काठमाडौं– नेपालको मातृशिशु स्वास्थ्यको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘वान हार्ट वर्ल्डवाइड’ले हुँदै नभएको असम्भव तथ्यांक राख्दै अवैध कार्य गरेको भेटिएको छ।
स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी गैरकानुनी कार्य गर्दै आएको वान हार्ट वर्ल्डवाइडले मातृ र शिशु मृत्युदर शून्यमा झारेको भन्दै झुटो रिपोर्टसमेत बनाएको पाइएको छ। यो संस्थाले सन् २०१४ मा आफूले गरेको कामका कारण बाग्लुङमा मातृ मृत्युदर शून्यमा झरेको भन्दै सन् २०१६ मा झुटो रिपोर्ट तयार पारेको थियो। उक्त रिपोर्टमा सन् २०१५ मा नवजात शिशु मृत्युदर शून्यमा झारेको दाबी गरिएको छ।
स्वास्थ्य मन्त्रालयसँगको सम्झौताविपरीत कार्य गरेको र बाग्लुङ जिल्लामा मृत्युदर शून्यमा झारेको गलत रिपोर्ट सार्वजनिक गरेपछि मन्त्रालयले पत्र काटेको छ।
मन्त्रालयले भ्रामक रिपोर्ट सार्वजनिक गरेको, स्वास्थ्यको प्रोटोकलविपरीत तालिम सञ्चालन गरेको, सम्झौता अनुसारका जिल्लामा काम नगरेको लगायतका विषय उल्लेख गरी उक्त संस्थालाई पत्र काटेको हो।
मन्त्रालयका उपसचिव राजीव पोखरेलको हस्ताक्षरमा काटिएको पत्रमा वान हार्ट वर्ल्डवाइडलाई चार बुँदामा प्रश्न उठाइएको छ। हुँदै नभएको असम्भव तथ्यांक देखाएर भ्रम सृजना गरेको पाइएपछि पत्र पठाएको मन्त्रालयले जनाएको छ।
‘यो सरासर गलत काम भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो संस्थाले स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई तोडमोड गरेर पैसा खाने खेल मात्र गरेको देखिन्छ।’
गलत प्रतिवेदन मात्र होइन वान हार्ट वर्ल्डवाइडले स्वास्थ्य मन्त्रालय अन्तर्गतका परिवार स्वास्थ्य महाशाखा र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग समन्वय नै नगरी आफूखुसी जिल्लामा तालिम सञ्चालन गर्दै आएको पनि भेटिएको छ। मन्त्रालयले ग्रामीण भेगका नर्स तथा स्वास्थ्यकर्मीलाई २१ दिनको ग्रामीण अल्ट्रासाउन्डको तालिम सञ्चालन गर्दै आएको छ। यसका लागि महाशाखा र तालिम केन्द्रको विशेष प्याकेज कार्यक्रम नै छ।
तर, उक्त संस्थाले सरकारको उक्त प्याकेजविपरीत तेह्रथुममा आफ्नै ढंगमा पाँच दिने तालिम सञ्चालन गर्दै आएको छ। उक्त तालिम सरकारको पाठ्यक्रम तथा प्याकेजविरुद्ध छ। वर्ल्डवाइडले यसरी आफूखुसी तालिम सञ्चालन गरेको विषयमा पनि मन्त्रालयले पत्रमार्फत प्रश्न उठाएको छ।
केही समयअघि परिवार स्वास्थ्य महाशाखाका तत्कालीन निर्देशक डा. नरेशप्रताप केसीले माहाशाखाको समन्वयबिना नै तालिम सञ्चालन गरेको विषयमा ध्यानाकर्षण गराउँदै उक्त विषयमा स्पष्ट जानकारी दिन भनेका थिए। ‘नेपाल सरकारले तय गरेको २१ दिनको ग्रामिण अल्ट्रासाउन्डको तालिम प्याकेज हुँदाहुँदै परिवार स्वास्थ्य महाशाखा एवं राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग समन्वय नै नगरी आफुखूसी तालिम प्रदान गरेकोमा महाशाखाको ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘सो तालिम सम्बन्धित महाशाखाको समन्वयबिना नै सञ्चालन गर्नुपर्ने कारण सम्बन्धमा तुरुन्त जानकारी गराउन अनुरोध गरिन्छ।’
वान हार्ट वर्ल्डवाइडले भूकम्प प्रभावित जिल्लामा भवन बनाउने क्रममा समेत स्वास्थ्यसँग स्विकृति नै नलिई आफूखुसी मापदण्डविपरीत भवन निर्माण अगाडि बढाएको थियो। मन्त्रालयले ती भवनको स्वामित्व नलिने भनेपछि मात्र उक्त संस्थाले मन्त्रालयको डिजाइन अनुसार भवन निर्माणकार्य अगाडि बढाएको थियो।