काठमाडौं- ‘वर्ल्ड क्यान्सर वाक’ नेपालमा पनि वाकाथन गरी मनाइएको छ। क्यान्सरसँग जुधिरहेकाहरुका लागि सहयोग तथा क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं क्यान्सर अस्पताल तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा वाक फोर क्यान्सर कार्यक्रम आयोजना गरिएको हो।
५ वर्ष अघि न्युजिल्याण्डबाट हरेक १२ जनवरीका दिन क्यान्सरबारे जनचेतना फैलाउने उदेश्यले ‘वर्ल्ड क्यान्सर वाक’ शुरु गरिएको थियो। यो कार्यक्रम २६ देशका ३५० भन्दा बढी सहरमा एकसाथ आयोजना भइरहेको छ।
कार्यक्रममा कलाकार दीपाश्री निरौला, काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा सिमित सापकोटा, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, उपाध्यक्ष सागर कटुवाल, रोट्र्याक्ट क्लव अफ किष्ट मेडिकल कलेजकी अध्यक्ष डा.आराधना जैसवाल लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कलाकार दीपाश्री निरौलाले क्यान्सरबारे जनचेतना जगाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा राखिन्। डा सिमित सापकोटाले समयमै स्वास्थ्य परीक्षण र क्यान्सर रोकथामका उपायहरूबारे जानकारी दिएका थिए।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले नेपालमा यस्ता विश्वव्यापी अभियानको साझेदार बन्न पाउनु गौरवको कुरा भएको बताए। डा आरधना जैसवालले युवाहरूको सक्रिय सहभागिताले क्यान्सरको रोकथाममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।
भक्तपुर दरबार स्क्वायरको सांस्कृतिक महत्त्वबीच सम्पन्न यो कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
करिव २०० सहभागीहरूले क्यान्सर सचेतनाका लागि आफ्नो प्रतिबद्धता जनाउँदै वाकथनमा सहभागी भएका थिए।
कार्यक्रममा भक्तपुरको ख्वप कलेजका विद्यार्थीहरू पनि सहभागी भएका थिए। उनीहरूले क्यान्सर सचेतनाका लागि आफ्नो समर्थन जनाउँदै कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।