जन्मेको सात महिनासम्म स्वस्थ रहेकी डोटी सायल गाउँककी लालीलक्ष्मी खाती त्यसपछि पटक–पटक बिरामी हुँदै गइन् । उनी बिरामी परिरहेपछि परिवारले उनलाई सुरुमा झारफुक तथा अन्य घरेलु उपचार गरे । तर, समस्या ज्युँकात्युँ । यो क्रम पाँच महिनासम्म चलिरह्यो । उनी झन्झन् दुब्लाउँदै गइन् । समस्या बल्झिँदै गएपछि महिला स्वास्थ्य स्वयंसेविकाको सिफारिसमा आफन्तले उनलाई धनगढीस्थित पोषण पुनःस्थापना गृहमा ल्याए ।
पोषण गृहमा एक महिना बसेपछि खाती स्वस्थ मात्र भइनन् मोटाइन् पनि । त्यसपछि अभिभावकले उनलाई पुनः डोटी नै लगे । डोटी लगेको केही महिना लालीलक्ष्मीमा कुनै समस्या आएन । तर, फेरि उनी बिरामी हुन थालिन् । निरन्तर पखला लाग्ने, ज्वरो आउने समस्या दोहोरियो । आफन्तले उनलाई फेरि धनिगढीकै पोषण गृहमा ल्याए । एक वर्षअघि स्वस्थ बनाएर पठाएकी बालिका पुनः उही अवस्थामा आएपछि पोषण गृहकी इन्चार्ज गीता विष्टले बालिकासँगै आएकी हजुरआमा देवादेवी खातीसँग बालिका दुब्लाउनु र बिरामी हुनुको कारण खोतलिन् ।
देवादेवीले भनिन्, ‘यताबाट गएपछि दुई–तीन महिना राम्री थिई तर पछि फेरि बिरामी हुँदै गई । मैले त पहिलै यहाँ आउने भनेको, यसका आमाबुबाले मानेनन् । काम छाड्न सकिन्न ठिक हुन्छे भन्दै उतै राखे ।’
विष्टले सोधिन्, ‘हामीले पोषिलो खानेकुरा खुवाउनुपर्छ । आफ्नै घरखेतमा पाइने अन्न, गेडागुडी, दूध, सागसब्जी मिलाएर खुवाउने अनि बेलाबेलामा माछामासु पनि खुवाउने भनेका थियौं नि त । त्यसो नगरेको हो र ?’
देवादेवीले जवाफ दिइन्, ‘सुरुसुरुमा त त्यस्तै गरेकी थिइन् बुहारीले तर पछि खेतबारीमा काम गर्नुपर्ने भएपछि यसलाई घरमा थुनेर जान्थ्यौं । घरमा यसलाई एक्लै थुलेर जाँदा भोक लागेको बेलामा खाना खाओस भनेर कचौरामा दाल–भात र तरकारी राखेर जान्थ्यौं ।’ देवादेवीका अनुसार लालीलक्ष्मीले बेलुका आउँदा केही खाएकी हुँदैन थिइन्, खानेकुरा पोखिएको हुन्थ्यो ।
पोषण गृहकी इन्चार्ज विष्टले लालीलक्ष्मीलाई फेरि कुपोषणको समस्या दोहोरिनुको कारण चाल पाइहालिन् । भन्छिन्, ‘घरभित्र कचौरामा राखेको खाना यी बच्चीले भुइँमा पोख्ने अनि भोक लाग्दा फेरि त्यही खाने गर्दा संक्रमण र पोषणको अभावमा कुपोषित भएकी हुन् ।’ उनका अनुसार हुर्कंदो बच्चालाई अभिभावकको निगरानीमा थोरै–थारै गरी दिनमा ५–६ पटक अन्न, गेडागुडी, फलफूल, सागसब्जी, दूध लगायतका खाना मिलाएर खुवाउनुपर्छ । तर, डोटीका यी अभिभावकले जतिबेला पनि भात दिने र दिउँसभरि एक्लै छाड्दा कुपोषण बल्झिएको हो ।
पोषण इन्चार्ज विष्टले पोषण गृहमा हालसम्म १ हजार १ सय ७२ बालबालिकाको उपचार भएको बताइन् । गृहमा डेढ केजी मात्र तौल भएका बच्चाको समेत उपचार भएको छ । गृहले वार्षिक १ सय २० जना कुपोषित बालबालिकामा पोषण भर्ने लक्ष्य लिएर काम गर्दै आइरहेको विष्टले जानकारी दिइन् ।
