म्यानपावर कम्पनीका सञ्चालक सन्तोष धिताल ४० वर्षका भए। उनले विहान सबेरैदेखि साँझ अबेरसम्म ‘विजनेश’कै लागि समय दिनुपर्छ। अधिकांश समयको खाना रेष्टुरेन्टकै हुन्छ। कहिले पाहुनाको सत्कारका लागि त कहिले पार्टीका नाममा मदिरा नपिएको दिन नै हुँदैन। मदिराको मात चढेपछि धूमपान पनि चाहिन्छ। बहिरबाहिरको खान्कीले उनको तौल ८० केजीको हाराहारीमा छ। गंगालाल हृदयरोग केन्द्रमा फागुनको तेस्रो साता भेटिएका उनलाई अहिले थोरै हिड्दा पनि स्वाँ–स्वाँ हुन्छ। भन्दै थिए ‘भ¥याङ त उक्लिनै सक्दिनँ, हिँड्दा छाती पनि दुख्छ।’ चिकित्सकले उनलाई अत्याधिक कोलेस्टेरोल बढेरो नसा साघुँरिएको बताएका छन्। ‘मुटुमा अन्य परीक्षण हुँदैछ। अब खाना बारेर ज्यान नघटाए खतराको घन्टी बजिसकेछ।’
कलंकीका १९ वर्षे विनय रौनियारले धूमपान शुरू गरेको पाँच वर्षभन्दा बढी भयो। सम्पन्न परिवारका उनलाई आर्थिक अभाव छैन। स्कूले जीवनदेखि नै धूमपान थालेका रौनियार अहिले कहिलेकाहिँ अन्य लागू पदार्थ पनि खान्छन्। उनका समूहका झण्डै १० जना केटाहरुले पालैपालो ‘ग्यादरिङ’ आयोजना गर्नुपर्छ। ‘सातामा दुई दिनजस्तो ‘होल नाइट’ काठमाडौं घुमिन्छ। ह्वीस्की, वियर र वाइन जे भेटिन्छ छोडिएन ’ रौनियारले आफ्नो जीवनशैली सुनाए। काठमाडौं अस्पताल त्रिपुरेश्वरमा भेटिएका उनी एक वर्षदेखि टाउको पछाडिपट्टी थिचेजस्तो हुने समस्याले पीडित थिए। जाँचका लागि अस्पताल पुग्दा चिकित्सकले उनलाई उच्चरक्तचाप भइसकेको र जीवनशैली परिवर्तन गरेर नघटे तत्काल आजीवन औषधि शुरू गर्नुपर्ने बताएका छन्।
नवीन खड्गी भक्तपुरका नामी घरजग्गा व्यवसायी हुन्। उनले यो व्यवसायबाट जति कमाए, त्यो भन्दा धेरै बढी लफडा र झमेला भोगेका छन्। डर, धम्की, चन्दा आतंक, केटाहरुलाई मिलाउने लफडै लफडा आइलाग्छ। यस्तो तनाव हुँदा र खुसी हात लाग्दा अपनाइने जीवनशैलीले उनलाई ३३ वर्षको उमेरमै उच्चरक्तचाप र मधुमेहले हानेछ। नर्भिक अस्पतालमा भेटिएका उनलाई अहिले यी बानी छोडेर जीवनशैली बदल्न निकै कठिन भइरहेको छ। ‘साथी सर्कल सबै त्यस्तै छ, बानी लागिहाल्यो, छोड्न सकिन्न। उच्च रक्तचाप र सुगरलाई रक्सीले छेकेको छैन।’ उनले भने, ‘तनाव छल्ने र व्यवसाय प्रमोट गर्न इन्सुलिन लिएर रक्सी खानुको विकल्प छैन।’
तनावपूर्ण जीवनशैली, अधिक व्यस्तता, पैदल भन्दा सवारी साधनको प्रयोग, जंकफुडको उपयोग, रेष्टुरेन्टमा खाने संस्कृतिसँगै, धूमपान, अत्यधिक नून, चिल्लो र मासुजन्य पदार्थको सेवनले शहरवासीलाई रोगी बनाउँदै लगेको छ। मानिसको स्वास्थ्यमा ‘रिक्स फ्याक्टर’ मानिने उच्च रक्तचाप, कोलेस्टेरोल, रगतमा चिनीको मात्रा, मोटोपनका युरिक एसिडजस्ता समस्या भएका आंकडा हेर्ने हो भने शहरी जीवन हृदयाघात, मिर्गौला फेलियर, मतिष्कघात, क्यान्सर, मानसिक रोग, नसा, श्वासप्रश्वास, निद्रा र पाचनसँग सम्बन्धित गम्भीर खालका रोगले ग्रस्त छ। यसकै कारण मृत्युका घटनासमेत बढ्दै छन्। चिकित्सकहरुका अनुसार शहरी समाजमा व्याप्त इन्धन, विद्युतलगायतको अभावले तनाव दिन्छ। वातावरण प्रदूषणले त्यस्ता रिक्स फ्याक्टरलाई उत्प्रेरकको वातावरण थपिरहेको छ। चिकित्सकहरु त तनावबाट अस्वस्थकर जीवनशैलीको शुरूवात हुने र अव्यवस्थित जीवनशैलीकै कारण स्वास्थ्य बिग्रिने बताउँछन्।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अस्पतालका ओपिडी पुगेका बिरामीमध्ये ८१ दशमलव ५ प्रतिशत र अन्तरंग सेवा लिनेमध्ये ८८ प्रतिशत नसर्ने रोगका बिरामी छन्। जसको प्रत्यक्ष कारण अस्वस्थकर जीवनशैली नै हो। अस्वस्थकर जीवनशैलीको प्रमुख केन्द्र शहर हो। स्वास्थ्य मन्त्रालयका चिकित्सक डा.बाबुराम मरासैनी केही वर्षअघिसम्म सरुवा रोगको मृत्युदर अधिक र नसर्नेको न्यून रहेकोमा हाल नसर्ने रोगले हुने मृत्युदर बढ्दै गएको बताउँछन्। भन्छन् ‘मुटु, मिर्गौला, श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको प्याटर्न हेर्दा नसर्ने रोगको भयावह अवस्थाको तस्वीर देखिन्छ।’
विश्व स्वास्थ्य संगठनले सन् २०११ मा प्रकाशन गरेको तथ्यांक अनुसार वर्षेनी ३ करोड ६० लाख मानिस नसर्ने रोगबाट ज्यान गुमाउने गरेका छन्। यसको ८० प्रतिशत मृत्युदर विकासोन्मुख मुलुकमा रहेको छ। मुटु, क्यान्सर, श्वासप्रस्वास र मधुमेहले क्रमशः नसर्ने रोगबाट हुने मृत्युका प्रमुख चार कारण हुन्। यी सबैका कारण जीवनशैली हो। ‘यी चार रोग ८० प्रतिशत मृत्युका कारण बनेका छन् ’ डा.मरासैनी भन्छन्।
अधिकांश नसर्ने रोगका कारक उच्च रक्तचाप, रगतमा बोसो बढ्ने समस्या (कोलेस्ट्रोरल), रगतमा चिनीको मात्रा बढी हुने समस्या (मधुमेह) जस्ता कारकसमेत बढ्दै गएको छ। मृत्युका प्रमुख कारण बन्दै गएको हृदयाघात, पक्षघात र मिर्गौलाले काम गर्न छाड्ने समस्याका प्रमुख कारक तत्व पनि यिनै समस्या हुन्।
खास स्वस्थ्यमा नसर्ने प्रकृतिका मुटु, मधुमेह र मिर्गाैलासम्बन्धी रोगहरु चालीस बर्ष पछाडि मात्रै देखापर्ने मानिने रोगहरु अब कम उमेरमै देखिन थालेका छन्। मुलुकको प्रमुख मुटु रोग अस्पताल गंगालालमा बार्षिक झण्डै ७० हजार मुटुको उपचार हुने गरेकोमा करिव ३० प्रतिशत १९ देखि ३० वर्ष उमेर समूहका मानिस हुने गरेको अस्पतालले जनाएको छ। खासगरी शहरीया जीवनशैलीमा सवारी साधनको बढ्दो प्रयोग, धूमपानको लत, बजारमा पाइने अस्वस्थकर खानाको मात्रा बढ्ने कारणले हृदयाघात बढ्नुको प्रमुख कारण भएको डा.मानबहादुर केसी बताउँछन्।
नेपालमा नसर्ने रोगका प्रमुख कारणमा उच्च रक्तचापबाट २१ दशमलब ५ प्रतिशत, मधुमेहबाट १०, मोटोपन ७ दशमलब २, सूर्तीजन्य पदार्थको सेवनबाट २३ दशमलब ५, रक्सीको नियमित सेवनबाट २८ दशमलव ५ प्रतिशत छ। क्यान्सर ५० प्रतिशत क्यान्सरको कारण धुम्रपान हो। डा.मरासैनीका अनुसार १९८० मा भद्रबास र जुम्लाका पूरै गाउँवासीको परीक्षण गर्दा पनि उच्च रक्तचापका विरामी भेटिएको थिएन। अहिले शहीद गंगालाल हृृदय केन्द्रको अध्ययन अनुसार १८ वर्ष माथिका वयस्कहरुमा उच्च रक्तचाप २० प्रतिशत पाइएको छ।
