‘शून्य कुष्ठरोगतर्फ’ भन्ने नाराका साथ आज विश्व कुष्ठरोग दिवस मनाइँदैछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् १९८० को दशकमा विश्वभर ५० लाख कुष्ठरोगी रहेकोमा सन् २०२५ सम्म आउँदा २ लाखमा झरिसकेको छ। यो झण्डै ५ दशकको अवधिमा कुष्ठरोगको अवस्थामा निकै सुधार भइसकेको छ । तर, यो रोग उन्मुलन भने हुन सकेको छैन।
रोगका लागि सन् १९८० को दशककको सुरुमै डब्लुएचओले बहुऔषधि उपचार विधि (मल्टीड्रग थेरापी–एमडीटी) सिफारिस गरेको थियो । यसले प्रभावकारितालाई ध्यानमा राख्दै सन् १९९१ को डब्लुएचओको साधारणसभाले सन् २००० सम्ममा विश्वभरबाटै जनस्वास्थ्य समस्याका रुपमा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको थियो, जसअनुसार कुष्ठरोगका बिरामीको संख्या प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कममा झार्ने भनिएको थियो ।
तर, अझै विश्वका १ सय २० देशमा कुष्ठरोग रहेको देखिएको छ। त्यमध्येमा पनि ब्राजिल, भारत र इन्डोनेसियामा १० हजारभन्दा बढी कुष्ठरोगी देखिएका छन् । नेपालसहितका १३ देशमा १ हजारदेखि १० हजार कुष्ठरोगी रहेको डब्लुएचओको तथ्यांक छ। अन्य ९९ देशमा भने १ हजारभन्दा कम कुष्ठरोगी रहेका छन् ।
नेपालमा पनि सन् २०१० अर्थात् २०६६ माघ ५ गते कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । उक्त समयमा प्रति १० हजार जनसंख्यामा ०.८९ जना अर्थात् १ जनाभन्दा कम कुष्ठरोगी रहेको अवस्था थियो भने १२ जिल्ला प्रभावित थिए । घोषणा भएका केही वर्ष कुष्ठरोगीको संख्या घटेको देखिएको थियो । तर, २०७३/७४ मा बढेर प्रति १० हजार जनामा ०.९२ कुष्ठरोगी देखिए । नेपालमा अब सन् २०३० सम्ममा कुष्ठरोगमुक्त अभियानको लक्ष्य राखिएको छ ।
के हो कुष्ठरोग ?
कुष्ठरोग माइकोेब्याक्टेरियम ‘लेप्रे’ नामक ब्याक्टेरियाले गराउने रोग हो । यो रोगले छाला र स्नायूमा असर गर्छ भने कहिलेकाहिँ केन्द्रीय स्नायू प्रणालीमा पनि असर गर्छ । नाकबाट रगत आउने, नसा मोटो हुने, सेता तथा राता धब्बा देखिने, धब्बा लाटो हुने या छोएको थाहा नपाउने, मांसपेशी कमजोर हुने, आँखाको नानी संक्रमित हुने तथा आँखीभौं झर्नेजस्ता लक्षण देखिन्छन् । कुनै पनि व्यक्ति संक्रमित भएको ५ देखि ७ वर्षसम्ममा यो रोगका लक्षण देखिन्छन्, जसलाई ‘इन्क्युबेसन पिरियड’ भनिन्छ । रोग देखिएपछि भने तत्कालै उपचार सुरु गर्नुपर्छ ।
