काठमाडौं – अस्पतालको अवस्था नाजुक हुँदैं गएपछि कान्ति बाल अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिएका छन्। अस्पतालका रेजिडेन्ट तथा जुनियर डाक्टरहरूले चैत ४ गतेदेखि ३ सूत्रीय मागसहित ‘कान्ति बचाऊ अभियान’ सुरु गरेका हुन्। चैत ४ देखि १३ गतेसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलनमा रहेका डाक्टरहरूले त्यसपछि पनि मागको सुनुवाई नभए इमर्जेन्सी र क्रिटिकल केयरबाहेकका सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन्।
अस्पतालमा मेडिकल अफिसर, नर्सिङ स्टाफलगायत पर्याप्त जनशक्ति हुनुपर्ने, २० जना सुरक्षा गार्ड थपी हरेक वार्डमा कम्तीमा एक सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने र अस्पतालमा अत्यावश्यकीय औषधि र उपकरणको व्यवस्था हुनुपर्ने माग डाक्टरहरूको छ।
‘हामीले बिरामीका लागि आन्दोलन गरेका हौं, हाम्रो उद्देश्य जसरी हुन्छ अस्पताल सुध्रियोस् र बिरामीले सेवा पाउन् भन्ने हो’ कान्ति बचाऊ अभियानका सदस्य रेजिडेन्ट डाक्टर विश्वबन्धु बगालेले भने।
विकास समितिको बेवास्ता र निमित्त निर्देशकको अक्षमताका कारण अस्पतालको अवस्था प्राथमिक स्वास्थ्य केन्द्रभन्दा पनि नाजुक भएको छ। अवस्था यतिसम्म गएगुज्रेको छ कि डाक्टरहरुका लागि रक्तचाप नाप्ने उपकरण पनि पर्याप्त छैनन् भने केन्द्रीय बाल अस्पतालको रुपमा रहेको अस्पतालको इमर्जेन्सी एक जना डाक्टरको भरमा चलिरहेको छ।
इमर्जेन्सीमा बिरामी ल्याएको तीन घण्टासम्म पनि हेर्ने डाक्टर नहुँदा बिरामीको अवस्था नाजुक बन्ने गरेको छ। अस्पतालमा हाल २६ जना रेजिडेन्ट र १२ जनामात्र जुनियर डाक्टर छन्। अस्पतालका सम्पूर्ण सेवा रेजिडेन्टको भरमा चलेको छ।
यस्तै, अस्पतालमा एकजना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने स्थिति छ। हाल अस्पतालको पेइङ वार्डमा ४० बेड, मेडिकल वार्डमा ५२, एनेक्स वार्डमा ३० र सर्जिकल वार्डमा ६२ बेड छन्।
देशभरका बिरामी बालबालिका रेफर गरेर ल्याउने कान्ति बाल अस्पतालबाटै बिरामी रेफर गर्नुपर्ने अवस्था छ भने कतिपय अवस्थामा डाक्टरको अभावमा बिरामीको मृत्युसमेत हुने गरेको छ। हाल अस्पतालमा विकास समितिका १० र स्वास्थ्य मन्त्रालयअन्तर्गतका १५ मेडिकल अफिसरको दरबन्दी रिक्त छ। रिक्त दरबन्दी पूर्ति गर्न विकास समिति र स्वास्थ्य मन्त्रालय कसैले पनि चासो दिएका छैनन्।
यस्तै, एक वर्षदेखि अस्पताल विकास समितिको अध्यक्षसमेत नियुक्ति हुन सकेको छैन भने अस्पतालमा चरम आर्थिक अभाव सिर्जना गरिएकाले उपचार सेवा लथालिंग भएको छ। ‘अस्पतालमा आएका बिरामीलाई वरिष्ठ चिकित्सकहरूले आफ्नो निजी क्लिनिक र अस्पतालमा पठाई व्यापार गर्ने गरेका छन्।’ अस्पतालका एक चिकित्सकले भने, ‘अधिकांश बिरामी विभिन्न बहानामा अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल र इशान बाल नर्सिङ होममा पठाइने गरिएको छ।’ यहीकारण अस्पतालमा जनशक्ति थप्न बेवास्ता गर्ने गरिएको र यसमा निमित्त निर्देशकको समेत संलग्नता रहेको स्रोतको भनाई छ।
मेडिकल वार्डमा अत्यावश्यकीय औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने भएपनि अस्पतालको गिरोह औषधि फार्मेसीमा पठाउँदैं कमिसन खान व्यस्त रहेको स्रोतको दाबी छ ।
शौचालय र पानीसमेत छैन
अस्पतालको सबैभन्दा संवेदनशिल मानिएको इमर्जेन्सीमा शौचालय र पानीको व्यवस्थासमेत छैन। अस्पतालको क्यान्टिन नहुँदा बिरामीका आफन्त र चिकित्सक नजिकैको शिक्षण अस्पताल क्यान्टिन धाउन बाध्य छन्। अस्पताल व्यवस्थापनले मन्त्रीको भ्रमणका बेला वार्ड थपेर नाटक गर्ने गरेपनि जनशक्ति थप्न बेवास्ता गर्ने गरेका छन्। जनशक्ति अभावले सेवासमेत गुणस्तरीय छैन।
अक्षम निर्देशक : भद्रगोल अस्पताल
अस्पतालका निमित्त निर्देशकको जिम्मेवारी पाएका डा.आरपी बिच्छाको कमिसन मोहका कारण यस्तो दुर्दशा भएको अस्पतालकै अधिकारीहरूको आरोप छ। उनी नवजात शिशु विशेषज्ञ हुन्, तर, अहिलेसम्म उनले वार्ड टेकेका छैनन्। पैसा खुवाएर निर्देशक बनेकाले उनी आफ्नो लगानी उठाउन लागिपरेको बताइएको छ। अस्पतालका समस्या सुधारमा भन्दा उनको ध्यान कमिसनका लागि सामान खरिदमा मात्रै हुने गरेको स्रोतको दाबी छ। कमिसनको लोभमा कमसल उपकरण खरिद गरिएका कारण अधिकांश सञ्चालनमा आएको एक हप्तामै बिग्रने गरेका छन्। उनले अस्पतालमा भन्दा विराटनगरस्थित निजी क्लिनिकमा बढी समय दिने गरेका छन्।
अस्पतालमा गत ५ वर्षका दौरान बिरामी भर्ना दर जम्मा २५ प्रतिशतले मात्र बढेको छ। आर्थिक वर्ष ०६९/७० मा इमर्जेन्सीमा ५० हजार २ सय ९२ बिरामीले सेवा लिएका थिए भने ओपीडीमा १ लाख ६ हजार ५ सय ९५ बिरामी गएका थिए। अस्पतालमा ३ सय बेड भएपनि हाल २ सय ७० मात्र सञ्चालनमा छन्।