दीर्घकालीन दुखाइ भनेको के हो?
दुखाइ विभिन्न प्रकारका हुन्छन्। समयावधिको आधारमा दुखाइलाई दुई किसिममा विभाजन गरिएको छ। एक्युट पेन भनेको तीन महिनाभन्दा कम अवधिको दुखाइलाई भनिन्छ जो घाउ, चोटपटक अथवा अप्रेशनसंग जोडिएको दुखाइ हो। जुनचाँही त्यो रोगसँगै वा समस्यासँगै निको भएर जान्छ। क्रोनिक पेन/ दीर्घकालिन दुखाइ भनेको तीन महिना भन्दा बढी अवधिको दुखाइलाई भनिन्छ। जो प्रायजसो रोग वा समस्या निको भइसक्दा पनि दुखाइ भने रहिरहन्छ। विश्वमा २० देखि ३० प्रतिशत जनसंख्या, दीर्घकालीन दुखाइबाट पीडित छन्। जीवनकाल निरन्तर बढ्दै जाँदा, दीर्घकालिन दुखाइको रोगीको संख्या पनि निरन्तर बढिरहेको छ।
पेन मेडिसिन भनेको के हो? पेन फिजीसियन कसलाई भनिन्छ?
पेन मेडिसिन भनेको शरीरको पीडा कम गर्ने विज्ञानको अध्ययन होI यो एउटा चिकित्सा विज्ञानको अत्याधुनिक अनुशासन अथवा मेडिकल सुपरस्प्यासिलिटी हो। एमबीबीएस, एमडी एनेस्थेसिया उत्तीर्ण गरिसकेका चिकित्सकहरूले पेन मेडिसिनमा फेलोसिप गर्न योग्य हुन्छन्। यस्ता चिकित्सकलाई पेन फिजिसियन भनिन्छ। पेन फिजिसियन प्रायः विभिन्न प्रकारका क्रोनिक पेन/दीर्घकालिन दुखाइ जस्तै मांसपेशीको दुखाइ, जोर्नीको दुखाइ, कम्मरको दुखाइ, न्यूरोपैथिक पेन (स्नायु र नसासम्बन्धी पीडा) इत्यादिको उपचारमा विशेषज्ञ हुन्छन्।
दीर्घकालीन दुखाइको कारणहरु के के हुन सक्छन् ?
• ढाड वा मेरुदण्डको दुखाइ (स्लिप डिस्क, सियाटिका ),
• घुँडाको दुखाइ (अस्टियोआरथराईटिस, मेनिस्कस टिएर),
• गर्दनको दुखाइ,
• टाउको को दुखाइ,
• अनुहारको दुखाइ ( ट्राइजेमिनल न्यूराल्जिया)
• कुम्भको दुखाइ (फ्रोजन शोल्डर)
• क्यान्सरको कारण हुने दुखाइ,
• गठिया अर्थात् जोर्नीको दुखाइ
• ओस्टियोपोरोसिस र मेरुदण्डमा ओस्टियोपोरोसिसको कारण हुने फ्रैक्चर
• न्यूराल्जिया या न्यूरोपैथिक दुखाइ
क्रोनिक दुखाइका सबै बिरामीले यो बुझ्नु अति आवश्यक छ कि, क्रोनिक दुखाइलाई सुगर, ब्लड प्रेसर, मुटुरोग जस्ता अन्य सबै पुरानो रोगहरु जस्तै सजिलै नियन्त्रण गर्न सकिन्छ। तर अन्य पुराना रोगहरु जस्तै कहिलेकाहीं पुरानो दुखाइको पनि जरैदेखि उपचार हुँदैन। त्यसैले तपाईं आफ्नो पेन फिजिसियनसंग लगातार सम्पर्कमा हुनुपर्छ।
पेन फिजिसियनले दीर्घकालीन दुखाइलाई कसरी उपचार गर्छ?
पेन फिजिसियनले शरीरको दुखाइको कारण पहिचान गर्ने र त्यसको उपचारको काम गर्छन्। दुखाइको कारण पहिचान गर्ने कामलाई 'पेन जेनरेटर' भनिन्छ र त्यसको उपचारका लागि विभिन्न विधिहरू जस्तै: औषधि, फिजियोथेरापी, एक्सरसाइज र इन्जेक्सन (मिनिमल इन्भेजिभ पेन एन्ड स्पाइन इन्टरभेन्सन- एमआइपिएसआइ)को प्रयोग गर्ने गर्छन्। यसमा सामान्यतया अरू विषेशज्ञ जस्तै: फिजियाथेरापिस्ट, रियह्याबिलिटेशन स्पेसलिस्ट, साईकाइट्रिष्ट र अन्य मेडिकल कन्सल्टेन्टहरूको टोलीसँग मिलेर काम गर्ने गरिन्छ।
'मिनिमल्ली इन्भेजिभ पेन एन्ड स्पाइन इन्टरभेन्सन' कसरी उपयोगी हुन्छ?
पेन मेडिसिनको उपचारका विभिन्न शैलीहरू मध्य एक विशेष प्रविधि एमआइपिएसआइ हो। यदि, दीर्घकालीन दुखाइ, विभिन्न कन्झरभेटिभ म्यानेजमेन्ट जस्तै मेडिकल फर्माकोथेरापी (औषधि), फिजियोथेरापी आदिबाट सन्चो नभएमा, त्यस्तो बेला एमआइपिएसआइI विधिको प्रयोग गरिन्छ। एमआइपिएसआइ विधामा अल्ट्रासाउन्ड वा एक्स-रे मेसिनबाट हेरेर, समस्या भएको ठाउँमा निडललाई पुगाइन्छ र टारगेटेड थेरापी गरिन्छ। एमआइपिएसआइ विधिले कुनै पनि ठूलो अपरेशन बिना, कुनै चीरा वा टाँका बिना, पूर्ण बेहोशी बिना, अर्थात् सामान्य एनेस्थेसियामै, दीर्घकालीन दुखाइलाई सम्बोधन गर्ने गर्छ। कहिलेकाँही दीर्घकालीन दुखाइको कारण पत्ता लगाउन गाह्रो भएमा, कारण पत्ता लगाउनमा पनि एमआइपिएसआइले सहयोग गर्छ।
मिनिमल्ली इन्भेजिभ पेन एन्ड स्पाइन इन्टरभेन्सनका फाइदाहरु
• दीर्घकालीन दुखाइको उपचार
• कुनै ठूलो अपरेशन, चीरा वा टाँका, आवश्यक पर्दैन
• पूर्ण एनेस्थेसियाको (बेहोशी) आवश्यकता पर्दैन
• लामो समयसम्म अस्पताल भर्ना हुनु पर्दैन
• कम खर्च
• उपचार पछि लामो समय आराम गर्न आवश्यक पर्दैन
• पेनकिलरको दीर्घकालीन प्रयोग र यसका साइड इफेक्टहरूबाट मुक्ति
नेपालमा रहेको विभिन्न सरकारी र गैर-सरकारी 'पेन मेडिसिन क्लिनिक' को सूची
सरकारी 'पेन मेडिसिन क्लिनिक:
1. वीर अस्पताल, महाबौद्ध, काठमाडौँ ।
2. नेशनल ट्रमा सेन्टर, महाबौद्ध, काठमाडौँ ।
3. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौँ ।
4. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर।
5. नेपाल पुलिस अस्पताल, महाराजगन्ज, काठमाडौँ ।
6. श्री वीरेन्द्र अस्पताल, छाउनी, काठमाडौँ ।
7. निजामती कर्मचारी अस्पताल, न्यु बानेश्वोर, काठमाडौँ ।
8. बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान।
गैर-सरकारी 'पेन मेडिसिन क्लिनिक:
1. नेपाल पेन केएर एंड रिसर्च सेन्टर, न्यु बानेश्वोर, काठमाडौँ ।
2. काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टर, बसुन्धारा, काठमाडौँ ।
3. न्युरोन पेन क्लिनिक, टोखा, काठमाडौँ ।
4. पोखरा पेन केएर सेन्टर, पोखरा ।
5. एडभान्स पेन स्पेशलिस्ट क्लिनिक, बिर्तामोड, झापा ।
6. ग्रीन सिटी अस्पताल, टोखा, काठमाडौँ ।
7. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर ।
यी भन्दा बाहेक अन्य अस्पतालहरू मा पनि पेन मेडिसिन सेवा उपलब्ध हुन थालेको छ।
(असिस्टेन्ट प्रोफेसर तथा वरिष्ठ कन्सल्टेन्ट पेन फिजिसियन डा ठाकुर वीर अस्पताल तथा ग्रीन सिटी अस्पतालमा आबद्ध छन्।)