सबैभन्दा जेठो वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेको देशको केन्द्रीय अस्पताल पनि हो । बिरामीको चाप निरन्तर भए पनि अस्पतालको सीमित क्षमताका कारण यो अस्पतालबाट बिरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन्।
अस्पतालको हालको अवस्था र सुधारका कामबारे न्याम्सका उपकुलपति डा गणेश गुरुङसँग स्वास्थ्यखबरका प्रवीण ढकालले गरेको कुराकानीः
तपाईंले न्याम्सको उपकुलपतिको जिम्मेवारी सम्हालेयता सुधारका के–के काम भए?
म यहाँ आएको तीन वर्ष तीन महिना भइसकेको छ । मेरो कार्यकालको अब करिब ८ महिना मात्र बाँकी छ । जतिबेला हामीले जिम्मेवारी सम्हालेका थियौं, वीर अस्पतालको अवस्था निकै जर्जर थियो । अस्पताल पूरै ऋणमा थियो । सामान किनेको पैसा तिर्न सक्ने अवस्था थिएन । कतिसम्म भने, कर्मचारीलाई तलब–भत्ता दिन समेत गाह्रो थियो ।
अस्पतालमा सिटी स्क्यान थिएन, रेडियोथेरापी मेसिन क्र्यास भइसकेको थियो । हामीले मन्त्रीसँग पैसा होइन, उपकरण दिनुहोस् भन्यौं । त्यही अनुसार क्रमशः काम अगाडि बढ्दै गयो । तर, छोटो समयमा धेरै मन्त्री परिवर्तन हुँदा सोचे जस्तो काम भने हुन सकेन । तैपनि हामी स्वास्थ्य मन्त्रालयमा अस्पतालको विकासका कार्यक्रम लिएर निरन्तर गइरह्यौं । गगन थापा मन्त्री हुँदा तुलनात्मक रुपमा हामीले उपकरण खरिदका लागि माग गरेअनुरुप बजेट पायौं । अहिले अस्पतालमा भनेजस्तो उपकरणहरु आएको छ।
अहिले १२८ स्लाइसको सिटी स्क्यान आएको छ । १.५ टेस्लाको एमआरआई छ । न्युरो, युरो, हेपाटोली, क्यान्सर, नाक, कान घाँटी, छाला सबै विभागमा आधुनिक उपकरण आएको छ । कोही आउने क्रममा छ।
अस्पतालको ल्याब विस्तार गरेका छौं । हरेक विभागको क्षमता बढाएर गुणस्तरीय सेवा दिने काम भएको छ । बिरामीलाई समस्या नहोस् भनेर क्यु सिस्टम सुरु भएको छ । काउन्टरको संख्या पनि बढाइएको छ । उता ट्रमा सेन्टरको सेवा विस्तार भएको छ । चल्नै नसकेको ट्रमा सेन्टर चल्नु ठुलो उपलब्धि हो । त्यहाँ पनि आधुनिक उपकरण आएका छन् । अहिले वीर अस्पताल चामत्कारिक रुपमा सुधार हुँदै गएको छ।
अस्पताल ऋणमा गएको थियो भन्नुभयो, अहिले के छ त अवस्था?
मन्त्रालयको सहयोग र हाम्रो टिमको मिहिनेतबाटा अहिले हामी राम्रो आम्दानी गर्न सक्ने अवस्थामा पुगेका छौं । गत आर्थिक वर्ष अस्पतालले ४२ करोड रुपैयाँ आम्दानी गर्यो । त्यसभन्दा अघिल्लो वर्ष २३ करोड मात्र आम्दानी थियो । क्रमशः अस्पतालको आम्दानी बढ्दै गएको छ । ऋणमा डुबेको अस्पताललाई करोडौं आम्दानी गर्नसक्ने बनाउनु उपलब्धिको कुरा हो । यो पूरै टिमको मिहेनतको प्रतिफल हो । ट्रमा सेन्टरले पनि गत वर्ष ६ करोड आम्दानी गर्यो । हुन त अस्पतालको सञ्चालन खर्च सरकारले नै बेहोर्ने भएकाले हाम्रो खर्च त्यति धेरै हुँदैन । तर, हामीले अस्पताललाई राम्रो अवस्थामा ल्याएका छौं।
.jpg)
तपाई उपकुलपति भएपछि मात्र चार/पाँच पटक मन्त्री फेरिए, यी सबै मन्त्रीमध्ये को सँग काम गर्न सहज भयो?
