा बढी दिने कम्पनीको औषधि लेख्छन्। औषधि कम्पनी पनि छोटो बाटो रोज्न यस्ता कुरालाई प्रश्रय दिने गरेको जानकारहरु बताउँछन्। औषधि कम्पनी पनि गुणस्तरीय औषधि भन्दा चिकित्सक खरिद गरेर आम्दानी बढी गर्ने तर्फ लागेका छन्। एक अनुभवी औषधि उत्पादकका अनुसार नेपालमा तीन किसिमका डाक्टरहरु छन्। एक थरी डाक्टर व्यक्तिगत रुपमा केही लिदैनन्।
दोस्रो थरी डाक्टरले आचारसंहितामा रहेर कम्पनीले आफू अनुरुप दिएको गिफ्ट मात्र लिन्छन्। तेस्रो थरीका डाक्टर सिधै कम्पनीसँग वार्गेनिङ गर्छन्। एक वरिष्ठ चिकित्सकका अनुसार केही डाक्टरको पैसा मोहका कारण चिकित्सक वर्ग नै वदनाम बन्न पुगेका छन्। ‘आफ्नो पदीय मर्यादा विपरीत वार्गेनिङ गर्नु भ्रष्टाचार गर्नु सरह नै हो’ उनले भने। कम्पनीहरूबीच पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा डाक्टरले मागेपछि एउटा कम्पनीले दिन नमाने अर्को कम्पनी दिन तयार हुन्छन्। भारतीय कम्पनीको भने सिधै भारतबाट सामाग्री डिल भएर आउँछन्। यस्ता क्रियाकलापले स्वाभिमानी डाक्टर पनि शिर निहुराएर हिड्नु पर्ने अवस्था आएको छ।
कतिपय स्वाभिमानी चिकित्सकले त स्याम्पल औषधि र कम्पनीको नाम लेखेको कलम समेत लिन मान्दैनन्। यस्ता चिकित्सकको संख्या भने निकै कम छ। केही निजी अस्पतालका निर्देशक र सञ्चालकले नै बार्गेनिङ्ग गर्नेगरेको व्यापारीहरूको अनुभव छ।
‘सञ्चालकले सिधै तपाईको औषधि हाम्रो अस्पतालमा लेख्न लगाएवापत के आउँछ भनि प्रश्न गर्दछन् ?’ अर्का उद्योगीले भने, ‘अस्पतालका सञ्चालक र औषधि पसलेले डाक्टर नै खरिद गरी औषधि प्रिस्काइव गर्न बाध्य पार्छन्।’
एक चिकित्सकका अनुसार नेपाल मेडिकल काउन्सीलले चिकित्सकको आचारसंहिता अनुगमन गर्न नसक्दा पनि छाडा प्रवृत्ति आएको छ। यो कुरामा नेपाल चिकित्सक संघ समेत मौन रहनुले ठूलो चलखेल भएको प्रमाणित हुन्छ। चिकित्सकको बार्गेनिङ्गले गर्दा कमसल औषधिका कारण समयमा रोग निको नहुँने, उपचार खर्च बढी पर्ने, रोग बल्झने, अर्को समस्या थपिने जस्ता समस्या बिरामीले भोग्नु परेको छ।
जानकारहरूका अनुसार अस्पताल तोडफोड र डाक्टरमाथि हुने हातपातका घटना पनि यस्तै प्रवृतिसँग जोडिएर आएको हुन्छ। चिकित्सा क्षेत्र सेवा भन्दा पनि पैसामुखी बन्दै गएको र नयाँ पुस्ताका डाक्टर बढी सुविधाभोगी हुने कारणले पनि यस्ता घटनाले बढवा पाइरहेको छ।