अमेरिकामा रहनुभएकी श्रीमती रेग्मीको अण्डाशयमा सिस्टका कारण निसन्तापनको समस्या देखिँदै आएको थियो। शल्यक्रियामार्फत् सिस्ट निकालिसकेपछि उहाँलाई अमेरिकाका डाक्टरले आईभीएफ गर्ने सल्लाह दिए। त्यसका लागि उहाँले सामाजिक सञ्जालमार्फत् मलाई सम्पर्क गर्नुभयो र रेग्मी दम्पति दुई महिनाका लागि नेपाल आए। यहाँ आउनेबित्तिकै आईभीएफ प्रक्रिया सुरु गरियो, जसबाट दुई वटा अण्डा बने र भ्रण पनि बन्यो। दुई वटा अण्डा आउँदैमा भ्रुण नबन्न पनि सक्थ्यो। तर, नर्भिक आईभीएफ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय ल्याबका कारण दुई वटै भ्रुण बने। शिशुको धड्कन आएको एक सातापछि रेग्मी दम्पति अनुहारमा खुसी लिएर अमेरिका उडे।
०००
निसन्तानको समस्या लिएर हङकङबाट लिम्बु दम्पति आए। परीक्षण गर्दा पतिको शुक्रकीटमा कमीसहित दम्पतिमै समस्या देखियो। त्यसपछि अर्कै महिलाबाट अण्डा लिएर आईभीएफ प्रक्रिया अघि बढाएपछि श्रीमती लिम्बू गर्भवती बन्न सफल हुनुभयो। उहाँको दुई वटा बच्चा बस्यो। त्यसपछि मैले भनें–‘आउँदा एउटा टिकटमा आउनु भएको थियो, अब तीन जना जाँदै हुनुहुन्छ।’
०००
किन हुन्छ निसन्तानपन?
३५ वर्षसम्मका दम्पतिले एक वर्षसम्म र त्यसभन्दा माथिको उमेरकाले ६ महिनासम्म परिवार नियोजनको साधन प्रयोग नगरीकन प्रयास गर्दा पनि गर्भ बसेन भने निसन्तानपन अर्थात् बाँझोपन भनिन्छ।
निसन्तानपन विभिन्न कारणले हुन्छ। महिलामा गर्भनली, पाठेघर तथा हर्मोनमा समस्या देखिने, अण्डा नबन्नेलगायतका कारण गर्भ नरहने सम्भावना हुन्छ भने पुरुषको शुक्रकीटमा कमी हुने, शुक्रकीट नलीमा समस्या हुने, अण्डकोष सुन्निएको अवस्थालगायतका कारण पनि समस्या हुन्छ। यस्तै, धेरै कीटनाशक औषधिको सम्पर्कमा रहने, धेरै तापक्रममा काम गर्ने, हर्मोन असन्तुलनजस्ता कारणले पनि निसन्तानपनको समस्या आउन सक्छ।
ढिला विवाह, धूमपान तथा मादक पदार्थको सेवन, यौनसम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, अधिक मोटोपन, मधुमेह तथा थाइराइडलगायतका समस्याका कारण महिलामा निसन्तानपन हुने अध्ययनहरुले देखाएका छन्।
तर, यी कुनै समस्या नहुँदा नहुँदै पनि निसन्तानपनको समस्या देखिन सक्छ। कारण नै पत्ता नलागेको यस्तो समस्या २५ प्रतिशत दम्पतिमा हुन्छ।
यस्ता दम्पतिले आईभीएफ अर्थात् इनभिट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत् सन्तानसुख पाउन सक्छन्।
के हो आईभीएफ? कसरी गरिन्छ?
महिलाको अण्डा र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा निषेचनमार्फत् भ्रुणको विकास गरी पाठेघरमा प्रत्यारोपण गर्ने प्रक्रिया नै आईभीएफ हो।
कुनै पनि महिलामा महिनावारी भएको दोस्रो या तेस्रो दिनमा अण्डा निष्काशनका लागि इन्जेक्सन दिइसकेपछि १४ दिनको हाराहारीमा रानी अण्डा निष्काशन हुन्छ। त्यसपछि महिलाको अण्डा र पुरुषको शुक्रकीटलाई निषेचन गरी ल्याबमा तीन दिनमा भ्रुण तयार पारिन्छ, जसलाई पाठेघरमा प्रत्यारोपण गर्न सकिन्छ, यसलाई फ्रेस एम्ब्राओ ट्रान्सफर भनिन्छ। तर, उक्त भ्रुणलाई तत्काल प्रत्यारोपण नगरीकन पछि पनि ट्रान्सफर गर्न सकिन्छ। अनुसन्धानहरुले पनि तत्काल प्रत्यारोपणभन्दा पनि ल्याबमा राखेर पछि गरिएको ट्रान्सफरको सफलता दर बढी भएको देखाएका छन्। त्यो भनेको कम्तीमा दुई महिना हो। तर, विदेशबाट सन्तानप्राप्तिका लागि आउनेहरुले भने फ्रेस एम्ब्राओ ट्रान्सफरमै जोड दिएका हुन्छन्।
यस्तै, पछिल्ला अनुसन्धानले महिनावारीको दुई–तीन दिन नभई जुन दिन पनि आईभीएफ प्रक्रिया सुरु गर्न मिल्ने देखाएका छन्। विदेशबाट आउनेहरुले जुन दिन पनि प्रक्रिया सुरु गर्न सक्छन्, महिनावारी भएकै दिन कुर्नु पर्दैन।
नर्भिकमा आईभीएफ सेवा
नर्भिक अस्पतालले सन्तान सुखबाट वञ्चित रहेकाहरुका लागि अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डसहितको आईभीएफ सेवा २०७८ सालदेखि सुरु गरेको हो।
आईभीएफ सेवाको सफलता दर त्यो अस्पताल या स्वास्थ्य संस्थाको प्रयोगशाला, प्रयोग गर्ने औषधिजस्ता कुराहरुमा भर पर्छन्। नर्भिकले अमेरिका, युरोपसहित अन्तर्राष्ट्रिय स्तरकै प्रोटोकलअनुसार सेवा दिने गरेको छ। यहाँ भ्रुण तयार पार्ने, त्यसलाई राख्ने इन्क्युबेटर, प्रयोग गरिने औषधिहरु पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएकाले सफलता दर पनि उल्लेख्य छ। यस्तै, वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब सञ्चालनमा छ। यसमार्फत् स्वस्थ भ्रुणको अवस्था पहिचान गरी गर्भधारण गराइन्छ, जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुन सक्ने विभिन्न खालका वंशाणुगत रोगको जोखिम निराकरण गर्न सहयोग पुग्छ।
यही विश्वसनीय र गुणस्तरीय सेवाका कारण देश–विदेशका दम्पतिहरु सेवा लिन नर्भिक अस्पताल आउने गर्नु भएको छ।
(डा रंगिना लाइकंगबम नर्भिक आईभीएफ सेन्टरकी प्रसूति तथा स्त्रीरोग कल्सल्टेन्ट तथा निसन्तानपन विशेषज्ञ हुन्)