एजेन्सी– बेलायतका अस्पतालले ‘सुपर साइज्ड’ चकलेट बारमाथि प्रतिबन्ध लगाएको त्यहाँको नेसनल हेल्ट सर्भिस (एनएचएस)ले जनाएको छ ।
एनएचएसका अनुसार अस्पतालभित्रका पसल, क्यान्टिन र भेन्डिङ मेसिनबाट अब यस्ता चकलेट किन्न पाइने छैन।
एनएचएस प्रमुख कार्यकारी अधिकृत साइमन स्टिभन्सका अनुसार अब बेलायतका अस्पतालभित्र बेचिने मिठाइ र चकलेट २ सय ५० क्यालोरीभन्दा थोरैका हुनुपर्नेछ ।
त्यसैगरी प्याक गरिएको स्यान्डविच पनि ४ सय क्यालोरीभन्दा थोरैको हुनेपर्नेछ भने प्रति सय ग्राममा स्याचुरेटेड फ्याट ५ ग्रामसम्म मात्र हुनुपर्नेछ ।
प्रति सय मिलिलिटर पेय पदार्थमा ५ ग्रामसम्म मात्र चिनीको मात्रा हुनुपर्नेछ।
गत अप्रिलमा एनएचएसले अस्पतालभित्रका पसलहरूमा चिनीयुक्त पेय पदार्थको बिक्री नघटाए त्यस्ता पेय पदार्थ बेच्नमा प्रतिबन्ध लगाउने जनाएको थियो ।
स्टिवन्सले बढ्दो मोटोपन, मधुमेह, दाँतको खराबी, मुटुसम्बन्धी रोग र क्यान्सरविरुद्ध एनएचएसले आवश्यक कदम चाल्ने बताए।
‘धेरै क्यालोरी र चिनीयुक्त स्न्याक्सको साटो हामी अस्पतालका कर्मचारी, बिरामी र आगन्तुकहरूले स्वस्थ्य खानेकुरा खान पाउन भन्ने चाहन्छौं,’ उनले भने ।
एनएचएसका कर्मचारीलाई समेत अब स्वस्थकर खानेकुरा खानुपर्ने व्यवस्था गरिन लागेको छ ।
एनएचएसका कूल १३ लाख कर्मचारीमध्ये करिब ७ लाख कर्मचारी मोटोपनका सिकार छन्।
बेलायतका अस्पतालहरूमा बिक्री केन्द्र रहेको द रोयल भोलन्टरी सर्भिसले भने आफूले स्वस्थकर खानेकुरा बिक्री गर्न थालेको र फलफूलको बिक्री बढेको जनाएको छ ।
वेल्स सरकारका प्रवक्ताले त्यहाँका अस्पतालमा चकलेट बारलगायत अन्य चिनीयुक्त गुलिया खानेकुरा बिक्रीमा ९ वर्षअघि नै रोक लगाइसकेको बताएका छन् ।
कति ग्रामको चकलेटमा कति क्यालोरी
५१ ग्रामको मार्स चकलेट बारमा २३० क्यालोरी
४८ ग्रामको स्निकर चकलेट बारमा २४५ क्यालोरी
४५ ग्रामको क्याडबरी डेरी मिल्क चकलेट बारमा २४० क्यालोरी
११९ ग्राम क्याडबरी डेरी मिल्क जाएन्टमा ५३५ क्यालोरी
९३ ग्राम माल्टिजर्स पाउचमा करिब ४७० क्यालोरी
१९० ग्राम हारिबो ट्याङफास्टिक चकलेटमा ६६० क्यालोरी
१४० एम एन्ड एम पिनट पाउचमा करिब ७२० क्यालोरी
२०० सय ग्रामको मिल्क चकलेट इक्लेयर्सको प्याकेट ९०० क्यालोरी