एजेन्सी- बेलायतमा कृत्रिम हिप फेरेका सयौं बिरामीले हिप निर्माता कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
कम्पनीद्वारा निर्मित हिप त्रुटीपूर्ण रहेको र तिनै हिप आफूलाई फेरिएको भन्दै उनीहरूले मुद्दा दायर गरेका हुन् ।
बेलायतमा यो मुद्दाको सुनुवाइ वस्तु उत्पादनसम्बन्धी अहिलेसम्मकै ठूलो सामूहिक सुनुवाइ हुने बताइएको छ ।
कृत्रिम हिप निर्माता कम्पनी दे प्यू सिन्थेसिसले भने धातुका हिप त्रुटिपूर्ण भएको र हिप फेर्ने शल्यक्रिया गर्न बिरामीलाई धेरै समय लागेको आरोप अस्विकार गरेको छ ।
दे प्यूले सन् २०१३ मा नै कृत्रिम हिप पिनाकल अल्टामेटको उत्पादन र बिक्री बन्द गरिसकेको छ ।
वकिलले आफ्ना बिरामीहरूमा धातुका हिपबाट निस्कने धातुका ससाना कणबाट नकारात्मक असर परेको, यस्ता कणले हिप वरपरका टिस्यु बिग्रने र हिप दुख्नुका साथै दुख्ने दाबी गरेका छन् ।
वकिलहरूले दे प्यू कम्पनीले उत्पादन गरेको पिनाकल अल्टामेट हिप ज्वाइन्ट फेरेका ३ सय १२ जना बिरामीले हिपले काम नगरेपछि दोहो¥याएर शल्यक्रिया गर्नु परेको दाबी समेत गरेका छन् ।
मुद्दामा भएको पहिलो दिनको सुनुवाइमा वकिलहरूले अदालतसामु धातुका पिनाकल अल्टामेट हिप फेरेको १० वर्षपछि काम नगर्ने दर अन्य कृत्रिम हिपको तुलनामा ६ गुणा बढी रहेको तथ्य प्रस्तुत गरेका थिए ।
बिरामीहरूले हिपको बल एन्ड कप जोर्नी फेर्न दे प्यूद्वारा उत्पादित धातुको बल र कपले प्रयोग गरेका थिए ।
दे प्यू बाहेक धातुका कृत्रिम हिप निर्माता कम्पनीविरुद्ध यस्तै मुद्दा हाल्न अरु सयौं बिरामी तम्तयार रहेका छन् । उनीहरू दे प्यूविरुद्धको मुद्दाको फैसला पर्खेर बसेका छन् । अहिले चलिरहेको मुद्दामा अदालतले आगामी जनवरीको अन्त्यसम्म फैसला सुनाउने अपेक्षा गरिएको छ ।
कृत्रिम हिप निर्माता कम्पनी दे प्यूले भनेको छ, ‘हाम्रा उत्पादन उपयोग गरेका बिरामीप्रति हाम्रो दायित्व खासै ठूलो छैन । किनभने ती उत्पादनको परीक्षणसम्बन्धी तथ्यांकले बिरामीको दुखाई घटेको र हिँडडुल गर्न सक्ने देखाएको छ । हामी यो मामिलामा हामीविरुद्ध लगाइएका आरोप र कानुनी दायित्वको प्रतिवाद गर्छौं ।’
यसै वर्षको सुरुमा बेलायतको स्वास्थ्य उत्पादन नियामक निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएएचपिआरए)ले धातुका कृत्रिम हिप फेरेका सबै बिरामीले हिपमा आउनसक्ने कुनै पनि जटिलताका लागि नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका थियो ।
यसअघि भने एमएचपिआरएले विशेष खालका कृत्रिम जोर्नी फेरेका वा समस्या देखिएका बिरामीले मात्र स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका थिए ।
करिब ५६ हजार बेलायतीले धातुका हिप फेरेका छन् ।
अर्थोपेडिक, न्युरोसर्जरीसम्बन्धी मेडिकल उपकरण तथा घुँडा र हिपलगायत विभिन्न कृत्रिम जोर्नी निर्माता अमेरिकी कम्पनी दे प्यूको स्वामित्व सन् १९९८ मा बहुराष्ट्रिय कम्पनी जोन्सन् एन्ड जोन्सन्ले लिएको छ ।
जोन्सन् एन्ड जोन्सन्ले अहिले कृत्रिम हिपमा समस्यासम्बन्धी करिब ११ हजार मुद्दा खेपिरहेको छ ।