‘सुदूरपश्चिमका ९ वटै जिल्लाबाट रिफर भएर बच्चा आउने भएकाले वर्षिक लक्ष्य भन्दा बढी बालबालिकालाई सेवा दिइरहेका छौं,’ उनले भनिन्, ‘गत वर्ष १ सय ४८ जना भर्ना भएका थिए ।’ उनका अनुसार सुदूरपश्चिममा चेतनाको अभाव, गलत परम्परा र खान नजान्ने कारणले धेरै बालबालिका कुपोषणको सिकार भएका छन् ।
उनले पोषण गृहको क्षमता १० बेडको मात्र भएकाले धेरैलाई सेवा दिन नसकिएको गुनासो गरिन् । ‘भौतिक पूर्वाधार र जनशक्ति थप्ने हो भने धेरैलाई सेवा दिन सकिन्थ्यो,’ उनले भनिन्, ‘हामीकहाँ पर्याप्त जनशक्ति हुने हो भने समुदायमा पनि सेवा विस्तार गर्न सकिन्थ्यो ।’
बालबालिकामा कुपोषणको समस्या दुर्गम क्षेत्रमा मात्र नभई सहरी क्षेत्रमा पनि छ । बच्चालाई खाना खुवाउन नजान्दा, बर्सेनि बच्चा जन्माउँदा, बढी मात्रामा जंकफुड खुवाउँदा र केहीमा गरिबीका कारण कुपोषणको समस्या देखिने गरेको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल बताउँछन् ।
पोखरा महानगरपालिकाभित्रै पर्ने बार्कामकी शान्तिमाया विश्वकर्मा छोरालाई कुपोषणको समस्या देखिएपछि पोखरा क्षेत्रीय अस्पतालमा रहेको पोषण पुनःस्थापना केन्द्रमा पुगिन् । छोरालाई पखाला चलिरहने समस्या भएपछि उनले अस्पताल पु¥याएकी थिइन् । अस्पतालले कुपोषण भएको भनेर पोषण गृहमा रिफर गरिदियो । महानगरभित्रकै बासिन्दा भए पनि उनलाई परिवार नियोजनका अस्थायी साधन, जन्मान्तर जस्ता विषयमा थाहा रहेनछ । उनले एउटा बच्चा वर्ष दिन नपुग्दै अर्काे बच्चा जन्माएकी थिइन् ।
‘बच्चालाई समय मिलाएर खुवाउन नजानेको र छिट्टै अर्को बच्चा जन्मिएका कारण कुपोषण भएको रहेछ,’ उनले भनिन्, ‘चार सन्तानमध्ये तीन त बर्सौटे छन् । कहाँ गएर अस्थायी साधन लिने भन्ने थाहा थिएन । त्यसैले वर्षैपिच्छे बच्चा जन्मायौं । पुनःस्थापना केन्द्रका कर्मचारीले अब बच्चा नपाउनू, परिवार नियोजन गर्नु भन्नु भएको छ । अनि पोषिलो खानेकुरा खाने र बनाउने तरिका पनि सिकाउनु भएको छ ।’ उनले पोषणगृहमा आफूजस्ता अन्य ८–१० जना आमाले छोराछोरीलाई समस्या भएर ल्याएको र एक महिना बसेपछि निको भएर फर्किएको जानकारी दिइन् ।
कोशी अञ्चल अस्पतालमा रहेको पोषण गृहले समेत हरेक वर्ष ७० देखि ८० बालबालिकालाई सेवा दिँदै आइरहेको छ । १० बेड क्षमताको उक्त गृहमा मोरङ, सुनसरी, झापा, धरान, धनकुटा, सिरहा, सोलुखुम्बु लगायत जिल्लाबाट कुपोषण भएका बालबालिकालाई उपचारका लागि ल्याउने गरेको गृहमा कार्यरत नर्स रेजिना राईले बताइन् ।
‘कडा कुपोषणका कारण परिवारले आसै मारिसकेका बालबालिकलाई समेत स्वस्थ बनाएर घर पठाउन सकेका छौं,’ उनले भनिन्, ‘विपन्न परिवारका मात्र होइन हुनेखाने परिवारकै बालबालिकामा समेत कुपोषण भएर यहाँ ल्याउने गरेका छन् ।’ उनका अनुसार सम्पन्न परिवारले बच्चालाई बजारिया खानेकुरा खुवाउन जोड दिएका कारण कुपोषण हुने गरेको छ।
