एमपक्स अर्थात् मंकीपक्स पहिलोपटक सन् १९५८ मा डेनमार्कमा बाँदरमा पहिचान गरिएको थियो भने १९७० मा अफ्रिकी मुलुक कंगोमा एक बालकमा यसको पुष्टि भएको थियो। विश्वका १ सय २७ मुलुकमा देखा परेको एमपक्सलाई विश्व स्वास्थ्य संगठन–डब्लुएचओले ‘विश्व स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ। अफ्रिकाबाहिर पहिलोपटक थाइल्यान्डमा देखिएको यो संक्रमण नेपालमा पनि देखा परिसकेको छ। साउदी अरबबाट फर्केका दुई जनामा एमपक्स पुष्टि भएपछि यो समस्या के हो ? के यो विगतमा हामीले भोगिसकेको कोरोनाजस्तै हो ? भन्ने चासो सबैमा देखिएको छ।
के हो एमपक्स?
यो रोग मंकीपक्स भाइरसका कारण हुने गर्छ। भाइरल फ्लु भएकाले यसका लक्षण पनि सिजनल फ्लुजस्तै हुन्छन्। विशेषगरी, ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, मांसपेशी गल्ने, ढाड दुख्नेजस्ता लक्षण देखिन्छन्। यी लक्षण देखिएको ३ देखि ५ दिनपछि शरीरका विभिन्न ठाउँमा दाग तथा रातो फोका आउने र त्यसमा पानी भरिन सुरु गर्छ। त्यसपछि यी फोका बिस्तारै फु्ट्न थाल्छन्। खासगरी अनुहार, छाला, हत्केला, खुट्टाको पैताला, गुप्तांगहरुमा पानीका फोका देखिन थाले भने एमपक्स हो कि भनेर सोच्नुपर्छ।
कसरी सर्छ?
यो रोग दुई किसिमले सर्छ–मानवबाट मानवमा र जनावरबाट मानवमा।
जसरी रुघा लाग्दा ड्रपलेटमार्फत् सर्छ, त्यसैगरी एमपक्स पनि सर्ने हुन्छ। कसैलाई एमपक्स देखिएको छ भने उनीहरुको नजिकै मास्क नलगाइकन बस्दा श्वासप्रश्वास तथा ड्रपलेटबाट सर्न सक्छ। यसैगरी, फुटेका पानी फोका छुँदा, संक्रमितको कपडा लगाउँदा, एकै ओछ्यानमा सुत्दा सर्न सक्छ।
मुसा, बाँदरजस्ता संक्रमित जनावर, अथवा मरेको जनावरहरुको मासु खाँदा या उनीहरुको सम्पर्कमा जाँदा पनि सर्न सक्छ। यदि यस्ता जनावरलाई एमपक्स छ र उनीहरुलाई चलाइन्छ भने तिनको शरीरमा हुने फ्लुडमार्फत् सर्ने सम्भावना हुन्छ।
पछिल्लो समय हेर्ने हो भने समलिंगीहरु तथा यौन सम्पर्कबाट पनि एमपक्स धेरै सरेको पाइएको छ।
कस्ता व्यक्ति एमपक्सको जोखिममा?
रोगप्रतिरोधक क्षमता कम भएका मानिसहरु एमपक्सको सबैभन्दा बढी जोखिममा हुन्छन्। दीर्घरोग भएका, एड्स लागेका, क्षयरोग भएका, लामो समयदेखि छालाका रोग भएका व्यक्तिहरु एमपक्सको जोखिममा पर्छन्। विशेगरी, एमपक्समा देखिने प्राथमिक लक्षण भनेको र्यासेसहरु नै हो।
यस्तै, रोगप्रतिरोधी क्षमता कमजोर भएका बालबालिका, गर्भवती, यौनकर्मी, समलिंगी तथा तेस्रो लिंगीहरु पनि उच्च जोखिममा पर्छन्। सन् २०२२ तथा २०२३ को तथ्यांकमा पनि समलिंगी तथा तेस्रो लिंगी समुदायमा बढी एमपक्स फैलिएको देखिएको छ।
कत्तिको घातक मानिन्छ एमपक्स?
एमपक्सका कारण १ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। त्यसले गर्दा पनि यसलाई जोखिमयुक्त नै मान्नुपर्छ। सन् २०२२ को तथ्यांक हेर्ने हो भने मंकीपक्स पहिचान भइसकेकाहरुमा हुने मृत्युदर ११ प्रतिशत थियो। तर, डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेपछि यो दर विस्तारै घटेको थियो। पछिल्लो स्थिति हेर्ने भने एमपक्सको मृत्युदर ३ देखि ६ प्रतिशत छ, जुन समग्र जनसंख्यालाई हेर्ने भने ठूलो संख्या हो।
यस्तै, एमपक्सका कारण निमोनिया हुने, दृष्टि गुम्ने, इन्सेफलाइटिस हुने, महिलामा गर्भ खेर जानेजस्ता जोखिम पनि हुन्छन्।
रोकथामका उपाय
रोकथामको सबैभन्दा राम्रो उपाय भनेकै खोप हो। एमपक्स भएका मानिसको सम्पर्कमा आएको छ भने खोप लगाउनुपर्छ। कोभिडमा जस्तै सामाजिक दुरी कायम गर्ने तथा मास्क लगाउने गर्दा पनि यसको जोखिम घट्छ। यो पनि एउटा भाइरल रोग भएका कारण श्वासपप्रश्वासका माध्यमबाट या छुँदा सर्ने भएकाले मास्क लगाउने, समय–समयमा हात धुने गर्नुपर्छ। एमपक्स भएको शंका लागेमा पीसीआर परीक्षण गरेर पहिचान गर्न सकिन्छ। यस्तै, बिरामीको कपडा लगाउनुहुन्न। संक्रमण देखिएका देशमा जाँदा या त्यस्ता देशबाट आएका मानिसबाट सकेसम्म सतर्क नै हुनुपर्छ।
उपचार
एमपक्सको नै भनेर कुनै पनि खोप विकास गरिएको छैन। तर, स्मलपक्सको खोपले ८५ प्रतिशतसम्म सुरक्षा दिन्छ। यसबाहेक डब्लुएचओले अन्य खोप पनि सिफारिस गरेको छ।
यस्तै, कोभिडको जस्तो यसको पनि कुनै निश्चित उपचार छैन। लक्षणको व्यवस्थापन गर्दै जानुपर्छ। पेनकिलर तथा पारासिटामोल लिने, प्रशस्त पानी पिउने तथा रोगप्रतिरोधक क्षमता कमजोर देखिएको अवस्थामा पोषण बढी खाने गर्नुपर्छ।
मुख्य तरिका भनेको आइसोलेसन नै हो। एमपक्स भएको यकिन छ या शंका लागेको छ भने घर या अस्पतालमा आइसोलेट गर्नुपर्छ। अरुको सम्पर्कमा जानुहुन्न। यो संक्रमण छिटोमा एक हप्ता या ढिलोमा तीनदेखि चार हप्तासम्म रहन सक्छ, जुन जोखिमको समय हो। त्यसपछि बिस्तारै निको हुँदै जान्छ। निको नभएको अवस्थामा भने स्वास्थ्य जटिलता निम्तन सक्ने भएकाले ख्याल गर्नुपर्छ।
(डा रानाभाट नर्भिक अस्पतालका मेडिकल इन्चार्ज हुन्)