काठमाडौं- झुटो प्रचार गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईभीएफ सेन्टरलाई ५ बुँदे निर्देशन दिएको छ। स्वास्थ्य संस्थाले आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचार प्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीहरुलाई चरम ठगी गरेको भन्दै उक्त निर्देशन दिएको हो।
'मनोमानी ढंगले शुल्क समेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त भएकोले सो सम्बन्धमा तपसिल बमोजिमको व्यवस्था मिलाउनु हुन यस मन्त्रालयको मिति २०८१ माघ ३० को निर्णयानुसार अनुरोध छ,' मन्त्रालयले पत्रमार्फत् भनेको छ।
मन्त्रालयले दिएका निर्देशन यसप्रकार छन् :
१. आइ.भि.एफ.सेवा सम्बन्धमा झुटो प्रचार-प्रसार नगर्नु / नगराउनु हुन ।
२. सेवा शुल्कको विवरण संस्थाको बेवसाइटमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलाउनु हुन ।
३. शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रकृया पुरा गरी पुन: अनुमति लिनुहुन ।
४. संस्थामा सेवाका लागि आउने विपन्न, असहाय विरामीका लागि दश प्रतिसत निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुहुन ।
५. संस्थाबाट प्रदान गरिएका सेवाको प्रतिवेदन प्रत्येक चौमासिक रुपमा अनुमति प्रदान गर्ने निकायमा अनिवार्य रुपमा उपलब्ध गराउनुहुन ।