कुष्ठरोग हो कि होइन भन्ने पत्ता लगाउन क्लिनिकल परीक्षण (छालामा धब्बा छ कि छैन, छुँदा थाहा पाउने छ कि छैन आदि) गरिन्छ भने ‘स्किन स्लिट स्मियर’ (ब्याक्टेरिया छ कि छैन भनेर कल्चर गरेर हेर्ने) तथा छालाको बायोप्सीको विधि प्रयोग गरिन्छ ।
कुष्ठरोग दुई प्रकारका हुन्छन्, पसी ब्यासिलरी लेप्रोसी अर्थात् ब्याक्टेरिया कम भएको र मल्टी ब्यासिलरी अर्थात् बढी ब्याक्टेरिया भएको । पसी ब्यासिलरीमा एकदेखि ५ वटासम्म धब्बा हुन्छन्, जुन राता या सेता दुवै खालका हुन्छन् भने ५ भन्दा बढी धब्बा छन् भने मल्टी ब्यासिलरी भनिन्छ ।
उपचार विधि
‘पसी ब्यासिलरी’ तथा ‘मल्टी ब्यासिलरी’ दुवै खालका कुष्ठरोगका लागि ‘मल्टी ड्रग थेरापी’ विधि अपनाइन्छ । पसी ब्यासिलरीमा २ खालका औषधि ६ महिनाका लागि दिइन्छ । सञ्चो हुँदैछ, तर ब्याक्टेरिया अझै बाँकी भएको अवस्थामा एक वर्षका लागि पनि औषधि थप्न मिल्छ । यस्तै, मल्टी ब्यासिलरीका लागि ३ वटा औषधि एकदेखि २ वर्षसम्म खानुपर्छ।
कुष्ठरोग सर्ने रोग हो ?
कुष्ठरोग कम सर्ने रोग हो । यो सामान्यतः बिरामीको नजिकै एकैछिन बस्दैमा, बिरामीलाई छुँदैमा या हात मिलाउँदैमा सर्ने रोग होइन । बिरामीसँग लामो र नियमित सम्पर्कमा आउने व्यक्तिहरुलाई श्वासप्रश्वासको माध्यमबाट सर्ने सम्भावना हुन्छ । यस्तै, कुष्ठरोगका रुपमा देखिएका धब्बाबाट मात्रै पनि यो सर्दैन । तर, यदि ती धब्बा या घाउले अल्सरको रुप लिएको छ भने त्यस्ता घाउको सम्पर्कमा आएका व्यक्तिमा सर्न सक्छ ।
नेपालका किन बढिरहेका छन् कुष्ठरोगी ?
नेपालमा निवारण घोषणा भएको डेढ दशक बितिसकेको छ तर, रोगका बिरामी भने बढ्दै गएका छन्।
यसमा जनचेतना अभाव, सबै नागरिकमा खोपको पहुँच नहुनु तथा रोग देखिएकाहरुले पनि नियमित औषधि नखानु मुख्य कारण रहेको पाइन्छ । क्षयरोगबाट बचाउन बालबालिकालाई दिइने बीसीजी खोपले कुष्ठरोगका लागि पनि काम गर्छ (क्षयरोग माइकोेब्याक्टेरियम ट्युबरकुलोसिस र कुष्ठरोग माइकोेब्याक्टेरियम लेप्रे नामक ब्याक्टेरियाका कारण हुन्छ) । तर, कतिपय बालबालिकाहरुले यस्ता खोप पाइरहेका हुँदैनन् या समाजमा खोप लगाउनुपर्छ भन्ने चेतना पुगेको हुँदैन । यस्तो अवस्थामा ती बालबालिकामा पछि गएर कुष्ठरोग देखिने जोखिम हुन्छ । यस्तै, नियमित औषधि नखानेहरुबाट निरन्तर सम्पर्कमा आउनेहरुलाई पनि यो रोग सर्ने जोखिम रहन्छ ।
त्यसैले नियमित औषधि खाने हो भने यो रोगका बिरामी पहिलेजस्तै स्वस्थ भई नियमित काममा फर्कन सक्छन् । यसका अतिरिक्त यो रोग थप फैलन नदिन पूर्वसावधानी र जनचेतना आवश्यक छ।
(डा. भण्डारी नर्भिक इन्टरनेशनल अस्पतालका कन्सल्ट्यान्ट डर्माटोलोजिस्ट हुनुहुन्छ)