एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) का चिकित्सकले दक्षिणी राज्य उडिसाका टाउको जोडिएका जुम्ल्याहको शल्यक्रिया गरी सफलतापूर्वक छुट्याएका छन् ।
एम्सका ३० जना चिकित्सकले जुम्ल्याहाको टाउको छुट्याउन १६ घन्टा लगातार शल्यक्रिया गरेका थिए । शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी जुम्ल्याहा जग्गा र कलियालाई छुट्याएका थिए ।
एम्सले जारी गरेको विज्ञप्तिमा शल्यक्रिया सफल भएको र अहिले दुवै बालकको स्वास्थ्य स्थिति स्थिर रहेको उल्लेख छ ।
एम्सका अनुसार टाउको छुट्याउन चिकित्सकहरूले कात्तिक ८ (अक्टोबर २५) मा बिहान ६ बजे शल्यक्रिया सुरु गरेका थिए । २० सर्जन र १० एनेस्थेसिया विशेषज्ञसहित ३० जनाको टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रिया गर्न १६ घन्टा लागेको थियो । बुधबार राति ८ः४५ बजे जग्गा र कलियाको शिर अलग गरिएको थियो ।
‘जुम्ल्याहा छुट्याउन हामीले कैयौं चरणमा शल्यक्रिया गर्यौं । दुवै बालकको मस्तिष्क आपसमा जोडिएका थिए र मस्तिष्कका नशासमेत जोडिएका थिए,’ शल्यक्रिया गर्ने चिकित्सक टोलीमा सामेल न्युरोसर्जन दीपक गुप्ताले भने, ‘रक्त सञ्चार एउटै भएकाले एउटाको फ्लुइड (तरल पदार्थ) अर्कोमा गइरहेको थियो । यसैले पहिले रक्त सञ्चार प्रणाली नै छुट्याउनु आवश्यक थियो । शल्यक्रियाका दौरान एक जनाको हार्ट फेल हुने स्थिति आएको थियो भने अर्कोको मिर्गौलामा असर परिरहेको थियो ।’
मस्तिष्कको नशा जोडिएको र रक्तसञ्चार एउटै हुँदा पनि गरिएको शल्यक्रियाबारे डा गुप्ताले भने, ‘हामीले दुई चरणमा शल्यक्रिया गर्यौं । पहिलो चरणमा जुम्ल्याहाको नशाको बाइपास शल्यक्रिया गरियो, जुन सफल भयो । यसको एक महिनापछि रक्तसञ्चार सुचारु भयो तर मुटु कमजोर भइरहेको थियो । त्यसैले हामीले लगभग आकस्मिक तर योजनाबद्ध तरिकाले शल्यक्रिया गर्नु पर्यो ।’
उनले जुम्ल्याहाको शिर छुट्याउन मुटुको बाइपास सर्जरी गरेजस्तै मस्तिष्कको बाइपास सर्जरी गरेको बताए । उनले भने, ‘यसलाई भारतीय नयाँ प्रविधि भन्न सकिन्छ ।’
उनले शल्यक्रिया सफल भए पनि दुवै बालकको स्वास्थ्य स्थितिबारे अहिले नै केही भन्न नसकिने बताए । उनले भने, ‘अहिले त उनीहरू ठिक छन्, शल्यक्रियाका बेला पनि उनीहरूमा खासै समस्या देखिएन । तर यो लामो युद्धजस्तै हो ।
यसमा कम्तिमा पनि दुई तीन महिना लाग्न सक्छ । शल्यक्रियापछि यस्ता बालकमा हृदयघात हुने, मिर्गौला फेल हुने, मेनेन्जाइटिस हुने वा संक्रमण हुन सक्ने सम्भावना रहन्छ । उनीहरूको स्वास्थ्य स्थिति निरन्तर अनुगमन गरिरहेका छौं ।’
जुम्ल्याहा जग्गा र कलिया उडिसाको कन्धमाल जिल्लामा पर्ने मिलिपाडा गाउँका बासिन्दा भुइया कहार र उनकी पत्नी पुष्पाञ्जलीका सन्तान हुन् ।
किसान कहार परिवारले सुरुमा कटकस्थित एससिबी मेडिकल कलेजमा जुम्ल्याहो उपचार गराउने प्रयास गरेका थिए ।
त्यहाँ उपचारको प्रयास सफल नभएपछि भुइया आफ्नै गाउँ फर्केका थिए ।
उनले आफ्ना जुम्ल्याहा छोराको शिर छुट्टिने आस मारिसकेका बेला स्थानीय सञ्चारमाध्यमले उनीहरूबारे समाचार प्रकाशन÷प्रशारण गरेका थिए ।
यसपछि भने जिल्ला प्रशासनले जुम्ल्याको नयाँ दिल्लीस्थित एम्समा उपचार गराउने बन्दोबस्त मिलाएको थियो ।