काठमाडौं- सोवा रिग्पा अध्ययन गरेका जनशक्ति काउन्सिलमा दर्ता हुने सम्भावना बढेर गएको छ। लामो समयदेखि अन्यौलमा रहेको उक्त विषय अन्तत: निष्कर्षमा पुग्दै काउन्सिलमा दर्ताको ढोका खुल्ने भएको हो।
नेपाल स्वास्थ्य व्यवसायी परिषदले सोवा रिग्पा अध्ययन गरेका जनशक्तिलाई दर्ता (लाइसेन्स) प्रक्रियामा ल्याउन आवश्यक कदम अगाडि बढाइसकेको छ। परिषदले सोवा रिग्पा अध्ययन गरेका जनशक्तिलाई कसरी दर्ता प्रक्रियामा ल्याउने भन्ने विषयमा सुझाव दिन एउटा समिति नै बनाएको छ। उक्त समितिले प्रतिवेदन तयार पारिसकेको परिषदका अध्यक्ष सुवोध शर्माले जानकारी दिए।
अध्यक्ष शर्माका अनुसार उक्त प्रतिवेदन परिषद बोर्डमा लगेर बोर्डले निर्णय गरेपछि दर्ता लगायतका आवश्यक प्रक्रिया अगाडि बढ्ने छ।
आधार डेभलपमेन्ट नेपालद्वारा सोवा रिग्पाका विषयमा आयोजना गरेको एक छलफल कार्यक्रममा अध्यक्ष शर्माले स्नातक तह उत्तीर्ण गरेका सोवा रिग्पा जनशक्तिहरुले स्नातक भन्दा अघिल्लो तह (प्लसटु वा सो सरह) मा विज्ञान विषय अध्ययन गरेको भएमा दर्ता हुने बाटो लगभग खुलेको जानकारी दिए।
'हालको मौजुदा नियम तथा कानुन अनुसार विज्ञान विषयको ब्याकग्राउन्ड भएर सोवा रिग्पा अध्ययन गरेकाहरुले लाइसेन्स परीक्षा दिन पाउने देखिन्छ,' कार्यक्रममा उनले भने, 'उहाँहरुलाई सोही अनुसार परीक्षामा सहभागी गराउँदै लाइसेन्सको ढोका खुल्ने सम्भावना छ। लाइसेन्सका विषयमा समितिले दिएको प्रतिवेदन बोर्डमा गएर बोर्डले गरेको निर्णय अनुसार अगाडि बढ्छौं।'
उनले विज्ञान नपढेकाहरुको हकमा भने स्नातक तहको लाइसेन्स दिन अहिलेको कानुनले नदिने हुँदा के गर्न सकिन्छ भन्ने विषयमा थप छलफल र गृहकार्य आवश्यक रहेको जानकारी दिए।
लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोवा रिग्पा इन्टरनेशनल कलेजबाट स्नातक तहमा ३५ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन्। उनीहरुले पाँच वर्षे कोर्ष र एक वर्षे इन्टर्नसिप सकेका छन्। कानुनी अन्यौलताका कारण उनीहरुले हालसम्म लाइसेन्स पाउन सकेका छैनन्। उनीहरुलाई लाइसेन्स प्रक्रियामा सहभागी गराउने विषयमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काउन्सिलहरु सकारात्मक देखिए पनि विज्ञान संकाय भन्दा बाहिरबाट स्नातक तहमा सोवा रिग्पा अध्ययन गरेकालाई लाइसेन्स परीक्षामा सहभागी गराउन नमिल्ने कानुनी व्यवस्था लगायतका कारण समस्या देखिएको हो।
स्वास्थ्य व्यवसायी परिषदले चिकित्सा शिक्षा आयोग र मन्त्रालयहरुसँगको परामर्शमा विज्ञान विषय अध्ययन गरेका जनशक्तिलाई लाइसेन्स प्रक्रियामा सहभागी गराउने विषय अगाडि बढाएको हो।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहले नेपालको प्राचिन र मौलिक उपचार पद्धति अध्ययन गरेका जनशक्तिलाई काउन्सिलले मान्यता दिँदै सरकारी स्वास्थ्य संरचनाभित्र समावेश गर्न आवश्यक रहेको बताए। उनले जनस्वास्थ्य सेवा ऐनमा रहेको राष्ट्रिय जनस्वास्थ्य समिति र उक्त समितिले बनाएको उपसमितिमा सोवा रिग्पाको विकास र विस्तारका विषयमा छलफल गर्दै अगाडि बढ्न सकिने जानकारी दिए।
'सोवा रिग्पाका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसलाई अगाडि बढाउने विषयमा छलफल गर्न कानुनले नै बाटो दिएको छ। मन्त्रालयले यसमा आवश्यक काम अगाडि बढाउँछ,' उनले भने, 'मन्त्रालयको महाशाखा र आयुर्वेद विभागले पनि सोवा रिग्पालाई प्राथमिकता दिँदै काम अगाडि बढाइरहेको अवस्था छ। कामको सुरुवात भइसकेको छ। अब विस्तारै नतिजा पनि आउँछ।'