कञ्चनपुरमा रहेको महाकाली पोषण पुनःस्थापना गृहकी न्युट्रिसियन म्यानेजर इन्दिरा भट्टका अनुसार गृहले हालसम्म १ हजार ४ सय ३७ बालबालिकालाई सेवा दिएको छ । यस्तै, नेपालगन्जको पोषण पुनःस्थापना गृहले एक हजार ९२ जनालाई उपचार सेवा दिएको गृहकी अनमी विमला शर्माले जानकारी दिइन् ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले दुर्गमदेखि सहरी क्षेत्रमा कुपोषित बालबालिकाका लागि पोषण पुनःस्थापना गृह बरदान सावित भएको बताए ।
‘कुपोषित बालबालिकाको उपचारसँगै पोषण पुनःस्थापना गृहले बाल मृत्युदर घटाउन ठूलो सहयोग गरेको छ,’ उनले भने, ‘यस्ता गृहले बच्चाको जीवन बचाउनुका साथै ती बालबालिकाको स्वास्थ्यमा समेत सुधार ल्याइरहेको छ ।’ उनका अनुसार देशभरि पोषण पुनःस्थापना गृह २१ स्थानमा छ ।
यी गृहमा कुपोषित बालबालिकाको निःशुल्क उपचार हुन्छ । विभागले आवश्यकताको पहिचान गरेर डडेलधुरा, सिन्धुपाल्चोक र दैलेखमा पनि पोषण पुनःस्थापना गृह खोल्न लागेको उनले जनाए । ‘पोषण गृह बाहेक ३२ जिल्लामा कुपोषित बालबालिकाको उपचारका लागि केन्द्रहरु छन्,’ उनी भन्छन्, ‘कलिला बालबालिकामा पोषण भर्ने यस्ता केन्द्र पनि आवश्यकता अनुसार विस्तार गरिनेछ ।’
उनका अनुसार पोषण गृहमा कुपोषित बच्चासँगै बच्चाको आमा तथा परिवारका कोही एक सदस्य अनिवार्य बस्नुपर्छ । गृहमा एक महिनासम्म बच्चालाई पोषिलो खानेकुरा खुवाइन्छ । यस अवधिमा गृहमा आवासीय रुपमा बस्ने आमा तथा अभिभावकलाई पोषिलो खानेकुराबारे जानकारी दिनुका साथै स्थानीय स्तरमा खाद्यन्न उत्पादनको तौरतारिका सहित खाने तरिका पनि सिकाइन्छ। बालबालिका र अभिभावकले गृहमा यी सबै सेवा निःशुल्क पाउँछन् ।
बाल रोग विशेषज्ञ डा रमेशकान्त अधिकारीका अनुसार कुपोषण भएमा शारीरिक र मानसिक विकासमा गम्भीर असर पर्छ । आइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषणतत्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोगले सताउँछ । उनी भन्छन्, ‘पोषकतत्व नपुग्दा बच्चालाई रोगले सताउने मात्र होइन मृत्यु समेत हुनेगर्छ । अझै पनि दुर्गम जिल्लामा कुपोषणका कारण ज्यान जुमाउने बालबालिका धेरै छन् । त्यसकारण सरकारका कार्यक्रम ती क्षेत्रमा बढी लक्षित हुनुपर्छ ।’
भेरी अञ्चल अस्पतालका डा. कुलदीप गोइतका अनुसार कुपोषित बालबालिका भविष्यमा रोगी हुनुका साथै पुड्का समेत हुन्छन् । ‘कडा कुपोषित बालबालिकाको त मृत्यु नै हुन्छ,’ उनी भन्छन्, ‘मध्यमखालका कुपोषितहरु मानसिक र शारीरक रुपमा कमजोर हुन्छन् ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा विनोद अर्यालले गर्भावस्थामा आमालाई आयोडिन नपुगेमा सुस्त मनस्थितिको बच्चा जन्मने