काठमाडौं- एमबीबीएस/बीडीएस चिकित्सकको हकमा एक लाखदेखि १ लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा टंक बाह्राकोटी नेतृत्वको एक समितिले यस्तो सिफारिस गरेको हो।
एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि १ लाख ७५ हजार र डीएम/एमसीएच गरेका चिकित्सकको २ लाख २५ हजारदेखि २ लाख ५०,००० हजारसम्म दिन सुझाव दिइएको छ। प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ। जसका लागि विभिन्न भत्ता सिफारिस गरिएको छ।
एमडीएमएस गरेका चिकित्सकलाई ७५-१०० र डीएम/एमसीएच गरेका चिकित्सकलाई १००-१५० प्रतिशत विशेषज्ञ भत्ता प्रदान गर्न सिफारिस गरेको छ। यसैगरी एमबीबीएस / बीडीएसलाई ५० देखि ७५ प्रतिशत, एमडी/एमएसलाई ७५-१०० प्रतिशत र डीएम/एमसीएचलाई १००-१५० प्रतिशत नन-प्र्याक्टिसिङ अलाउन्स प्रदान गर्न सुझाव दिइएको छ।
यी सुविधा निर्धारण गर्दा भुगोल (सुगम,दुर्गम, अति-दुर्गम ) तथा सेवा अवधिका आधारमा वृध्दि हुने व्यवस्था गर्न भनिएको छ।
नेपालभरी चिकित्सकलाई विभिन्न नाममा दिइने भत्ताहरुको समायोजन गरी ती व्यवस्थाहरुलाई एकरूपता दिँदै यस प्रतिवेदनले सुझाएका जोखिम, नन-प्र्याक्टिसिङ अलाउन्स तथा विशेषज्ञ चिकित्सक भत्ता समायोजन गरी न्यूनतम मासिक पारिश्रमिक दिन भनिएको छ।