काठमाडौं- मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा जयन्ती मेमोरियल ट्रष्टको सहयोगमा रुद्रपुर, रुपन्देहीमा नि:शुल्क प्रेसर, सुगर तथा मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा पूर्व विद्यार्थी समाजको ५० औं वार्षिकोल्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको पूर्व विद्यार्थी समाजको अध्यक्ष डा सुमन आचार्यले बताए। त्यसका लागि प्राविधिक सहयोग मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले गरेको थियो।
'बढ्दै गएका प्रेसर, सुगर र मुटुका बिरामीहरुले समयमा नै उपचार पाउन सकून भन्ने अभिप्रायले उक्त कार्यक्रम गरिएको हो', डा आचार्यले भने।
शिविर चल्दै गर्दाे विद्यार्थी समाजले स्कूले विद्यार्थीका लागि मनोरोग तथा परामर्श शिविर समेत चलाएको थियो। शिविरबाट ५० मनोरोगका विद्यार्थीहरुले परामर्श तथा औषधि पाएका थिए।
लुम्बिनी प्रादेशिक अस्पतालमा कन्सल्टेन्ट फिजिसियनका रुपमा कार्यरत डा आचार्यले मातृभूमिको लागि केही गरौं भन्ने सोचका साथ उक्त शिविर आयाोजनना गरिएको बताए।
इसिजी, इको तथा रगतमा सुगर परीक्षण,मृगौला परीक्षण तथा सम्पूर्ण औषधिहरु निशुल्क प्रदान गरिएको थियो। जसमा १ सय ५० जनाको इसिजी,१ सयको इको परीक्षण गरिएको थियो।
कन्सल्टेन्ट फिजिसियन डा नन्दु पाठक,डा काशिराम विक, कन्सल्टेन्ट मनोचिकित्सक सजिता पौडेल,कार्डियोलोजिष्ट डा विजय यादव, डा रोशन घिमिरे, मेडिकल अधिकृत डा चुडामणि रेग्मी, डा सुजन आचार्य,डा अमृत बस्याल, डा दिनेश थापा सहितको टिमले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
मुटुमा प्वाल परेका, मुटुको बाथ रोगी लगायतका मुटु सम्बन्धि अन्य समस्या भेटिएका बिरामीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल तथा मनमोहन सेन्टरमा थप उपचार दिइने उनले बताए।