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले स्वास्थ्य मन्त्रालय सोवा रिग्पाको विकास र विस्तारमा सँधै सकारात्मक रहेको भन्दै सरोकारवालाहरुलाई आवश्यक सुझाव दिन आग्रह गरे। उनले मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्साको रणनीति बनाउन लागेको भन्दै त्यसमा सोवा रिग्पाका विषयहरु पर्ने जानकारी दिए।
'हामीले रणनीति बनाउने काम अगाडि बढाइरहेका छौं। उक्त रणनीतिमा सोवा रिग्पाका के के विषयहरु समावेश हुनुपर्ने हो आवश्यक सुझाव दिन म सबै सरोकारवालाहरुसँग आग्रह गर्दछु,' डा पौडेलले भने। उनले सोवा रिग्पा जनशक्तिको लाइसेन्सको समस्या समाधानका लागि मन्त्रालयले पनि आवश्यक पहल गरिरहेको बताए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले सोवा रिग्पालाई मुल प्रवाहमा ल्याएर देशभर विस्तार गर्नुपर्नेमा जोड दिए। उनले लाइसेन्सकै समस्याका कारण विभागमा दरबन्दी रहेर पनि जनशक्ति नियुक्ति गर्न नसकिएको जानकारी दिए।
स्वास्थ्य मन्त्रालयमै कार्यरत आयुर्वेद चिकित्सक पुष्पराज पौडेलले सोवा रिग्पा लगायत आयुर्वेद र मौलिक तथा वैकल्पिक चिकित्साका क्षेत्रको विकासका लागि मन्त्रालयले काम अगाडि बढाइसकेको बताए।
आधारका कन्ट्री डिरेक्टर प्रल्हाद ढकालले सोवा रिग्पा उपचार पद्धतिको विकासले विश्वभर नेपाललाई चिनाउन सक्ने बताए। उनले हिमाली क्षेत्रमा सोवा रिग्पा उपचार पद्दतिको अभ्यास गरिरहेका आम्चीहरुले बिरामीको उपचारसँगै सामुदायिक विकासमा पनि योगदान दिइरहेको जानकारी दिए।
लुम्बिनी विश्वविद्यालयका पूर्व डीन उकेशराज भुजुले विश्वविद्यालयले विज्ञहरुको सुझावअनुसार तयार गरिएको सोवा रिग्पाको पाठ्यक्रमलाई विषयगत समिति, प्राज्ञ सभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा तेन्जिङ धार्के गुरुङले सोवा रिग्पा सम्बन्धी अभ्यासलाई भारत, चीन लगायत विश्वका धेरै देशहरुमा औपचारिक रुपमा पठनपाठन भइसकेको र सोही अनुसार दर्ता समेत भइरहेकाले नेपालमा पनि दर्ताको काम छिटो सुरु हुनुपर्नेमा जोड दिए।
सोवा रिग्पा चिकित्सा विज्ञान भनेको प्राचीन उपचार पद्धति हो। यसलाई बुद्धकालीन उपचार पद्धतिका रुपमा चिनिन्छ। नेपालमा विशेषगरी यो उपचार पद्धतिबाट हिमाली क्षेत्रमा लामो समयदेखि उपचार गराउँदै आइरहेको अवस्था छ।
डा पेम्बा डोल्मा लामाका अनुसार शारीरिक तथा मानसिक स्वास्थ्यमा विशेष जोड दिने यस चिकित्सा पद्धतिलाई साइन्स अफ हिलिङ (स्वास्थ्य उपचार विज्ञान) पनि भनिन्छ। जसमा प्राकृतिक परम्परागत उपचार विधिका बारेमा वैज्ञानिक तरिकाबाट गहन अध्ययन र व्याख्या गरिएको छ। ‘सोवा रिग्पा पद्धति अनुसार उपचार गर्ने जनशक्तिलाई आम्ची भनिन्छ। विशेषगरी सोवा रिक्पा चिकित्सकहरु रोग निदानमा नाडी र पिसाबको परीक्षण गर्ने गर्छन्। नाडी परीक्षणको सहायताले बिरामीमा भएको पञ्च तत्वको असन्तुलन पत्ता लगाई त्यसै अनुरुप उपचार विधि अपनाउने गरिन्छ।
यस पद्धतिको उपचारमा विभिन्न प्रकारका प्राकृतिक वनस्पतिजन्य जडिबुटीहरुको प्रयोग गरिन्छ। मुख्यतया तीन हजार मिटरभन्दा माथि पाइने हिमाली जडिबुटीलाई औषधि बनाउन प्रयोग गरिन्छ। यस पद्धतिमा खनिज र जनावरका अवशेषलाई पनि औषधिका रुपमा प्रयोग हुन्छ। यस प्रणालीमा करिब पाँच सय किसिमका जडिबुटी, ५४ किसिमका खनिज र ३८ प्रजातिका जनावरका हड्डी तथा अवशेषबाट औषधि तयार गर्ने प्रचलन छ।
सोवा रिग्पा पद्धतिमा रोगको पहिचान लक्षणका आधारमा र परीक्षण दुवै तरिकाबाट गरिन्छ। सोवा रिग्पा पद्धतिमा रोग अनुसारका औषधि प्रयोग गरिन्छन्, जुन वनस्पति, जीव र खनिजबाट निर्माण गरिएका हुन्छन्। यस पद्धतिमा जुन मानिस जस्तो पर्यावरणीय तथा वातावरणीय क्षेत्रमा बसोबास गर्छन्, त्यही क्षेत्रमा पाइने जडीबुटी, जीव र खनिजलाई औषधिका रुपमा प्रयोग गर्ने परम्परा छ।