तीन वर्ष तीन महिना काम गर्दा चार/पाँच जना मन्त्री फेरिनुभयो । मैले नढाँटी भन्नुपर्छ, यो बिचमा मलाई काम गर्न सबैभन्दा सहज भएको गगन थापाको पालामै हो । अस्पतालका कुरा लिएर जाँदा एकै पटकमा कुरा बुझ्न सक्ने क्षमता छ उहाँसँग । उहाँले वीरको विकास र विस्तारलाई अहिलेसम्म नै सबैभन्दा धेरै सहयोग गर्नुभयो । उहाँलाई म हृदयदेखि नै धन्यवाद दिन्छु । उहाँले वीरमा चाहिने उपकरण लगायतका कुरा सहयोग गरेकै कारण अहिले वीरको हरेक विभाग आधुनिक र सुसिवधासम्पन्न हुन लागेका छन् । अरु मन्त्रीहरुले पनि मलाई असहयोग त गर्नुभएन । तर, उहाँहरुले कुरा बुझ्न अलि बढी समय लाग्यो।
उपकरण खरिद लगायत कुरामा मन्त्रीहरुले दबाब दिन्छन् भन्ने छ नि !
मन्त्रीहरुबाट त्यस्तो दबाब हुन्न । मन्त्रीले फलानो चिज खरिद गर, यो नगर भनेर अहिलेसम्म दबाव दिएका छैनन् । अस्पतालमा चाहिने उपकरणको सूची हामीले उहाँहरुलाई दिने हो । त्यसपछि उहाँहरुले आवश्यक बजेटको व्यवस्था गरिदिने हो । हामीले आवश्यकताका आधारमा सबै नियम पूरा गरेर फाइल अगाडि बढाएका हुन्छौं । त्यसकारण दबावका भरमा काम हुँदैन । बरु अस्पतालमा जनतालाई समस्या परेपछि शय्याको व्यवस्था सकेसम्म मिलाउनुहोला भनेर चाहिँ भन्नुभएको छ । जनप्रतिनिधिले जनतालाई सहज सेवा दिनू भनेका कुरालाई दबाव भन्न मिल्दैन।
अस्पतालको नयाँ भवन बनाउने कुरामा पनि टेन्डर मिलाउन दबाब छ भनिन्छ नि?
यो सरासर गलत कुरा हो । भवन निर्माणको सबै काम कानुनी प्रक्रिया अनुसार नै भएको छ । डिजाइन बनाउनेदेखि सबै काम कानुनी दायरामा रहेर नै भइरहेको छ । कसैले दबाव दियो भन्ने कुरा गलत हल्ला हो । हामी सबैले नियम–कानुनभित्र बसेर काम गर्नुपर्छ । कानुनभन्दा बाहिर जान मिल्दैन।
तपाईंले अस्पतालमा सुधारका फेहरिस्त देखाए पनि जनताले अनुभूति गर्ने काम केही भएनन् भन्ने छ नि, यसमा के भन्नुहुन्छ?
वीर अस्पतालप्रति जनताको धेरै अपेक्षा छ । त्यो अपेक्षा अनुसार हामीले सेवा दिन नसकेको कुरा साँचो हो । हाम्रो पनि बाध्यता छ । भूकम्पले अस्पतालको बेड संख्या खुम्चिएको छ । जसका कारण बिरामीले बेड पाउन लामो समयसम्म कुर्नुपर्ने, शल्यक्रियाको पालो पाउन गाह्रो हुने जस्ता समस्या छ । यसलाई हामीले समाधान गर्दै लाने योजना बनाएका छौं । अस्पतालको पुरानो संरचनाको कारण पनि धेरै समस्या परिरहेको हो।
.jpg)
ती समस्या समाधान गर्ने के छ त योजना?