सम्भावना बढी हुने बताए । उनका अनुसार बच्चाको हाडको विकास पनि पर्याप्त हुँदैन र पुड्कोपन सुरु हुन्छ । गर्भवती आमालाई जन्डिस, मधुमेह, उच्च रक्तचाप, एचआइभी भएमा पनि बच्चाको शारीरिक, वौद्धिक विकासमा असर पर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बालबालिका कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु मात्र होइन मानसिक रुपमा पनि कमजोर हुनु हो । संसारमा जति पनि रोगहरू छन्, तीमध्ये धेरैको कारक तत्व कुपोषण नै हो । यही तथ्यलाई मनन् गर्दै सरकारले बालबालिकालाई राम्रो पोषणको व्यवस्था गर्ने कार्यक्रममा जोड दिइरहेको पोषण शाखा प्रमुख पोखरेलले बताए ।
मानिसको मस्तिष्कको ८० प्रतिशत विकास २ वर्षभित्र हुने भएकाले त्यही उमेरभित्र पोषणको अवस्था सुधार गर्न कार्यक्रम लक्षित छन् । साथै बच्चाका आमा लक्षित पोषण कार्यक्रम पनि चलेको छ ।
नेपालमा कुपोषणको दर घट्दै गएको र स्वस्थ बच्चा हुर्कंदै गएको पुष्टि केही महिनाअघि सार्वजनिक भएको जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले गरेको छ । सर्वेक्षण अनुसार कुपोषणका कारण बालबालिकामा हुने पुड्कोपनको समस्या घटेर ३६ प्रतिशतमा आएको छ । पाँच वर्षअघि पुड्कोपनको दर ४१ प्रतिशत थियो । यस्तै, सर्भेक्षण अनुसार १० प्रतिशत बालबालिकामा उचाइ अनुसार कम तौल (जसलाई शीघ्र कुपोषण भनिन्छ) र २७ प्रतिशत बालबालिकामा उमेर अनुसारको कम तौल देखिएको छ । पाँच वर्ष अघि ११ प्रतिशतमा उचाइ अनुसार कम तौल र २९ प्रतिशतमा उमेर अनुसार कम तौलको समस्या थियो ।
यस्तो हुनुपर्छ बच्चाको तौल र उचाइ
डब्लुएचओका अनुसार बच्चा जन्मँदा साढे २ देखि ३ केजीसम्मको तौललाई सामान्य मानिन्छ । बच्चाको उमेर ५ देखि ६ महिनासम्म पुग्दा जन्मँदाको तौलभन्दा दोब्बर र वर्षदिनमा तेब्बर हुनुपर्छ । त्यसपछि दोस्रो वर्षमा बच्चाको तौल साढे २ केजी थप हुनुपर्छ ।
डब्लुएचओका अनुसार सामान्यतया बच्चा जन्मिँदा औसत ५० सेन्टिमिटर उचाइको हुन्छ । त्यसपछि पहिलो वर्षमा २५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यसैगरी, दोस्रो वर्षमा १२ दशमलव ५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यस हिसाबमा हेर्दा, २ वर्षको उमेरसम्ममा बच्चाको उचाइ औसतमा ८७ दशमलव ५ सेन्टिमिटर हुनुपर्छ । बच्चाको उचाइ २ वर्षको उमेरमा जति हुन्छ, युवा अवस्थामा ठिक त्यसको दोब्बर हुनुपर्छ । अर्थात् युवा अवस्थामा औसतमा मानिसको उचाइ एक मटिर ७५ सेन्टिमिटर हुनुपर्छ ।
कुपोषणका यस्ता कारण
छाउपडी,
खाना खुवाउन नजान्ने,
खानाप्रतिको गलत धारणा,
महिला हिंसा,
छोरा–छोरीबीचको विभेद,
बच्चालाई छाडेर सुत्केरी आमा काममा जानुपर्ने वाध्यता,
जंकफुड,
बालविवाह,
धेरै बच्चा जन्माउनु,
परिवार नियोजनको साधन प्रयोग नगर्नु, आदि ।