बिहानदेखि शुरू हुने तनाव र हतारले भरिएको दैनिकी, उचित निन्द्रा र व्यायामको अभाव, अधिक धूमपान र मध्यपान, बढी चिल्लो, थोरैथोरै गरेर पनि धेरै मात्रामा खाइने नूनले सबैभन्दा जोखिम बढाइरहेको मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी बताउँछन्। मुटुरोग विशेषज्ञ डा.रेग्मीका अनुसार शहरीयाहरूको आधुनिक सभ्यता र औद्योगिकीकरणद्वारा सिर्जित मानसिक तनाव र जीवनशैलीमा परिवर्तनको नजिता उच्च रक्तचाप हो।
चिल्लो, कार्वोहाइडेडको बढी सेवनले रगतका नसाहरुलाई साँघुरो बनाएपछि मुटुमा रक्त प्रवाह बढाउँनका लागि शरीरमा प्रेसर बढ्छ। नूनको मात्रा बढी सेवनले त्यसलाई छान्न मिर्गौलाका बढी काम गर्नुपर्दा पनि रक्तचाप बढ्छ। उच्च रक्तचापले अधिकांश अवस्थामा कुनै पनि लक्षण नदेखाइकनै मुटु, मिर्गौला, आँखा, मतिष्कजस्ता महत्वपूर्ण अंगमा असर पु¥याइ मृत्युको मुखमा पुर्याउँछ।
५० प्रतिशत हृदयाघात र ५० देखि ७५ प्रतिशत पक्षाघात (मस्तिष्कघात) को कारण उच्च रक्तचाप हो। नेपालमा मुटु रोगीहरुको संख्या १० वर्ष यता १५ गुणाले बृद्धि भइरहेको छ। नेपालका अस्पतालहरुमा ओपिडी सेवाका लागि आउने विरामीमा प्रमुख कारणमा अस्पतालमा विरामी भर्ना हुनुका प्रमुख आठ कारणमध्ये निमोनीया चौथो नम्बरमा छ भने दम र खोकी छैटौ नम्बरमा छन्। नेपालमा करिब २७ लाख मिर्गौला रोगी छन्। तीमध्ये अधिकांशलाई आफूलाई रोग लागेको छ भन्ने नै थाहा छैन। जसमा २७ हजारको मिर्गौला ‘फेल’ भइसकेको अनुमान छ।
नसर्ने रोगले गराउने मृत्युको प्रमुख कारण मधुमेह रोगले आगामी दशकमा महामारीको रूप लिने अनुमान गरिएको छ। विश्वमा आज २४ करोड मधुमेहका बिरामी छन्। जसमा अधिकांश सहरमा बस्छन्। यो संख्या सन् २०२५ मा ३८ करोड पुग्ने अनुमान गरिन्छ । नेपालमा बर्षेनि ५० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमान गरिएको छ। घरको खाना छोडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएको तथ्यांकहरुले पुष्टि गर्छ। लामो समयदेखि क्यान्सरको उपचारमा संलग्न चिकित्सकहरूका अनुभवमा पछिल्लो दिनमा पेटका क्यान्सरका विरामीका कारण खोजी गर्दा यस्तो देखिएको हो।
बढ्दो पेटको क्यान्सरका विरामीमध्ये सबैजसो रेष्टुरेन्ट संस्कृतिमा बढी अभ्यस्तहरू पाइएका छन्। ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका विरामी भेटिन्थे’ भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा.सुदिप श्रेष्ठले भने, ‘पछिल्ला दिनमा पेटका क्यान्सर रोगी बढ्दैछन्, जसको कारण खोज्दै जाँदा स्वादको पछि दौडिने रेष्टुरेन्ट संस्कृति छ।’
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कूल जनसंख्याका १३ प्रतिशतलाई क्यान्सरको समस्या छ। केही वर्षअघि भरतपुर क्यान्सर अस्पतालले गरेको एक अध्ययनले तीमध्ये झण्डै ६ प्रतिशतलाई पेटको क्यान्सरको समस्या थियो। अहिले कम्तिमा पनि १० प्रतिशतमा पेटको क्यान्सर भएको चिकित्सकहरू बताउँछन्। ‘म कहाँ नै आउँने विरामीमा पनि धेरै विरामी पेट क्यान्सरका हुन थाले ’ डा.श्रेष्ठको भनाइ छ।