वीर अस्पताललाई विस्तार नगरी यी सबै समस्या समाधान हुँदैन । विस्तारको काम अहिले तीव्र रुपमा अगाडि बढेको छ । अहिले वीर अस्पताल रहेको क्षेत्रमा कुल १५ सय शय्याको वीर कम्प्लेक्सका रुपमा विस्तार गर्ने योजना छ । अस्पतालको हाल ओपिडी रहेको भवनको पारिपट्टी भोटाहिटीसँग जोडिएको क्षेत्रमा ९ तलाको आधुनिक भवन बन्दै छ । त्यहाँ सम्पूर्ण सर्जिकल ब्लक रहनेछ । त्यस्तै, अहिले न्याम्स कार्यालय रहेको पुरानो भवन भत्काएर यहाँ मेडिकल ब्लक र जापानले बनाउन लागेको ९४ शय्याको भवनमा ‘सुपरस्पेसियालिटी ब्लक’ रहनेछ । यो सबै भयो भने अधिकांश समस्या समाधान हुनेछ । अर्को भनेको वीर अस्पतालको विस्तारित सेवा हो । त्यो चाहिँ भक्तपुर दुवाकोटमा हुनेछ। त्यहाँ अहिले हामीले ५ सय २० रोपनी जग्गा पाइसकेका छौं । त्यसमा के–के रहने भन्ने गुरुयोजना पनि बनिसकेको छ । त्यो बनेपछि सेवा अझ सहज हुनेछ।
वीर अस्पताल विकासको गुरुयोजना पटक–पटक बन्दै थन्किरहेका छन् । नयाँ योजना पनि त्यस्तै हुने हो कि?
विगतमा के–के भए, हामी त्यतातिर जानु हुँदैन । तर, पछिल्लो समयमा सबैको चासो वीरको विकास र विस्तार नै छ । जतिसुकै सरकार परिवर्तन भए पनि वीर अस्पतालको विकासमा चासो दिइएको पाइन्छ र काम पनि अगाडि बढेका छन् । त्यसैले अबका दिनमा त्यस्तो समस्या नआउँला । नौ तले भवनको त बोलपत्र प्रक्रिया नै लगभग टुंगिने क्रममा छ । सम्भवतः यो साता नै टुंगिन्छ । भक्तपुर दुवाकोटको विस्तारित कार्यक्रमका लागि पनि चीन, कोरिया, जापान र भारत लगायत देशले सहयोग गर्न चासो दिएका छन् । त्यसो हुँदा अब गुरुयोजना थन्किँदैन भन्नेमा म विश्वस्त छु।
वीर अस्पतालका कर्मचारीहरु कामभन्दा बढी राजनीति गर्छन् भन्ने आरोप छ नि?
कर्मचारी युनियनका फाइदा र बेफाइदा दुवै छन् । विगतमा यहाँ निकै धेरै राजनीति हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । हामीले सबैलाई मिलाएर काम लगाइरहेका छौं । हामी पनि राजनीतिक नियुक्ति नै हो । तर, हाम्रो प्रमुख उद्देश्य जनताको काम गर्ने हो । त्यसैले वीरमा अहिले सबै कुरालाई राजनीतिक नजरबाट हेर्न प्रवृत्ति कम भएको छ । सबैलाई सम्हालेर लगिरहेको छु।
न्याम्सले शैक्षिक गतिविधिमा के काम गर्दै छ?
न्याम्सले आफ्ना कार्यक्रम विस्तार गर्दै लगेको छ । जसअनुसार हाम्रो स्नातकोत्तर तहको कार्यक्रम अहिले नेपालगन्ज, विराटनगर र भरतपुर अस्पतालमा सुरु भइसकेको छ । बुटवलमा कुरा भइरहेको छ । वीरगञ्जसँग सम्झौता नै भइसके पनि यो वर्ष त्यहाँ फ्याकल्टी नपुगेकाले सञ्चालन भएको छैन । आगामी वर्ष त्यहाँ पनि कार्यक्रम चल्नेछ । यसका साथै ब्याचलर तहमा पनि आवश्यकता अनुसार कार्यक्रम विस्तार भएको छ । देशका लागि आवश्यक जनशक्ति जस्तै मिडवाइफरी 4, आँखाको अप्टोमेट्रिमा ब्याचलर तहको कार्यक्रम चलाउन लागिएको छ । बिएससी 4 सञ्चालनको आवश्यक तयारी पूरा भएको छ । पाठ्यक्रम बनाइसकेका छौं । अर्को वर्षबाट सञ्चालन हुनेछ । एमएससी 4 त चलाइसकेका छौं । रेडियोलोजीका कार्यक्रम पनि विस्तार गर्न लागिएको छ।