काठमाडौँ- लामो समयदेखि पाठेघरको गम्भीर समस्याबाट आक्रान्त एक महिलाको नेपाल मेडिकल कलेज जोरपाटीमा सफल उपचार गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानकी ५० वर्षीय सरस्वती कुँईकेलको बुधबार दुरबिनको माध्यमबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो।
गत मंगलबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी कुँईकेलको कलेजकी स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख प्राडा रिता मरहठ्ठा नेतृत्वको टीमले सफल शल्यक्रिया गरेको हो। महिनाबारीमा अत्याधिक रक्तश्राव हुने, महिनाबारी समयमा नहुने जस्ता समस्याबाट पीडित कुँईकेलको भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता अत्यन्त बाक्लो भएको र पाठेघरमा ट्युमरसमेत पलाएको पाइएको प्राडा रिता मरहठ्ठाले जानकारी दिइन्।
‘उहाँ लामो समयदेखि महिनावारीमा अत्याधिक रक्तश्रावबाट पीडित हुनुहुन्थ्यो। विभिन्न औषधि उपचार गर्दा पनि ठिक नभएपछि भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको भित्ता बाक्लो भएको र ट्युमर पनि पलाएको पाइयो। त्यसपछि तत्कालै शल्यक्रिया गर्न सल्लाह दियौं,’ प्राडा मरहठ्ठाले भनिन्। सरस्वतीको औषधिबाट उपचार नभएपछि प्राडा मरहठ्ठाले पाठेघरको शल्यक्रिया गर्न सल्लाह दिएकी थिइन्।
पाठेघरमा ट्युमर पाइएपछि प्राडा मरहठ्ठाले पाठेघर निकाल्न सुझाएकोमा उनकै नेतृत्वमा दुरबिनको माध्यमबाट सफल शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पश्चात बिरामीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले शनिबार डिस्चार्ज समेत गरिसकेको छ।