काठमाडौँ- कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल (केडीसी) १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००७ देखि सञ्चालनमा रहेको संस्थाले दन्त चिकित्सा सेवा तथा शिक्षा प्रदान गर्दै आएको छ। ।
केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार स्थापनाकालदेखि हालसम्म यस शिक्षण अस्पतालले एक लाख पचास हजार भन्दा बढी दन्त स्वास्थ्यका बिरामीहरुलाई सेवा दिएको छ।
ब्याचलर इन डेन्टल सर्जरी बीडीएस तर्फ ४०० जना र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ ४४ जनालाई शिक्षा प्रदान गरेको छ। प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा सन् २०१२ देखि संचालित डिप्लोमा इन फार्मेसी तर्फ ३७४ जना तथा सन् २०१३ देखि सञ्चालित सर्टिफिकेट इन डेन्टल साइन्सतर्फ ३०१ जना प्रबिधिकहरु उत्पादन भइसकेका छन्।
कलेजले आफ्नो शैक्षिक कार्यक्रमतर्फ गत शैक्षिक वर्ष देखि चार वर्षे बीएस्सी इन ल्यावोरोटरी मेडिसिन (बीएस्सी–ल्याबमेड) पनि सुरु गरेको छ ।
केडीसीका हस्पिटल डाइरेक्टर डा प्रतिक्षा श्रेष्ठले पछिल्लो एक वर्षमा ६७ हजार ५०० जना दाँतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको बताईइन् ।
विसं २०७० साल अश्विन महिना देखि १०० शैयाको जनरल हस्पिटल समेत सञ्चालनमा ल्याएको केडीसीले आफ्नो सेन्टर भित्र केडीसी ओरल एण्ड म्याग्जिलोफेसियल ट्रमा सेन्टर, ओरल हेल्थ सेन्टर फर स्पेशल निड्स तथा डेन्टल इम्प्लान्ट सेन्टर समेत सञ्चालनमा ल्याएको छ ।
अहिले सोही परिसरमा आँखा उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ । यसैवर्षदेखि बीएम फाउण्डेशन र ताइवान ब्लाइन्डनेस फाउण्डेशनको सहकार्यमा केडिसी आई सेन्टर तथा प्रसाधन सेवा तर्फ केडीसी एस्थेटिक सेन्टरको सेवा सुरु गरेको जनाएको छ ।
अध्यक्ष डा श्रेष्ठले जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनको लागि आफूहरुले देशका ६७ जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना तथा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गरेको जानकारी दिए।
८० प्रतिशत नागरिक दन्त उपचार सेवाबाट बञ्चित
देशका ८० प्रतिशत नागरिक अझै पनि दन्त उपचार सेवाबाट वञ्चित रहेको बताइएको छ।
डा श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यको समस्या अधिकांश नेपालीमा रहे पनि यसको उचित उपचार हुन नसकेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको भन्दै उहाँले दन्त सेवामा सबै नेपालीको पहुँच नपुग्दा ८० प्रतिशत जनता उपचारबाट वञ्चित हुनुपरेको जानकारी दिए।
डा श्रेष्ठका अनुसार नेपालमा ४५ वर्षभन्दा कम उमेरमा ‘पाइरियाका’ले गर्दा दाँत झर्ने, दाँतमा किरा लाग्ने, गिँजाको रोग तथा मुखको क्यान्सरलगायत समस्याहरू देखिएका छन् । नेपाल मेडिकल काउन्सिलमा हाल चार हजार आठ सय ८३ दन्त चिकित्सक तथा सात सय ५६ जना दन्त विशेषज्ञ रहेका उहाँले जानकारी दिए।
डा श्रेष्ठले अधिकांश ग्रामीण भेगका जनताले चेतनाको अभाव, उपचार पहुँच नहुनुलगायत कारणले उपचार नपाउँदा दाँच किराले खाने, गिँजाको रोग ९दन्तहर्षा तथा पाइरिया०, बाँङ्गोटिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्युमर, सिस्ट तथा अन्य समस्याबाट पीडित हुने गरेका बताए।
सन् २००७ डिसेम्बरमा स्थापना भएको कान्तिपुर अस्पताल तथा कलेजले एक लाख ५० हजारभन्दा बढी दन्त स्वास्थ्य बिरामीमा सेवा पुर्याउनुका साथै एक हजारभन्दा बढी दन्त चिकित्सक उत्पादन गरिसकेको छ । यसबाहेक सो अस्पतालले हालसम्म देशभरका ६० भन्दाबढी जिल्लामा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ।