काठमाडौं- एलएस जोन्सन र समुहद्वारा गरिएको एक अध्ययनले एआईले दीर्घकालीन मुटुको निगरानी र विश्लेषण विशेषज्ञहरू भन्दा राम्रोसँग गर्ने दाबि गरिएको छ।
'डाक्टरलाई प्रत्यक्ष रिपोर्ट दिन कृत्रिम बौद्धिकताद्वारा एम्बुलेटरी इसिजी विश्लेषण' नामक एक अध्ययन अनुसार कृत्रिम बौद्धिकताले लामो समयको मुटुको इ.सी.जी परीक्षण र विश्लेषण विशेषज्ञभन्दा राम्रोसँग गर्न सक्छ।
मानिसको मुटु प्रतिदिन १,२०,००० पटक धड्किन सक्छ, जसका कारण लामो समयको इसीजी तथ्यांक अध्ययन गर्न डाक्टरहरूलाई धेरै समय लाग्छ।
अनुसन्धानकर्ताहरुले १४,६०६ बिरामीहरूको औसत १४-दिनको इसीजी तथ्यांक संकलन गरे, जसलाई पहिलो चरणमा मानव विशेषज्ञहरूले परिक्षण गरे। त्यसपछि, सोही डेटा पोल्यान्डको मेडिकल अल्गोरिदम्स कम्पनीले विकसित गरेको डिप रिदम कृत्रिम बौद्धिकताद्वारा पुन: विश्लेषण गरियो।
कृत्रिम बौद्धिकताको प्रयोगले इसीजी विश्लेषणलाई छिटो, सटीक र भरपर्दो बनाउने देखाएको छ, जसले डाक्टरहरूलाई प्रत्यक्ष र सही रिपोर्ट दिन सक्छ।
परिणाम अनुसार मानव विशेषज्ञहरूले गम्भीर मुटुको धड्कनको असामान्यता (सिभियर अरिदमिया) ४.४ प्रतिशत बिरामीहरूमा छुटाए, तर डिप रिदम कृत्रिम बुद्धिमत्ताले मात्र ०.३ प्रतिशत बिरामीहरूमा त्रुटि गर्यो)।
कृत्रिम बौद्धिकताले ९९.९ प्रतिशत आत्मविश्वासका साथ गम्भीर मुटुको धड्कनको असामान्यता छैन भनेर पहिचान गर्न सक्यो।
स्वीडेनको लन्ड विश्वविद्यालयकी प्रमुख अन्वेषक लिन्डा जोन्सनका अनुसार कृत्रिम बौद्धिकताले स्वास्थ्य क्षेत्रमा ठूलो समस्या समाधान गर्न सक्छ, किनभने हाल प्रशिक्षित जनशक्तिको अभावका कारण एम्बुलेटरी विश्लेषणमा ठूलो अवरोध सिर्जना भएको छ। यदि हामीले छोटो समयको सट्टा लामो अवधिसम्म इसीजी परीक्षण गर्न सक्यौँ भने बिरामीहरूलाई अझ धेरै फाइदा पुग्छ। तर, हाल दक्ष जनशक्ति नहुँदा यो सम्भव भएको छैन। उनी भन्छिन्, ‘कृत्रिम बुद्धिमत्ताको प्रयोगले यो समस्या समाधान गर्न सक्छ।‘