काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् प्रतिष्ठानका सहकुलपति प्रदीप पौडेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेसी भवन, अन्कोलोजी तथा बर्न युनिटको उद्घाटन गरेका छन्। स्वास्थ्यमन्त्री पौडेलले भवन सोचेको भन्दा भव्य र उत्कृष्ट भएको बताए।
फार्मेसी सेवालाई नेपाल सरकारको परिकल्पना अनुरुप सञ्चालन गर्न निर्देशन दिएका छन्। फार्मेसीमा भएको औषधीहरु एवम् सोको मूल्य तालिका समेत सार्वजनिक गर्नेगरी राख्न अनुरोध गरिएको थियो। नेपालमा स्वास्थ्य जनशक्ति पलायनको अवस्था भएकोले सोलाई निरुत्साहित गर्न स्वास्थ्यकर्मीहरुलाई सहज एवम् तनावरहित वातावरणमा काम गर्न दिनु आजको आवश्यकता रहेको उल्लेख गरे।
स्वास्थ्यकर्मीहरुलाई सम्मान दिनु र उनीहरुलाई दिइने विभिन्न सुविधाहरुमा कटौती गर्न नमिल्ने भनि आफ्नो धारणा रहेको बताए। प्रतिष्ठानमा २ सयजना विद्यार्थी पठनपाठन गर्ने क्षमता भएतापनि सो नभएको र त्यसका लागि नीतिगत संशोधन गर्नुपर्ने जरुरी भएको बताए। स्वास्थ्यकर्मीहरुलाई निजामति कर्मचारी ऐन भन्दा स्वास्थ्य सेवा ऐनको खाँचो रहेको बताए।
उद्घाटन कार्यक्रमपश्चात् प्रमुख अतिथि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायत तथा पदाधिकारीबाट भुइँतल्लामा रहेको औषधी बिक्रि कक्षको स्थलगत अवलोकन गरिएको थियो। स्वास्थ्य मन्त्रीले डिपार्टमेन्ट अफ मेडिसिन, एनेक्सः अन्कोलोजी युनिट तथा डिपार्टमेन्ट अफ सर्जरी, एनेक्स -१: बर्न, प्लास्टिक सर्जरी तथा रिकन्स्ट्रक्टिभ युनिटको उद्घाटन गरेका थिए।
मन्तव्यको क्रममा धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले प्रतिष्ठानका समस्याहरु समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रतिष्ठानमा हालको उपकुलपतिको नेतृत्वमा भएका विभिन्न कार्यहरु पनि देखिन थालेको बताउँदै प्रतिष्ठानले फार्मेसी सञ्चालन गर्ने र क्यान्सर बिरामीलाई सेवा नेपाल सरकारको योजना अनुरुप उपलब्ध गराउने उनले विश्वास लिएका छन्।
उद्घाटन पश्चात् मन्तव्यको कार्यक्रम राखिएको थियो। सो कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको गरिमा र स्वास्थ्य सेवा अझ प्रभावकारी पार्न नयाँ कोसेढुंगा थपिएको बताए। प्रतिष्ठानको लगानीमा निर्मित उक्त भवनमा भुइँतल्लामा फार्मेसी सेवा सञ्चालन ल्याइएको छ।
पहिलो तल्लामा क्यान्सरका बिरामीहरुको उपचारका लागि २० शैय्याको इलअययिनथ वार्ड सञ्चालनमा ल्याइने बताइएको छ। विगत केहि वर्षदेखि प्रतिष्ठानको मेडिसिन वार्डमा राखेर क्यान्सरका बिरामीहरुको उपचार गरिँदै आइएको छ र सो सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइने बताइएको छ।