उनको अनुभवमा शहरीलगायत ग्रामीण क्षेत्रमा समेत स्वादका लागि रेष्टुरेन्ट जाने प्रवृत्ति बढ्दै गएको छ। ‘केही वर्ष अघिसम्म पनि होटलमा खाने कुरा कम सुनिन्थ्यो। अहिले जेका लागि पनि होटल र रेष्टुरेन्ट धाउने चलन छ ’ नेशनल क्यान्सर अस्पतालका विशेषज्ञ डा.मदनकुमार पिया भन्छन् ‘स्वादको पछि लाग्दा अत्याधिक नून, मसला र मदिरा एवं मांसुजन्य पदार्थको सेवन पनि बढ्दै छ।’
जंकफुडमा प्रयोग गरिने प्रिजरभेटिभ, स्वादका लागि प्रयोग गरिने केमिकल पाउडर, मसला, तेल, गाडेका अचार, सुकाइएका/कुहाइएका मासुका परिकार क्यान्सरको कारण बन्दैछन्। डा. पियाका अनुसार यस्ता खाद्यान्नले शरीरमा साना साना कोषिकाको असामान्य बृद्धि गराउँछ र क्यान्सरका कारण बन्छन्। डा.पियाले स्वादकै पछि लाग्दा धूमपान र सूर्तीजन्य पदार्थको प्रयोग पनि बढ्दै गएको र त्यसले मुख र घाँटीको क्यान्सरका विरामी पनि बढाएको बताए।
‘पानपराग, गुट्खा र खैनी सूर्तीको प्रयोगले मुखको क्यान्सर पनि बढ्दैछ ’ डा.पिया भन्छन् ‘हाल छठौ नम्बरमा रहेको मुखको क्यान्सर पाँचौ/चौथोमा र तेस्रो नम्बरमा रहेको पेटको क्यान्सर त्यो भन्दा पनि अगाडि बढ्ने क्रममा छ।’
शहरी क्षेत्रमा पानीका कारण पेटमा दोहोरिइरहने इन्फेक्सनले पनि पेटको क्यान्सर बढाउँदै लगेको भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा.सुदिप श्रेष्ठले बताए। चिकित्सकहरूका अनुसार शरीरलाई चाहिने भन्दा पोषक तत्व भएपछि पेटमा समस्य बढ्दै जाने र क्यान्सरको रुप लिन्छ।
अस्वस्थकर खानेहरूको खाने बानी पनि अनियमित हुने र त्यसले ग्याष्ट्रिक, अल्सर हँदै क्यान्सरको रुप लिने गरेकोसमेत चिकित्सकहरूको भनाइ छ। नेपालमा फोक्सोपछि पेट, आमाशय, मुख, पाठेघरको मुख, प्रोस्टेट र स्तन क्यान्सर बढी हुन्छ। त्यसमा पनि महिलामा स्तन, पाठेघरको क्यान्सर बढी छ भने, र पुरूषमा फोक्सो पोष्ट्रेट र पेटको क्यान्सर सबैभन्दा बढी छ। बिभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूमपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ। १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुने देखिन्छ। यसका साथै विकीरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ।
शहरी र आधुनिक समाजमा मासुसँगै मदिराको प्रयोग गर्ने प्रचलन बढ्दो छ। मासुसँगै रक्सी खाँदा मुटु धेरै धड्किने र प्याङ्क्रियाटिक्समा समस्यासमेत देखिने चिकित्सकहरू बताउँछन्। मुटुरोग विशेषज्ञ डा.मनबहादुर केसी भन्छन्, ‘मदिरा र मासु अधिक खाएपनि धेरैजसोमा छाती दुख्ने र श्वासप्रश्वासमा समस्या हुन्छ। मासु र चिल्लो खाँदा तुरुन्तै दम र हार्टफेलियारको समस्या पनि हुनसक्छ।’ शहरका ठूला अस्पतालमा यस्तै अवस्थामा हृदयगति बन्द हुने र मतिष्कघात हुने प्रवृत्ति बढी छ। डा.केसी भन्छन् ‘मासुमा प्रोटिनसँगै कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइडले गर्दा नियमित र अत्यधिक सेवनले समस्या थप्छ।’
