काठमाडौँ- हाप्सा नेपालले ‘नेपालमा समुदायस्तरको सीपीआरको सिकाइ, रणनीति, र भविष्य’ शीर्षकमा एक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलेमार्फत सामुदायिक सीपीआर कार्यक्रम विस्तार गर्न आवश्यक पहलका लागि देशका प्रमुख सरोकारवाला र नेतृत्वकर्ताहरूलाई एकै स्थानमा ल्यायो। कार्यक्रममा जीवन्त छलफल, रोचक कार्यशाला, र नेपालको पहिलो सीपीआर गीतको सार्वजनिक उद्घाटनले सबैको ध्यान तान्यो।
कार्यक्रमको सुरुवात स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उत्साहजनक भिडियो सन्देशबाट भयो। मन्त्री पौडेलले सामुदायिक सीपीआरको महत्त्वलाई जोड दिँदै यस पहलको प्रशंसा गरे र देशभरि यस्तो कार्यक्रम विस्तार गर्न सरकारको प्रतिबद्धता र सहयोग सुनिश्चित गर्ने आश्वासन दिए।
यस्तै, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा विष्णु सापकोटाले पनि भिडियो सन्देशमार्फत यस्तो जीवनरक्षक पहललाई आफ्नो फाउन्डेसनको समर्थन रहेको बताए।
हाप्सा नेपालका संस्थापक तथा प्रमुख रणनीतिकार र ब्राउन विश्वविद्यालयका सहायक प्राध्यापक डा रामु खरेलले समुदायलाई जीवन रक्षाका लागि सशक्त बनाउन सीपीआर तालिमको महत्त्व र सबै सरोकारवालाको सामूहिक जिम्मेवारीलाई जोड दिए।
हाप्सा नेपालका अध्यक्ष पंकज भट्टाराईले हाप्साको इतिहास र योगदानबारे जानकारी गराए।
हाप्साका मेडिकल निर्देशक तथा रणनीतिकार डा कमल थापाले कार्यक्रमका क्रममा दुई जना हृदयाघातबाट बाँच्न सफल व्यक्तिहरूलाई प्रस्तुत गरे।
कार्यक्रममा सहभागीहरूलाई आठ समूहमा विभाजन गरी कानुनी चुनौती, आर्थिक स्रोत अभाव, र सीपीआर तालिमको रणनीतिक विस्तारजस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो। कार्यक्रममा नेपालको पहिलो सीपीआर गीतको सार्वजनिक उद्घाटन मुख्य आकर्षण बन्यो।
अमेरिकामा आधारित गायक डा साउद डिल्लोन लेको संगीत रहेको यो गीतका नेपाली शब्द र स्वर हाप्सा नेपालका डा रामु खरेलले प्रदान गरेका हुन्। यस गीतले सीपीआरको सही ताल र निर्देशन समेटेको छ।