काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले चिकित्सा शिक्षाको गुणस्तरमा सम्झौता गरेर मेडिकल कलेजमा सिट मात्रै थप्न नसकिने बताएका छन्। थप भौतिक संरचना बिना ३३ प्रतिशत विदेशीले पढ्न पाउने प्रावधान बढाउन नसकिने उनको धारणा थियो।
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै डा झाले भने, ‘३३ प्रतिशत त विदेशी विद्यार्थीलाई नै सिट छुट्याएका छौं। अझै पनि कति सिट थप्नुपर्ने हो? गुणस्तरमा सम्झौता गरेर पैसा कमाउने उद्देश्यले सिट संख्या थप्न सकिँदैन।’
नेपालको चिकित्सा शिक्षामा रहेको गुणस्तरीयताका कारण पछिल्लो दुई दशकमा नेपालले मेडिकल शिक्षामा राम्रो प्रगति गरेको उल्लेख गर्दै उनले विदेशी विद्यार्थीको आकर्षण भएको बताए। यद्यपि, निजी मेडिकल कलेजमा ऐन, नियम विपरीत भौतिक पूर्वाधारविना नै पठनपाठन भइरहेको डा झाले उल्लेख गरे।
अहिलेको विद्यमान ऐन अनुसार मेडिकल कलेज सञ्चालन गर्नका लागि तीन सय बेडको आवश्यकता पर्छ। सय जना विद्यार्थी पढाउने हो भने सात सय बेड सञ्चालन गर्न सक्नुपर्छ।
‘नेपालमा अहिले सात सय बेड भएका कुनै पनि निजी मेडिकल कलेज छैन, सिट कसरी थप्ने ,’ डा झाले भने, ‘आयोग ऐन, कानुनले चल्ने हो। पहिला भौतिक पूर्वाधार बढाऔैं, अनि सिट संख्याको कुरा गरौंला।’ उनले थपे, ‘तीन सय बेडका निजी मेडिकल कलेजले ५० जना विद्यार्थी पठाउनुपर्ने हो, तर सय विद्यार्थी पढ्दै आएका छन्, अझै थप्न कुरा आइरहेको छ। त्यसका लागि भौतिक पूर्वाधार खै?’
कतिपय सरकारी अस्पतालमा पठनपाठन हुँदा समेत दर्ता नभएको विषयबारे समेत चर्चा तथा छलफल हुनुपर्ने उनको धारणा थियो।