शहरी समाजमा शाकाहारी भेटिन मुस्किल छ। रातो मासुको सेवनले युरिक एसिडको जोखिमसमेत बढाउँछ। ‘शरीरभित्र कोलेस्टेरोल फ्याटी एसिडसँग मिलेपछि खराब चिल्लो बन्छ।’ डा.केसी भन्छन् ‘मासु खाँदा बोसो र छाला फालेर खानु अझ खसीभन्दा कुखुरा र माछा स्वस्थकर हुन्छ तर कुखुरा खान परे गरीब ठान्ने चलन छ।’
शहरी समाजमा मासुमा पनि बढी हानिकारक मानिने आन्द्राभुँडी (भुँटन), कलेजो, बोसोको मात्रा बढी हुने राजखानी र ह्याकुलाको उपयोग बढी गर्छन्। ‘प्रेसर, सुगर र मिर्गौला रोगको प्रमुख कारण शहरीया जीवनशैली हो’ शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा.दिव्या सिंह भन्छिन् ‘नुनिलो, बोसो र रक्सीले डाइबिटिज पनि बढाउँछ।’ ‘बोसोयुक्त मासु बढी हानिकारक हुन्छ। त्यसमा पनि अधिक तेलको प्रयोगले मुटु, मसलाले कलेजो र नुनले मिर्गौैलालाई प्रत्यक्ष असर गर्छ।’
सेकुवा र कचिलाका नाममा खाइने काँचो मासुले पशुपक्षीमा भएका जुका र रोगका जीवाणु सिधै सार्ने सम्भावना हुन्छ। प्रेसर, सुगर र कोलेस्ट्रोल नभएकामा पनि काँचो मासुले पाचनसम्बन्धी समस्या ल्याउन सक्छ।
अधिक चिल्लो सेवनले तेलमा प्रसस्त पाइने ट्राइग्लिसेराइडले कोलेस्ट्रोल बढाउनुका साथै मुटुमा नकारात्मक असर गर्छ।’ सूर्यमूखी घिउमा कोलेस्ट्रोल र स्याच्युरेटेड फ्याट बढी हुन्छ। तेल, अन्डा, घिउ र डिपफ्राई गरिएका खाना बढी हानिकारक हुन्छन्। रक्सीमा अत्याधिक मात्रामा क्यालोरी हुने भएकोले यसले तौल बढाउँछ। तौल धेरै रोगको जोखिमको संकेत पनि हो।
विज्ञहरुका अनुसार रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ।’ डा.केसी भन्छन्, ‘मष्तिस्कपछि रक्सीको असर मुटु र कलेजोमा हुन्छ।’ रक्सी पचाउने काम कलेजाको हो। कलेजोले रक्सीलाई पचाउँन धेरै ऊर्जा खर्च गर्नुपर्छ, त्यस्तो अवस्थामा कलेजो थाक्छ र कलेजो थाकेपछि ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ। जम्मा भएको बोसोले फ्याटी लिभर, रक्तसुगर र मोटोपनको समस्या बढाउँछ।
शाकाहारी भनेर मिस्ठान भण्डारमा छिर्नेहरुसमेत सुरक्षित छैनन्। विभिन्न मीठाई र मरमसला बनाउनका लागि चिल्लो पदार्थलाई धेरै पल्ट तताएरसमेत प्रयोग गरिन्छ। ‘जति धेरैपटक ततायो, उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ, जुन स्वास्थ्यका लागि धेरै हानिकारक छ।’ वीर अस्पतालका आकस्मिक विभाग प्रमुख डा.डिपी.सिंह भन्छन्, ‘तेलमा प्रसस्त मात्रमा हुने टाइग्लिसेराइडले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर गर्छ।’
सिंगारेर राखेको मिठाई, हेर्दै खाऊँखाऊँ लाग्ने केक, जंगफुड पनि स्वस्थकर छैनन्। यस्ता खाद्यन्नमा प्रयोग गरिने ‘प्रिजरभेटिभ’ र रंगहरू क्यान्सरको कारक बन्छन्। डा.डिपी सिंहले व्यापारीहरुले खाद्य सामग्री बनाउँने क्रममा प्रयोग गर्ने दुषित पानी, मिति सकिएका खाद्यवस्तु, ढुसी परेका खाद्यन्नका कारण मानिसलाई तत्कालका रुपमा फुड पोइजनिङ, झाडापखला, पाचन प्रणलीसम्बन्धी रोगका कारण बन्ने गरेका छन्। यस्ता खाद्य तथा पेय पदार्थका कारण लामो समयपछि कलेजो बिग्रँदै गएर अन्य विभिन्न रोगहरु देखापर्न सक्छन्।
पछिल्ला समयमा बढिरहेको फुड पोइजनिङ, फ्याटी लिभर, ग्यास्ट्रिोसाइसीलगायतका रोगका कारण यस्तै खाद्यान्न भएको निश्कर्ष निकालेका छन्। डा.सिंहले यस्ता खाद्य तथा पेयका कारण झाडापखाला, हेपाटाइटिस ‘ए’ र ‘इ’, पोलियो, टाइफाइड, पाराटाइफाइड, आँउ–मासी, रातोमासी, हैजा, जियारडियासीस, जुका, हाइड्याटिड रोग ( फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा पानीका फोका हुने जस्ता रोग) गराउँछ।
व्यापारीहरुले फोहोर भन्छामा मिठाइ बनाउने मात्र होइन मिठाइमा प्रयोग हुने घिउमा समेत बोसो मिसाएको पाइएको छ। मिठाइमा लिड, मर्करी, कार्सिनोजेन्स जस्ता मानव स्वास्थ्यमा गम्भीर असर गर्ने रङहरुको मिसावट हुने गरेको सार्वजनिक भइसकेको छ। चिकित्सकका अनुसार मिठाइमा मिसाइने लिडले उच्च रक्तचाप, मृगौला, स्नायु प्रणाली तथा प्रजनन् प्रणालीलाई असर गर्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही वर्षअघि गरेको सर्वेक्षणले नेपालमा हुने कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुन्छ। जुन सन् २००२ मा ४२ प्रतिशत मात्रै थियो। नसर्ने रोगको उपचार महङ्गो हुने र आजीवन औषधि सेवन गर्नुपर्ने भएकोले सामान्य आय भएका व्यक्ति र राज्यले पनि धान्न सक्दैनन्। विज्ञहरूका अनुसार यस्तो अवस्थामा नसर्ने रोगले धेरै सम्पन्नलाई समेत गरिबीको रेखामुनी पु¥याउनेछ।
चिकित्सकहरू रोगका जोखिम घटाउन एक मात्रै सूत्र भन्यो भने खानपान र आनिबानीमा परिवर्तन भन्छन्। धेरै कुरा शारीरिक व्यायामबाट ठीक पार्न सकिन्छ। डाक्टरहरू पनि पछिल्ला दिनमा यस्ता रोगमा औषधि प्रयोगभन्दा मनोरञ्जन, ध्यान र तनाव व्यवस्थापन गर्न सुझाव दिन्छन्।
‘दिनमा ८/१० चोटी मज्जाले हाँस्ने, केही राम्रो कामको सोख राख्ने, धूमपानबाट टाढै बस्ने, रातो मासु नखाने, फलफूल बढी खाने, मैदाबाट बनेका परिकार नखाने, सेतो ब्रेड नखाने र दैनिक ४० मिनेटजति पसिना आउने गरी व्यायाम गर्दा मुटुरोगको खतरा निकै घटाउन सकिन्छ,’ डा.रेग्मी भन्छन्। यस्ता रोगको उपचार र परीक्षण सेवा महंगो भएको र एकपटक उपचारपछि पनि जीवनभर परीक्षण, औषधि सेवन र सावधानी अपनाउनुपर्ने भएकाले सावधानी नै उत्तम विकल्प भएको डा.केसीको भनाई छ। डाक्टरहरूका अनुसार जीवनशैली बदल्न सकेमात्रै मुटुरोगको खतरा ८० प्रतिशत कम गर्न सकिन्छ।
रोकथामका उपाय
धूमपानबाट टाढा बस्ने
फुर्सदमा श्रम खर्च गर्न मिल्ने घरायसी काममै भएपनि समय दिने
जीवनशैली परिवर्तन, खानपान र शारीरिक व्यायाममा ध्यान दिने
मद्यपान कम गर्ने
स्वस्छ वातावरण बनाउने
जंकफूड नखाने
पोलेको मासु, सुकुटी र सेकुवा नखाने
बढी नुन, चिल्लो तथा बोसो भएको नखाने
ताजा सागसब्जी र फलफूल खाने
हरेक दिन कुनै न कुनै फलफूल खाने
बासी वा ढुसी लागेको खाना नखाने।
-(स्वास्थ्य खबरपत्रिकामा २०७० साल फागुनमा प्रकाशित)