काठमाडौं- राष्ट्रिय प्रतिभा पुरस्कार चिकित्सा क्षेत्रमा दुईजनाले पाउने भएका छन्। मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल र टेलिमेडिसिनतर्फ डा छिरिङ लामालाई उक्त पुरस्कार दिइने भएको छ।
डा अनिल (महोत्तरी)लाई चिकित्सा क्षेत्रबाट गरेको योगदानका लागि दिइने भएको हो भने टेलिमेडिसिन क्षेत्रमा गरेको कामका लागि डा छिरिङ लामा (सिन्धुपाल्चोक)लाई राष्ट्रिय प्रतिभा पुरस्कार दिने घोषणा गरिएको हो।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुनेमा घोषित भएका छन्।
नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको हो।
यस्तै खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर) , मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका हुन्। पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने बताइएको छ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो।