काठमाडौं- नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि यही मंसिर २८ गते निर्वाचन हुँदैछ। संघको निर्वाचनमा नेकपा एमाले र माओवादी निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त पेसागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्। संघको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका नर्सका प्रतिबद्धताहरु उनीहरुकै शब्दमा:
निजीमा काम गर्ने नर्सलाई सरकारी सरह सेवा दिन पहल गर्छु: गंगाकुमारी थापा, संयुक्त पेसागत समूह
हाल युवापुस्ताका नर्सहरु विदेश पलायन भएको अवस्था छ। यसरी नर्सहरु विदेश पलायनको अवस्थालाई रोक्न तथा स्वास्थ्य ऐनमा भएका विभेदकारी व्यवस्थालाई रोक्नका लागि मैले नेपाल नर्सिङ संघमा अध्यक्षको उम्मेदवारी दिएकी हुँ।
निजी क्षेत्रमा दक्ष जनशक्तिलाई पनि न्यून पारिश्रमिकमा काम लगाइएको वर्तमान अवस्थालाई रोक्न पनि अध्यक्षका रुपमा मेरो पहल हुनेछ। निजी स्वास्थ्य संस्थाहरुले पनि नेपाल सरकारको तलबमान अनुसार समायोजन गर्नका लागि मेरो तर्फबाट सक्दो पहल रहनेछ।
त्यस्तै संघका सम्पूर्ण कामहरुलाई डिजिटलाइज गराउने, मिडवाइफहरुको सही रुपमा व्यवस्थापन लगायत नर्सहरुको हकहितका लागि २५ बुँदे घोषणा पत्रसहित अध्यक्षको उम्मेदवार बनेकी छु।
जुझारु नयाँ तथा परिवर्तनकारी भएकोले मेरो टिमको जित निश्चित छ भन्ने मलाई लाग्छ। हाम्रो टिममा नयाँ पुस्ताको जोश-जाँगर तथा मेरो लामो पेसागत अनुभव जितको अर्को आधार हो।
नर्सिङ संघलाई नेपालभर विस्तार गर्नेछुः प्रा चन्द्रकला शर्मा संयुक्त प्रगतिशील समूह
२०औं कार्यसमिति चयनका लागि आगामी मंसिर २८ गते हुन गइरहेको नेपाल नर्सिङ संघमा अध्यक्ष पदमा मैले संयुक्त प्रगतिशील समूहको तर्फबाट उम्मेदवारी दिएकी छु। अध्यक्षमा निर्वाचित भएपश्चात् विगतका कार्यसमितिले गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडि बढ्ने योजना छ।
यस क्रममा समाधान हुन नसकेका समस्याहरुलाई सम्बोधन गर्न, पेसागत हक, अधिकार र मर्यादालाई व्यवस्थित गर्न, श्रमको उचित सम्मान गर्न र काम आधारमा पारिश्रमिकको सुनिश्चितता गर्न र सिंगो पेसालाई नै सम्मानित सेवा क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता गर्न चाहन्छु।
त्यसका साथै निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई समेत नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा दिनका लागि पैरवी गर्ने, महिला कार्यरत सबै संस्थाहरुमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउन पैरवी गर्ने, विद्यालय नर्स कार्यक्रममा सबै बिद्यालयमा दरबन्दी विस्तार, स्थायी दरबन्दीको व्यवस्था, सुत्केरी भएको २ वर्षसम्म तथा ५० वर्ष नाघेकाहरुलाई रात्रि सेवा नगराउने लगायतका प्रतिबद्धता मैले गरेको छु।
त्यस्तै विशिष्टीकृत योग्यता भएका नर्सहरुलाई योग्यता अनुसारको कार्य दिने, संघलाई नेपालभर विस्तार गर्ने, संघको सदस्य बन्नका लागि डिजिटल सेवा लगायतका २८ बुँदे प्रतिबद्धता सहित मैले अध्यक्षमा उम्मेदवारी दिएको छु।
पेसागत क्षमता बढाउँदै सेवाको गुणस्तर बढाउन पहल गर्छु: प्रा वसन्ती थापा, स्वतन्त्र उम्मेदवार
करिब ४ दशक नर्सका रुपमा कार्यरत मै हाल अवकाश पाइसकेको छु। प्राध्यापक पनि भएकोले मसँग प्रयोगात्मकका साथै अध्यापनको पनि लामो अनुभव छ। लामो समयको अनुभवले मैले यस क्षेत्रमा कार्यरत देशभरिका नर्सहरुको समस्या राम्रोसँग बुझेको छु। त्यस कारण मैले नेपाल नर्सिङ संघमा अध्यक्षको उम्मेदवारी दिएको हुँ।
विसं २०१८ सालमा देशहरुका नर्सहरुको हकहितका लागि लड्न नेपाल नर्सिङ संघको स्थापना भएसँगै यस संस्था स्थापना भएको हो। सबैलाई एकै स्थानमा राखेर नेपालभरका नर्सको हकहितमा लड्ने लक्ष्यका साथ यो संस्थाको स्थापना भएको हो।
स्थापनाकालदेखि नै यस संस्थाले नर्सहरुको हकहितमा काम गर्दै आइरहेको छ। यद्यपि, नर्सका कतिपय मागहरु अझै पनि पूरा भएका छैनन्। पूरा नभएका मागहरु पूरा गराउनका लागि नेपाल अध्यक्षमा मैले उम्मेदवारी दिएकी छु।
पेसागत क्षमता तथा दक्षता बढाउँदै सेवाको गुणस्तर विकासमा मेरो महत्वपूर्ण भूमिका रहनेछ। नर्सहरुको दक्षता नबढाएमा गुणस्तरीय सेवा प्रदान गर्न सकिँदैन भन्ने मेरो धारणा छ। अध्यक्षमा निर्वाचित भएपश्चात् यसै अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
म राजनीति गर्ने मान्छेहरुको विरोधी होइन तर हाम्रो जस्तो संवेदनशील पेसामा राजनीति पटक्कै सुहाउँदैन। त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएकी हुँ। यद्यपि, गुटबन्दी तथा पेसामा राजनीतिकरणको विरोधी भने म हुँ।
त्यसैले सम्पूर्ण परिवर्तनकारी नर्सहरुले मलाई अमूल्य मत दिएर पेसागत हकहितमा लड्ने अवसर दिनुहुन्छ भन्ने लाग्छ। परिवर्तनको एजेन्डा नै मेरो जितको आधार हो।
राजनीतिप्रति पछिल्लो समय बढ्दै गएको वितृष्णा पनि मेरो जितको अर्को आधार हो।
पछिल्लो समय नर्सहरुको स्तर वृद्धिको माग व्यापक रुपमा उठेको छ। म आफैंले पनि २० वर्षसम्म एउटै पदमा रहेर काम गर्नुपरेको थियो। यस्तो समस्याको समाधानमा समेत मैले अध्यक्षको हैसियतमा पहल गर्नेछु।
धेरै नर्सिङ कलेजहरु बन्द हुँदा अध्ययनका लागि विदेश जाने परिपाटीले नेपालबाट धेरै धनराशि बाहिरिने अवस्था छ। यस्तो समस्या समाधानका लागि संघको तर्फबाट मेरो पहल रहनेछ।