काठमाडौं- काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्व नेता गणेशमान सिंहकी धर्मपत्नी स्व मंगलादेवी सिंहको जन्म शताब्दी दिवसमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
निःशुल्क स्वास्थ्य शिविरमा ३०६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहको प्रमुख आतिथ्यमा एक समारोहका बीच मंगलबार बिहान निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरिएको थियो।
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटनमा काठमाडौं महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर लगायतको उपस्थिति रहेको थियो। क्षत्रपाटी निःशुल्क चिकित्सालयका अस्पताल डा मनोजमान श्रेष्ठले अस्पतालले नयाँ बन्दै गरेको भवनबाट अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह हुनै लागेको जानकारी दिए।
साथै अध्यक्ष डा श्रेष्ठले २०१३ सालमा अस्पताल स्थापना हुँदादेखि नै गणेशमान सिंहको विशेष सहयोग रहेकोले अहिलेको नयाँ पुस्ताबाट पनि सहयोगको अपेक्षा गरिएको बताए।
स्वास्थ्य शिविरमा शहरी क्षेत्रका स्थानीयबासी, अन्य बिरामीहरुले लाभ लिएको अस्पतालले जनाएका छन्। आजको स्वास्थ्य शिविरमा तीन सय ६ जनाले ओपीडी टिकट, रगत जाँच लगायतका अत्याधुनिक स्वास्थ्य सुविधाहरु निःशुल्क रुपमा प्राप्त गरी लाभ लिएका छन्।