काठमाडौं- विदेशका मेडिकल कलेज तथा विश्वविद्यालयमा एमबिबिएस र बिडिएस अध्ययनका लागि निजी खर्चमा गएका विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी अयोग्य रहेको एक तथ्यांकले देखाएको छ।
नेपाल मेडिकल काउन्सिलले विदेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरुको आँकडालाई केलाएर तयार पारेको तथ्यांकले सो तथ्य देखाएको हो। काउन्सिलले सन् २०१६ को फेब्रुअरीदेखि नेपालमा प्रवेश परीक्षा पास भएपछि मात्र विदेशमा अध्ययनका लागि अनुमति दिन सुरु गरेको छ।
उक्त व्यवस्था सुरु हुनुभन्दा दुई वर्ष अघिसम्मका सन् २०१४ र २०१५ का विद्यार्थीहरुको अध्ययनका क्रममा ९५ प्रतिशत विद्यार्थी एमबिबिएस र बिडिएस पढ्न अयोग्य रहेको फेला परेको हो। यी दुई वर्षमा मात्र नेपालबाट २८ सय ४० विद्यार्थी विभिन्न देशमा अध्ययनका लागि गएका छन्।
काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाले '५० प्रतिशत नम्बर पनि ल्याउन नसक्ने ९५ प्रतिशत विद्यार्थी कस्ता डाक्टर भएर आउलान्' भनेर चिन्ता व्यक्त गरे। ‘हाम्रो अध्ययनले निकै डरलाग्दो तथ्यांक देखायो,’ उनले भने, ‘सन् २०१६ को फेब्रुअरीअघि अध्ययनका लागि गएका यस्ता अयोग्य विद्यार्थी सन् २०२१ मा डिग्री लिएर आउँछन्। ती कस्ता डाक्टर होलान्?’ काउन्सिलको लाइसेन्सिङ परीक्षामा ७० प्रतिशतभन्दा बढी विद्यार्थी फेल हुनुको कारण पनि यही रहेको उनी बताउँछन्।
नेपालमा फेल भएका विद्यार्थी पैसा बोकेर गएको भरमा डिग्री बोकेर आउने क्रम बढेपछि काउन्सिलले गत वर्षबाट एमबिबिएस र बिडिएस अध्ययन गर्न जानुअघि अनिवार्य प्रवेश परीक्षा पास हुनुपर्ने नियम लागू गरेको हो। प्रवेश परीक्षामा ५० प्रतिशतभन्दा बढी अंक ल्याएमात्र एमबिबिएस र बिडिएस पढ्न योग्य मानिन्छ।
यो व्यवस्था लागू भएपछि अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या स्वाट्टै घटेको छ। काउन्सिलकै तथ्यांक अनुसार प्रवेश परीक्षा पास हुनुपर्ने व्यवस्थापछि विदेशमा अध्ययन गर्न जानेको संख्यामा ६७ प्रतिशतले कमी आएको छ।
विद्यार्थीले विदेश अध्ययनका लागि काउन्सिलबाट अध्ययन अनुमति पत्र (इलिजिबिलिटी सर्टिफिकेट) अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ। यसअघि विद्यार्थीले आवेदन मात्र दिए अनुमति पत्र पाउँथे भने गत वर्षदेखि कुनै विश्वविद्यालय वा प्रतिष्ठानले लिएको प्रवेश परीक्षा अनिवार्य पास गरेको हुनुपर्ने प्रावधान ल्याइएको छ।
प्रवेश परीक्षाको व्यवस्था सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१५ मा काउन्सिलबाट विभिन्न ९ वटा देशमा अध्ययनका लागि एक हजार ४ सय ६१ जनाले अनुमति लिएका थिए। तर प्रवेश परीक्षा सुरु भएको वर्ष सन् २०१६ मा ११ वटा देशका लागि जम्मा ४ सय ७८ जनाले मात्र इलिजिबिलिटी लिएका छन्।
काउन्सिलको तथ्यांक अनुसार सन् २०१६ मा एमबिबिएसका लागि ४ सय ६० र बिडिएसका लागि १८ जनाले इलिजिबिलिटी लिएका हुन्। गत वर्ष एमबिबिएसमा एक हजार २ सय ७४ र बिडिएसमा एक सय ८७ जनाले अनुमति लिएका थिए। यो वर्षको डिसेम्बरसम्म उक्त संख्या गत वर्षको भन्दा पनि कम हुने अनुमान गरिएको छ।
चीन तथा अन्य देशका मेडिकल कलेजको गुणस्तरमा प्रश्न उठ्न थालेपछि पनि नेपाली विद्यार्थीले विदेशी मेडिकल तथा डेन्टल कलेजलाई कम प्राथमिकता दिएको चिकित्सकहरु बताउँछन्।
प्रवेश परीक्षा सुरु हुनुभन्दा अघिल्लो वर्ष र प्रवेश परीक्षा लागू भएको वर्ष कुन देशमा कति विद्यार्थी अध्ययनका लागि विदेशिय तथ्यांकमा हेरौ :
कुन देशमा कति?
एमबिबिएस र बिडिएस
देश सन् २०१५ (परीक्षाको व्यवस्था नभएको वर्ष) सन् २०१६ (प्रवेश परीक्षा सुरु भएको वर्ष)
बंगलादेश १०६४ ३२८
फिलिपिन्स १११ २५
जर्मनी ० २
चीन २०९ ६६
भारत २८ ३४
किर्गिस्तान १ १
इजिप्ट १३ ४
रसिया २० ३
पाकिस्तान १४ १३
मोरिसस ० १
इरान ० १
जम्मा १४६१ ४७८